सदनको अवरोध हटाउन ध्यानाकर्षण-पत्र बोकेर बालुवाटार पुगे माधव – Nepal Press

सदनको अवरोध हटाउन ध्यानाकर्षण-पत्र बोकेर बालुवाटार पुगे माधव

काठमाडौं । सत्ता गठबन्धको एक घटक नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संसदको गतिरोध हटाउने ध्यानाकर्षण पत्र बोकेर बालुवाटार पुगेका छन् ।

विपक्षीसँग र सत्तारुढ दलकै शीर्ष नेताको सदन खुलाउने विषयमा पटकपटक भइरहेका बैठकमा ‘बाइपास’ मा परिरहेका नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

संसदमा देश र जनताका समस्यामा सार्थक बहस नभई, अस्वस्थ्य आरोप-प्रत्यारोप भइरहेको भन्दै उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको उल्लेख गरेका छन् ।

‘प्रतिपक्षलाई छलफल र सार्थक संवादको माध्यमबाट विश्वासमा लिएर अगाडि बढ्ने विषयमा सत्तापक्षले अवश्य नै कुशलता र आवश्यक लचकता देखाउनै पर्दछ भन्ने हाम्रो पार्टीको ठम्याइ छ । हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछौं- संसदका नियमित काम-कार्यवाही अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका साथै अन्य प्रतिपक्षी दलसंग तत्काल सार्थक छलफल र वार्ता द्वारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउनका लागि गंभीर पहल गर्नु होस्’, नेपालको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

संसदमा देखिएको गतिरोध समाधान गर्ने दिशामा सक्रिय रहन प्रधानमन्त्रीलाई आग्रह गर्दै नेकपा एसले पार्टीको तर्फबाट हरेक खालको सहयोग गर्ने उनको प्रतिवद्धता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर