धनगढीमा प्रादेशिक बालग्राम स्थापनको लागि १० करोड माग – Nepal Press

धनगढीमा प्रादेशिक बालग्राम स्थापनको लागि १० करोड माग

कैलाली । नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापना गर्ने जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिका सभापति चुनामणि भट्टले एक ज्ञापन पत्र बुझाउँदै तत्काल धनगढीमा बालग्राम स्थापनको आवश्यकता महसुस भएको र त्यसका लागि बजेट अभाव देखिएको बताएका छन् ।

स्थापनाकालदेखि नै अनाथ तथा असहाय बालबालिकालाई हेरचाह गर्दै आएको धनगढी बाल संरक्षण गृहमा अहिले २० जना बालकहरू रहेका छन् । उनीहरु नजिकैको त्रिनगर विद्यालयमा अध्ययन गरिरहेका छन् ।

अझै पनि अभिभावक विहीन धेरै बालकहरू सडकमा भौतारिरहेको र सानैमा अभिभावक गुमाएकाहरूलाई शिक्षा स्वास्थ्य पाउन पनि सकस भएको भन्दै अझै धेरै क्षमताको बालगृह स्थापनाको लक्ष्य लिइएको भट्टले मन्त्री चौधरीलाई जानकारी गराए । ज्ञापन पत्रमा पनि प्रदेश स्तरीय बालगृह स्थापनाको लागि १० करोड रुपैयाँ माग गरिएको छ ।

‘१ विगाह ४ कट्ठा दर्ता जमिन र ८ कट्ठा ऐलानी जग्गा सदुपयोग भइरहेको छ । प्रदेश स्तरीय बालग्रामको रुपमा अगाडि बढाउन खोजिरहेका छौँ मन्त्री चौधरीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, प्रदेश स्तरीय बालग्राम निर्माणको लागि १० करोड विनियोजन गर्न आग्रह गर्दछौँ । ’

धनगढी उपमहानगरले सटर भत्काएको हुँदा आम्दानीको स्रोत समेत बन्द भएको गुनासो ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नियमित आय स्रोतको लागि तत्काल व्यवसायीक भवन निर्माण गर्ने र त्यसको लागि २ करोड माग गरिएको छ ।

प्रदेश सभापति भट्टले कैलाली बाहेकका जिल्लाहरूमा पनि नेपाल बाल सङ्गठनको चल अचल थुप्रै सम्पत्ति रहेको भन्दै ती सम्पत्तिको संरक्षणको लागि सरकार गम्भीर हुनु पर्नेमा जोड दिए । केही जिल्लामा भएका सम्पत्तिहरू नोक्सान हुने क्रममा रहेको र केही जिल्लामा अकुपाइ हुने खतरा समेत बढेको उनले बताएका थिए ।

उनले राज्यबाट सहयोग भएका आफूहरूले सुदूरपश्चिममा नमुना बालग्राम सञ्चलन गर्ने समेत बताए । नेपाल बाल सङ्गठनको ज्ञापन पत्र बुझ्दै मन्त्री चौधरीले समस्या समाधानको लागि आफ्नो पक्षबाट हुने सबै कामको लागि आफू तत्पर रहेको बताएकी थिइन् । उनले बालग्राममा बसेका बालबालिकाहरूलाई विशेष ध्यान दिन पनि आग्रह गरिन् ।

‘मैले हिजो देखि यी विषय नियालिरहेको छु ’ उनले भनिन् ‘तपाइहरू पूर्ण बाल अधिकार सुनिश्चित गर्ने गरि लाग्नु होला सरकारको साथ तपाइहरूलाई रहन्छ । ’

बालकहरूको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन पनि मन्त्री चौधरीले आग्रह गरेकी थिइन् । उनले अहिले पनि सडक बालबालिकाको विषयमा गम्भीर हुनु पर्ने अवस्था रहेको बताए ।

नेपाल बाल सङ्गठनको सुदूरपश्चिममा धेरै संरचना रहेको तर ती संरचनाको संरक्षण हुन नसेको विषयमा पनि आफूहरू गम्भीर रहेको उनको भनाइ थियो । उनले ४० भन्दा धेरै जिल्लाहरूमा संरचना र सम्पत्ति रहेको भन्दै सबै संरक्षण गर्नु पर्ने अवस्था रहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर