रविको नाममा अड्किएको ‘टीओआर’मा सहमति खोज्न फेरि जुट्यो कार्यदल – Nepal Press

रविको नाममा अड्किएको ‘टीओआर’मा सहमति खोज्न फेरि जुट्यो कार्यदल

पहिलो पटक माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति खोज्न नेताहरु फेरि छलफलमा जुटेका छन् । अहिले कानून मन्त्रालयमा कार्यदलको बैठक जारी छ ।

बैठकमा कानूनमन्त्रीसमेत रहेका कार्यदलका संयोजक पदम गिरी, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका नेताद्वय जीवन परियार र ज्ञानेन्द्र कार्की, रास्वपाका नेता शिशिर खनाल र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् । कार्यदलको बैठकमा पाण्डे भने पहिलो पटक सहभागी भएका हुन् ।

कार्यदलले सहमतिको मिलनविन्दु खोज्न निरन्तर प्रयास गरिरहेको छ । टीओआरमा सहमति गरेर सदन खुलाउन दुवै पक्ष लचक भएका छन्, तर सहमति जुट्न सकेको छैन ।

कांग्रेस गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने अडानमै छ, तर सत्तापक्ष गृहमन्त्रीको नाम उल्लेख गरेर सहमति गर्न तयार छैन । अहिले कार्यदलमा गृहमन्त्रीको नाम उल्लेख नगर्ने भए संलग्न सहकारी संस्थाको नाम राखेर सहमति खोज्ने प्रयास भइरहेको छ ।

हिजो यस विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षका शीर्ष नेताहरूबीच छलफल भएको थियो । कार्यदलमा सहमति बने आजै शीर्ष नेताहरुले कार्यादेशको भाषा मिलाएर टुंग्याउने माओवादीका प्रमुख सचेतक पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर