चौथो अन्नपूर्ण म्याराथन जेठ २१ गते हुने, विजेताले साढे १ लाख पुरस्कार पाउने – Nepal Press

चौथो अन्नपूर्ण म्याराथन जेठ २१ गते हुने, विजेताले साढे १ लाख पुरस्कार पाउने

पोखरा । चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ गते हुने भएको छ । अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा जेठ २१ गते चौथो संस्करणको अन्नपूर्ण म्याराथन हुन लागेको हो ।

आयोजक अन्नपूर्ण सेन्चूरी पर्यटन समितिले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रबद्र्धनका लागि सुरू गरिएको म्याराथनलाई निरन्तरता दिइएको जनाएको छ ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जाेगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाउने गरिन्छ । सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन गर्न लागिएको म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले जानकारी दिए ।

महिला तथा पुरुष दुवैतर्फका लागि हुने म्याराथनमा विजेताले नगद १ लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता र तेश्रो हुनेले क्रमश १ लाख र ७५ लाख पाउने आयोजकले जनाएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ ।

अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका दिनको अवसर पारेर प्रत्येक बर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२.१९५ किमी) को अन्नपूर्ण म्याराथन गर्दै आइरहेको छ ।

अन्नपूर्ण आधार शिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकसम्म म्याराथन रुट निर्धारण गरिएको संयोजक गुरूङले बताए ।

अन्नपूर्ण म्याराथनमा पहिलो संस्करणमा त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल, दोस्रो संस्करणमा डोटीका खगेन्द्रबहादुर भाटले, तेस्रो संस्करणमा पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढा र महिलातर्फ गणना भण्डारीले उपाधि जितेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर