चितवनमा विद्यार्थी लिन हिँडेको स्कुल बसमा आगो लगाएको आरोपमा एक जना पक्राउ – Nepal Press

चितवनमा विद्यार्थी लिन हिँडेको स्कुल बसमा आगो लगाएको आरोपमा एक जना पक्राउ

काठमाडौ । चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुरमा रहेको स्मल हेवन स्कुलको बसमा आगजनी गर्ने एक जना पक्राउ परेका छन् ।

प्रहरीले महेश महाविर भनिने विश्वनाथ चौधरीलाई पक्राउ गरेको हो ।  गत बैशाख ३० गते बिहान सवा ८ मा स्मल हेवन स्कुलको बागमति प्रदेश ०६-००१ क ००४५ नंको स्कुल बसमा अज्ञात समूहले आगजनी गरेको थियाे ।

चौधरीले भरतपुर महानगरपालिका–२० दद्रहानी पुलमा विद्यार्थी लिन हिँडेको बस रोकेर पेट्रोल बम प्रहार गरी आगो लगाइदिएका थिए । आगलागीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।

चौधरीको नेतृत्वमा रहेका आपराधिक समुहले बसमा आगो लगाएको एकिन भएपछि सो समुहको खोजतलास गर्दै जाने क्रममा चौधरीलाई शुक्रबार दिउँसो ३ बजे शोसीबाट पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ ।आपराधिक कार्य गर्दै आउने क्रममा चौधरी र उनको नेतृत्वमा रहेको ५/६ जनाको समुहले बसमा आगो लगाएको खुलेको छ । घटनामा संलग्न अन्य व्यक्तिकाे खाेजी भइरहेकाे छ ।

उनलाई चितवन जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि चौधरी विभिन्न अपराधिक गतिविधिमा जोडिँदै आएका थिए । गत माघ २८ मा ज्योतिनगर स्थित रहेको सुर्योदय वोमी लघुबित्त संस्था लिमिटेडको कार्यालयमा माक्स लगाई मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले कार्यालयका कर्मचारीहरुलाई धम्की दिई पेट्रोल जस्तो पदार्थ रहेको २ वटा सिसाको बोतल प्रहार गरी कार्यालयमा आगजनी गराएर भागेका थिए ।

उक्त घटनाकोप्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न चौधरी रहेको खुल्न आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *