नदी किनारका जोखिमयुक्त विद्युत टावर संरक्षण सुरु – Nepal Press

नदी किनारका जोखिमयुक्त विद्युत टावर संरक्षण सुरु

रुपन्देही । रुपन्देहीको तिनाउ नदी किनारमा रहेका विद्युत प्रशारणलाइन संरक्षण गर्नेगरी नदीजन्य सामग्री उत्खनन् गर्ने निर्णय गरिएको छ ।

तिनाउबाट नदीजन्य सामग्री उत्खनन् गर्दा विद्युत प्रसारणलाइनलाई असर नपर्नेगरी सामग्री निकाल्नुपर्ने तथा विद्युतको टावरमा क्षति पुग्ने सम्भावित जोखिमलाई मध्यनजर गरी उत्तरतर्फ केन्द्रित नदीको हालको बहावलाई पश्चिमतर्फ डाइभर्ट गर्ने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडाध्यक्ष दीपकबहादुर शाही, नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखाका इन्जिनियर सूर्य पाण्डे तथा सुरक्षा निकायका प्रमुखसहितको टोलीले सियारी- ७ को भर्तापुर नाकाको अनुगमन तथा निरीक्षण गरी नदी संरक्षणका लागि सबैले सहकार्य गर्ने निर्णय गरिएको हो ।

सियारी गाउँपालिकाले ठेक्का लगाइ नदीजन्य सामग्री उत्खनन् भइरहेको स्थानमा स्थानीयवासीको विरोध र उक्त स्थानमा रहेको विद्युत प्रशारणलाइनको ल्याटिक टावरको सुरक्षालगायतका विषयमा छलफल गरी नदीजन्य सामग्री निकाल्दा नदीको प्राकृतिक वहाब क्यानलिङ हुने गरी व्यवस्थित तरिकाले निकाल्ने, विद्युतको टावर अगाडिको स्थानमा ग्याभियन पर्खाल लगाइ टावरको सुरक्षा गर्ने निर्णय गरिएको छ ।

तिलोत्तमा नगरपालिका- १४ सँग सिमाना जोडिएको उक्त घाटमा रहेको विद्युत प्रसारणलाइन जोखिममा परेपछि त्यसको सुरक्षाका लागि विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकासमेतको त्रिपक्षीय लगानीमा संरक्षण प्रबन्ध तत्काल गर्ने निर्णयसमेत गरिएको छ ।

तिनाउ नदीको तिलोत्तमातर्फको किनार हुँदै बुटवलदेखि मैनहियासम्म १३२ केभी विद्युत प्रसारणलाइन लगिएको छ । उक्त प्रशारणलाइनको संरक्षण तथा ठेक्का लगाइएको नदीजन्य सामग्रीको उत्खनन्मा असर नपर्ने गरी काम गर्ने विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर