सिद्धबाबा सुरुङ मार्गको काम धमाधम – Nepal Press

सिद्धबाबा सुरुङ मार्गको काम धमाधम

रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिकास्थित सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङ मार्गको कामले गति लिएको छ । कामको गति बढाउन बम विस्फोट गराउन प्राविधिक तयारीसमेत अघि बढेको आयोजना कम्पनीले जनाएको छ ।

सुरुङ मार्ग निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले पाएको थियो । उसले पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७८ फागुनमा सम्झौता गरेको छ ।

माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मिटर सुरुङ मार्गमध्ये हाल मुख्य सुरुङमार्ग ८५.७ मिटर खनिएको छ । दक्षिण पोर्टलबाट ४८.३ मिटर सुरुङ खनिएको कम्पनीले जनाएको छ । उत्तर पोर्टलतर्फ स्लोप काटेर ढलान भई ३७.४ मिटर खनिएको छ ।

आयोजनाका अनुसार दक्षिण र उत्तरतर्फका दुवै पोर्टल, निकासका लागि राखिएका तीनवटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सनलगायत काम एकसाथ भइरहेको छ। १५.६ मिटरको पहिलो, ७ मिटरको दोस्रो र ४ मिटरको तेस्रो बाइपास टनेल खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ । सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिने भएकाले आवश्यक सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापनबारे शुक्रबार पूर्वाभ्यास गरिएको थियो ।

स्काभेटर तथा ब्रेकरको प्रयोग गरी सुरुङ मार्ग खन्ने काम भइरहेको छ । विस्फोटक पदार्थको प्रयोगले यसको निर्माण गति थप बढ्ने आयोजनाका इन्जिनियर सविता ज्ञवाली बताउँछिन् ।

नेपाली सेना, नेपाल प्रहरी तथा निर्माण कम्पनीका प्राविधिकहरुको उपस्थितिमा शुक्रबार आवश्यक तयारी तथा अभ्यासबारे छलफल भएको उनले बताइन् । सुरुङका लागि आवश्यक विस्फोटक पदार्थ नेपाली सेनाले नै भण्डारण गरेर राखेको छ भने उनीहरुकै उपस्थितिमा काम हुने बताइएको छ ।

इन्जिनियर ज्ञवालीका अनुसार आइतबारदेखि विस्फोटनको काम हुनेछ । दैनिक ३ पटकसम्म विस्फोटन गराउने लक्ष्य राखिएको बताउँदै ज्ञवालीले यसको संख्या बढाउन सकिने उल्लेख गरिन् । यो समयमा निश्चित दूरीमा मानवीय गतिविधि रोक्नुका साथै उक्त सडक हुँदै गुड्ने सवारीसाधन केही समय रोक्ने तथा सुचारु गर्न ट्राफिक प्रहरी परिचालन गरिनेछ ।

अहिले आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी हरेक ३०० मिटरको दूरीमा तीन वटा सहायक सुरुङमार्ग बनाइएको छ । सात अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीलाई कुल रकममध्ये ९१ करोड ५५ लाख ८९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । आगामी आर्थिक वर्षमा करिब तीन अर्ब, २०८२/८३ का लागि दुई अर्ब र २०८३/८४ मा एक अर्ब १८ करोड ७१ लाख आवश्यक पर्ने आयोजनाले जनाएको छ।

आयोजनाअन्तर्गत जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सनलगायत प्रविधिमार्फत साढे दुई किलोमिटर सडक सुरक्षित बनाइनेछ ।

५ दिनअघि सिद्धबाबा सुरुङ मार्ग निर्माणमा नेपाल सरकारलाई प्राविधिक सहयोग गरिरहेको स्वीट्जरल्याण्डको पिनी ग्रुपका विशेषज्ञहरुद्वारा योजना, प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्टेन्ट तथा निर्माण व्यवसायीसँग संयुक्त साइट निरीक्षण गरी प्रगति, समस्या र समाधानबारे छलफल भएको आयोजनाले जनाएको छ ।

दैनिक करिब तीन हजार सवारीसाधनको आवतजावत हुने सिद्धार्थ राजमार्गमा कमजोर चुरेको अग्लो भीर भएकाले वर्षामा लेदो र हिउँदमा सुक्खा पहिरो खस्छ । गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको ज्यान गएको प्रहरीको तथ्यांक छ। दुर्घटना कम गर्न लामो समयको छलफल र बहसपछि सिद्धबाबामा सुरुङ मार्ग निर्माण कार्यान्वयनमा आएको हो ।

सिद्धबाबा सुरुङ मार्ग आयोजना प्रमुख रामपुकार जैसवाल सुरुङ मार्गको काम तीव्र गतिमा भइरहेको बताउँछन् ।

‘सुरुङ मार्ग निर्माणमा खासै अवरोध छैन । दुई सिफ्टमा चौबीसै घण्टा काम भइरहेको छ’, उनी भन्छन् ।

आयोजनाका अनुसार सुरुङ मार्गको समग्र भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत पुगेको छ । मुख्य सुरुङको दक्षिणी मुखमा दुई हजार ३०० वर्गमिटरमा भीर सुरक्षाको काम हुनुपर्नेमा ९८९ वर्गमिटरको मात्र प्रगति भएको छ । सीएससीईसीले ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी)’ मोडलमा सुरुङमार्गको ठेक्का पाएको हो ।

सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको यो आयोजना निर्माण कम्पनीले अबको चार वर्षभित्र सुरुङ मार्गको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेछ । आयोजनाका अनुसार बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त स्थानमा दुई लेनको सडक बनाइनेछ । सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइनेछ । यसले सडकमाथिबाट खस्ने ढुंगालाई सीधै तल झार्नेछ ।

सुरुङ मार्गका तीन स्थानमा खुला स्थान राखिनेछ । आकस्मिक घटना भइहालेमा सोही स्थानबाट उद्धारको काम सञ्चालन गर्न सहज हुनेछ । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर