रविको नाममा अड्को थापेर बसेको कांग्रेस भन्छ- बजेट कसरी ल्याउने सरकारको हातमा छ – Nepal Press

रविको नाममा अड्को थापेर बसेको कांग्रेस भन्छ- बजेट कसरी ल्याउने सरकारको हातमा छ

काठमाडौं । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति छानबिन समितिको टीओआरमा अझै कुरा मिल्न सकेको छैन। हिजो कार्यदलको बैठकले सहमतिको मिलनबिन्दू भेट्न नसकेपछि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको छलफल भएको थियो।

वार्ता सकारात्मक भएको भनिएपनि अझै कुरा मिल्न सकेको छैन। थप छलफलका लागि आज दिउँसो ३ बजे कार्यदलको बैठक राखिएको छ। यही विषयमा कुरा नमिल्दा सरकारले सदनमा पेश गरेको नीति तथा कार्यक्रममाथि अझै छलफल हुन सकेको छैन। सदनका दुवै बैठक प्रभावित बनेका छन्। जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता सरकारसँग छ।

यही विषयलाई केन्द्रित गरेर टिओआरमा सहमति गरेर सदन खुलाउन दुवै पक्ष लचक भएका छन्। यद्यपी, अडान भने छाडेका छैनन्। कांग्रेसले गृहमन्त्रीको नाम उल्लेख नगर्ने भए संलग्न सहकारी संस्थाको नाम राखेर टीओआर टुंग्याउन सकारात्मक भएको सत्तापक्षको दाबी छ। तर, हिजोको बैठकमा कांग्रेस लिखितरूपमा आफ्नो कुरा स्पष्ट पारेको अडानबाट पछि नहटेको बताउँछ।

गृहमन्त्री जोडिएको संस्थाको नाममात्रै राखेर सहमतिको प्रयास भइरहेको भएपनि कांग्रेसका केही नेताहरु नाम नै किटान गर्नुपर्ने अडान यथावत् रहेको बताउँछन्। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरूले राखेको अडान कायमै रहेको बताए।

उनले भने, ‘हामीले ठूलो कुराको माग गरेको होइनौं उहाँहरूले नै ठूलो बनाउनुभएको छ। हामी मिलेर अगाडि जानुपर्छ भन्नेमा छौं। समिति बनाउन सहमत भइसकेपछि हामीले भनेजसरी सरकार आज आए सहमति भइहाल्छ।’
उनले कांग्रेस सदन खुलाएर नीति तथा कार्यक्रममाथि छलफल गरेर सदनबाटै बजेट ल्याउने पक्षमा रहेको बताए। बजेटको समय भइसक्यो? आज सहमति नभए बजेट अध्यादेशको बाटोबाट आउने देखियो नि? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनी भन्छन्, ‘हामी सदन खुलोस् भन्ने नै चाहन्छौं। अब सरकारलै हातमा छ। हाम्रो अडान पूरानै छ। बजेट कसरी ल्याउँने भन्ने वातावरण सरकारले बनाउनुपर्छ।’

त्यसो त हिजो बसेको शीर्ष नेताको बैठकपछि छलफल सकारात्मक रहेको कांग्रेस सचेतक रमेश लेखकले बताए । उनको भनाइ थियो, ‘गृहमन्त्री मुछिएका सहकारीहरूको छानबिन गरे संलग्नता पुष्टि हुन्छ। सुप्रिम, स्वर्णलक्ष्मीलगायतका सहकारीबाट कुन कम्पनीमा पैसा गएको छ भन्नेबारे छानबिन हुनुपर्छ। व्यक्तिको वा सहकारीको नाम राख्नेभन्दा मूलभूत कुरा सहकारीमा लाखौँको अर्बौं बचत अपचलन भएको छ, रकम दुरुपयोग र ठगी भएको छ । त्यसको छानविन हुनुपर्छ भन्ने हो।’

कांग्रेसले किन गृहमन्त्रीको नाममै अडान बनाइरहेको छ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा थपे, ‘अपचलन भएको पैसा कुन सहकारीबाट कहाँ गयो? त्यसमा गृहमन्त्रीको संलग्नता देखिएको कुरा सम्बोधन हुनुपर्छ। कुन भाषा, शैलीमा गर्ने भन्ने भाषा शैली मिलाउनुपर्छ भन्ने हाम्रो बुझाइ हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर