पत्रकार महासंघमा समाजवादी प्रेस संगठनको ताला, गैरपत्रकारलाई सदस्यता बाँडिएको जिकिर (भिडिओ) – Nepal Press

पत्रकार महासंघमा समाजवादी प्रेस संगठनको ताला, गैरपत्रकारलाई सदस्यता बाँडिएको जिकिर (भिडिओ)

अध्यक्ष विश्वमणि सुवेदी भन्छन्- रातारात छापामार शैलीमा सदस्यको सूची सार्वजनिक गरियो

काठमाडौं । नेकपा एसनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमबार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गरिएको हो ।

गत जेठ ८ गतेको सहमतिविपरीत महासंघले गैर पत्रकारहरूलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएको त्यसको खारेजीको माग गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नुपरेको संगठनका अध्यक्ष विश्वमणि सुदेवीले बताए ।

सदस्यता न्यायोचित नहुँदासम्म महासंघको निर्वाचन प्रक्रियाका सबै काममा अवरोध गर्ने उनले चेतावनी दिए ।

अध्यक्ष सुवेदीले भने, ‘गैर पत्रकाहरूलाई सदस्यता दिने काम, सदस्यता सूचिमा राख्ने काम भयो । र, त्यसमा हामीले आपत्ति जनायौं । नेपाल पत्रकार महासंघको वैधानिक प्रावधान, वैधानिक अभ्यास अनुसार सदस्यतको उत्पत्ति हुने र अन्त्य हुने दुवै कुरा जिल्ला शाखासँग निहित छ । प्रदेश र केन्द्रले अनुगमनमात्रै गर्ने हो । जिल्ला शाखाहरुले सिफारिस गरेका सदस्यहरु केन्द्र र प्रदेशबाट सीधै हटाउने काम भएको छ । जिल्ला शाखाहरूले शुद्धीकरण गरी पठाएका नाम केन्द्र र प्रदेशबाट राखिएको छ ।’

उनले थपे, ‘पत्रकार महासंघलाई पत्रकारहरूको मात्रै बनाऔं भनेर हामीले शुद्धीकरणको कुरा उठायौं । तर, अहले गैर पत्रकारहरूको नाम रातारात थपेर फेरी अर्को सूची ल्याइयो । त्यसमा अध्यक्ष र महासचिवले हस्ताक्षर गर्नुभएको छ । महासंघको स्टयाम्प हालिएको छ । र, त्यो निर्वाचन समितिलाई बुझाउनका निमित्त तयार पारिएको अवस्थामा हिजो राति हामीले प्राप्त गर्‍यौं । त्यो सदस्यता सूचीमा ८ गते तयार भएको सूचीभन्दा फरक नाम लेखेर आयो ।’

समाजवादी प्रेस संगठनले महासंघले नेपाल पत्रकार महासंघका आवद्ध आफ्नो संगठनमा आवद्ध पत्रकारहरूको नामावली सदस्यता सूचीबाट हटाएको समेत दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *