तिनाउ नदीमा डुबेर किशोरको मृत्यु – Nepal Press

तिनाउ नदीमा डुबेर किशोरको मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमाका एक किशोर तिनाउ नदीमा डुबेर मृत्यु भएको छ । तिनाउ उत्खनन्का क्रममा परेको खाल्डोमा डुबेर तिलोत्तमा नगरपालिका- ६ पुरानो सडकका १६ वर्षीय विद्यांश भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

स्थानीय नारायणप्रसाद र तारा भुसालका कान्छा छोरा विद्यांश गत चैतमा शान्ति नमुना माविबाट एसईई परीक्षा दिएर बसेका थिए ।

प्रहरीका अनुसार शनिबार बिहानै साथीहरुसँग फुटबल खेल्न भन्दै गएका उनी ७ बजेतिर तिनाउ नदीमा डुबेका थिए ।

फुटबल खेलेपछि पौडी खेल्न भन्दै गएका उनी तिनाउमा भइरहेको अनियन्त्रित उत्खनन्का कारण परेका पानीसहितको गहिरो रहमा डुबेका थिए । विद्यांश नदीमा डुबेपछि उनीसँगै गएका साथीहरूले स्थानीयलाई खबर गरेका थिए ।

स्थानीय मित्रबन्धु न्यौपानेका अनुसार रहमा डुबेका बालकलाई स्थानीय र प्रहरीको सहयोगमा १० बजेतिर मात्र बाहिर निकालिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाबारे जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगे पनि गहिरो खाडलमा डुबेको कारण उद्धार गर्न समय लागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *