कांग्रेसले भोलि काठमाडौंमा गर्ने आन्दोलनको तयारी के छ ? – Nepal Press

कांग्रेसले भोलि काठमाडौंमा गर्ने आन्दोलनको तयारी के छ ?

मीनबहादुर विश्वकर्मा भन्छन्- छानबिन समिति बनाउने सहमति भए पनि आन्दोलन रोकिँदैन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोलि काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै सदन चर्काइरहेको कांग्रेस भोलिबाट सडकमा निस्कन लागेको हो ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार सरकारको ज्यादती र सहकारी ठगीविरुद्ध काठमाडौंमा प्रदर्शनको तयारी भइरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

कांग्रेसका भ्रातृ संगठनहरु नेविसंघ, तरुण दल, महिला संघलगायत यसअघि नै सडकमा आइसकेका छन् । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजे हुने आन्दोलनको तयारी पूरा भइसकेको नेता विश्वकर्माले बताए ।

कांग्रेसले भोलिको प्रदर्शनलाई सरकारको अलोकतान्त्रिक र असंवैधानिक रवैया र सहकारी ठगीविरुद्ध भनेको छ ।

उनले भने, ‘भोलिको प्रदर्शनको कार्यक्रम काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिले आयोजना गर्ने हो । केन्द्रले समर्थन गर्ने र सहभागी हुने हो । त्यसका लागि प्रचारप्रसारको काम भइरहेको छ । जिल्ला समितिले गर्ने भएपछि केन्द्रले धेरै तयारी गर्नुपर्दैन । उहाँहरुले आआफ्नो ठाउँबाट गरिरहनुभएको छ ।’

कांग्रेसले किन खुलासभा र सडक प्रदर्शन गर्नुप¥यो भनेर जनतालाई बुझाउन तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाइएको उनले बताए ।

कांग्रेसले काठमाडौं- १ मा अब्दुल सतार, २ मा सीता थपलिया (उर्मिला), ३ मा रंगमती शाही, ४ मा कुन्दन काफ्ले, ५ मा नैनसिंह महर, ६ मा गुरु बराल, ७ मा आङगेलु शेर्पा, ८ मा उमेशजंग रायमाझी, ९ मा डा. डिला संग्रौला र १० मा सरिता प्रसाईंलाई प्रतिनिधि बनाएर पठाएको हो ।

यस्तै ललितपुर- १ मा उमाकान्त चौधरी, २ मा देवेन्द्रराज कँडेल र ३ मा अर्जुन जोशीलाई पठाइएको छ । भक्तपुर- १ मा इन्द्र बानियाँ र २ मा गणेश लामालाई पठाइएको छ ।

नेता विश्वकर्माले भने, ‘सरकारलाई सचेत र ध्यानाकर्षण गराउन हामीले प्रदर्शन गर्न लागेका हौं । संसदमा सभामुखले पनि एकतर्फी चलाउन थालेका छन् । संसदमा बोल्न नदिएपछि हामी सडकबाट बोल्छौं भनेर आन्दोलन गर्न लागेका हौं । सदनमा भएको पक्षपातपूर्ण व्यवहारको पनि आन्दोलनमा कुरा उठाउँछौं ।’

सहकारी प्रकरणमा छानबिन गर्न बनाउने भनिएको समितिको कार्यादेशबारे छलफल चलिरहेको छ, तर यो सहमति भए पनि आफूहरुले तय गरेको प्रदर्शनको कार्यक्रम नरोकिने उनले सुनाए ।

उनले भने, ‘आज सहमति भए पनि सभा हुन्छन्, हामीले सहकारी ठगीको विषयमात्रै उठाएका छैनौं । प्रेसमाथिको आक्रमणको कुरा भयो । भ्रष्टाचारको मुद्दामा आफ्नालाई जोगाउने र विपक्षीलाई तह लगाउने काम गरिहनुभएको छ । सबै बेथिति र विसंगतिविरुद्ध नै भोलिको प्रदर्शन हो । सहकारी ठगीमा त रविमात्रै होइन धेरै छन्, रवि मन्त्री भएका कारणले छानबिनको माग गरेका छौं, तर समग्र बेथितिको काम त सत्तापक्षले गर्दै आएको छ । यसको खबरदारी सभा हो, रोकिँदैन ।’

नेता विश्वकर्माले भोलि बिहानै सहमति भए पनि तय भइसकेको कार्यक्रम नरोकिने दोहोर्‍याए । कांग्रेसले विभिन्न सहकारीबाट करिब ५ खर्ब अपचलन भएको र मुलुकभरिका केही दर्जन ठूला सहकारी संस्थाले मात्रै सर्वसाधारण बचतकर्ताको २ खर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्यहरू सार्वजनिक भएको भन्दै यो विषयलाई उठाइरहेको छ ।

कांग्रेसको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलले भनेका छन्, ‘३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सीमित सञ्चालक र निजी कम्पनीहरूले संगठित रुपमा अपचलन, ठगी र दुरुपयोग गरेका छन् । हजारौं सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएका छन् । केही सहकारी संस्थालाई सहकारी ऐनअनुसार समस्याग्रस्त घोषणा गरेको छ, तर लाखौं बचतकर्ताको रकम असुरक्षित छ । संगठित ढङ्गले ठगी र अपचलन भएको छ ।’

सामान्य श्रम गरेर आफ्नो सम्पूर्ण आर्जन सहकारीमा जम्मा गरेका सर्वसाधारण नागरिकको रकम निश्चित व्यक्ति र संस्थाले गैरकानूनी रुपमा गरेको दुरुपयोग अत्यन्त ठूलो ठगी र अपराध भएको कांग्रेसको निष्कर्ष छ ।

कांग्रेसले लाखौं नेपाली नागरिकले सहकारीमा बचत गरेको खर्बौं रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएका विषयमा निरन्तर सदनमा आवाज उठाइरहेको, बचतकर्ताको रकम फिर्ता र सुरक्षाको सुनिश्चितताको माग गर्दै आएको छ ।

कांग्रेसले निर्णयमा भनेको छ, ‘विभिन्न सहकारीहरूबाट कानूनविपरीत बचतकर्ताहरुको रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भइ जोखिममा रहेको तथा डुबेको बचत अविलम्ब फिर्ता र सुरक्षा गर्नु आजको पहिलो प्राथमिकता हो भन्ने कुरामा प्रस्ट छ । त्यसको लागि गैरकानूनी रुपमा रकम दिने–लिने, ठगी र अपचलन गर्नेहरूको अनुसन्धान गरी, सम्पत्ति, जायजेथा रोक्का गरेर सोबाट बचत फिर्ता अविलम्ब गर्न र ठगी तथा अपचलनमा संलग्न व्यक्ति, सहकारी सञ्चालक र कम्पनी सञ्चालकलाई कानूनी कारबाहीको दायरामा ल्याउन अपरिहार्य छ ।’

बचतकर्ताको रकम फिर्ता र सुरक्षाको सुनिश्चितता तथा अपचलनमा संलग्नलाई सजाय नहुँदासम्म कांग्रेसले यो विषय नछाड्ने अडान लिँदै आएको छ, तर सत्तापक्षले समिति बनाउने विषयमा छलफल चलिरहेको बेलामा कांग्रेसले सडक आन्दोलनको तयारी थालेपछि असन्तुष्टि जनाएको छ ।

त्यसबारेमा एमालेका प्रमुख सचेतक महेश बर्तौला भन्छन्, ‘एकातिर सहमति गर्न सरकार अगाडि बढिसक्यो, तर कांग्रेसलाई बुझ्न सकिएन । एकातिर मुद्दा नभएको विषयमा मुद्दा लगाउनुपर्‍यो भनेर अदालतमा मुद्दा हाल भनेर नाराजुलुस लगाउँछ । अर्कोतिर अदालतले गरेको कामलाई किन गरेको भन्छ ।’

सत्तापक्ष लचक भएर आउँदा पनि कांग्रेस तयार नभए कांग्रेसले सदन खुलाउन चाहँदैन, मुठभेड र अस्थिरता चाहन्छ भन्ने पुष्टि हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर