कांग्रेसलाई कानूनमन्त्रीको जवाफ- छानबिन अघि नै गृहमन्त्रीलाई दोषी किटान गरेर समिति बन्दैन – Nepal Press

कांग्रेसलाई कानूनमन्त्रीको जवाफ- छानबिन अघि नै गृहमन्त्रीलाई दोषी किटान गरेर समिति बन्दैन

‘छलफल सकारात्मक भएका छन्, आइतबारसम्म टुंग्याएर सदन चलाउँछौं’

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदन सुचारू गरेर उठेको विषयमा छलफल गर्दै अगाडि बढ्न आग्रह गरेका छन्। गृहजिल्ला पर्वतमा पुगेका मन्त्री गिरीले कांग्रेसले सदन अवरोध गर्दै देशको राजनीति सहज ढंगले अगाडि बढ्न नसकेको बताए।

उनले भने, ‘देशको राजनीति अहिले सहज छैन। संसद सहज ढंगले अगाडि बढ्न सकेको अवस्था छैन। कांग्रेसले विभिन्न विषयलाई उठाएर गतिरोध गर्ने काम गरिरहेको छ। त्यसैले अहिलेसम्म नीति तथा कार्यक्रम छलफल गरेर पास गर्न सकेका छैनौं। बजेटको तयारी गर्न सकेका छैनौं। नागरिकहरूले आफ्ना मुद्दा संसदमा उठ्नुपर्‍यो भनिराखेका छन् त्यो हुन नसक्दा सिंगो व्यवस्थामाथि नै प्रश्न उठिरहेका छन्। निराशा बढ्दैछ।’

छानबिन समिति गठन गर्नको लागि गठन गरिएको कार्यदलको संयोजक समेत रहेका मन्त्री गिरीले सहकारीको विषयमा कांग्रेसको माग अनुसार नै संसदीय छानविन समिति बनाउन तयार रहेको बताए।

उनले भने, ‘यो समिति बनाउन उपयुक्त होइन। तर, कांग्रेसको माग अनुसार तयार भयौं। अहिले एकपछि अर्को गर्दै माग राख्दै आउनुभएको छ। गृहमन्त्रीले रकम अपचलन गरेको हुनाले छानबिन सुनिश्चित हुनुपर्छ भनेर कार्यादेश बन्नुपर्छ भनिराख्नुभएको छ। हामीले कम्पनी र सहकारीको नाम लेखौं व्यक्तिमाथि नजाऔं, छानबिन अघि नै गृहमन्त्रीले रकम अपचलन गरेको भन्ने कुरा कसरी न्यायसंगत हुन्छ ? छानबिन पनि जो भएपनि कारवाहीको दायरामा आउनुपर्छ। पहिला नै यो व्यक्ति दोषी हो भनेर किटार गरेर सहमति गर्न सकिँदैन।

उनले अहिले कांग्रेससँग सहमतिको नजिक पुगेकाले आइतबारसम्म टुंगिने बताए। उनले कांग्रेससँग सहमति गरेर भोलिको प्रतिनिधि सभाको बैठक सञ्चालन गर्नेगरी छलफल अघि बढेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर