गायन र राजनीतिपछि व्यवसायमा कोमलको फड्को – Nepal Press

गायन र राजनीतिपछि व्यवसायमा कोमलको फड्को

दाङ । विद्यालय तहमा अध्ययन गर्दा शिक्षिका बन्ने लक्ष्य राखेकी थिइन् कोमल वलीले । आमाबुवाले पनि उनलाई शिक्षिका बनेर समाजलाई सकारात्मक शिक्षा दिनुपर्ने सुझाव दिइरहन्थे, तर समयक्रमसँगै उनीहरुको चाहनाअनुसार अघि बढेन ।

सानैदेखि गायन र खेलकुदमा अब्बल कोमलले विद्यालय तहको शिक्षापछि पनि यसलाई निरन्तरता दिइन् र यसैबाट आफ्नो पहिचान बनाइन् । कला र पत्रकारितापछि कोमल अहिले पूर्णकालीन रुपमा राजनीतिमा सक्रिय छिन् ।

उनले २०४४ सालमा रेडियो नेपालमा पहिलो गीत गाएकी थिइन् । यसैबाट सांगीतिक यात्रा अघि बढाएकी कोमलका यो बीचमा धेरै गीत चर्चित भए ।

दाङको तुलसीपुर उपमहानगरपालिका- ६ मा स्थायी बसोबास रहेकी उनी लामो समय काठमाडौंमा बसेर कला र पत्रकारितामा क्रियाशील भइन् । पछि राजनीतिमा होमिएकी उनी रेडियो नेपाल र नेपाल टेलिभिजनबाट सेवानिवृत्त भएपछि अहिले पुर्ख्यौली थलो दाङमा फर्केर राजनीतिसँगै व्यवसायिक यात्रामा सक्रिय छिन् । कोमलको परिवार रोल्पाबाट दाङ झरेको थियो ।

कला क्षेत्रमा आफ्नो प्रवेशबारे कोमल भन्छिन्, ‘मेरो यो आफूभित्र रहेको प्रतिभा असल अभिभावकले समयमै प्रयोग गर्न दिनुभएको हो । म विद्यालय तहमै यस्ता प्रतियोगितामा सहभागी भएर धेरै पुरस्कार लिएकी थिएँ, त्यो संघर्षपूर्ण जीवनको सम्झना गर्दै आफ्नै ठाउँमा केही काम गरौं भनेर सबै कामलाई कम महत्व दिएर फर्केको हुँ ।’

सबैतिरको अनुभव संगालेर गाउँ, समाज अनि जिल्ला बनाउन दाङ फर्केको उनी बताउँछिन् । कोमलले महेन्द्र हाइस्कुलबाट एसएलसी, महेन्द्र बहुमुखीबाट स्नातक, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी छन् ।

‘कलामा सानैदेखि नै उत्कृष्ट थिएँ, जहाँ गाए पनि राम्रो हुन्थ्यो, साथीहरु रमाउँथे, गुरुहरुको उत्साह आउँथ्यो, परिवारको साथ हुन्थ्यो, त्यसैले ऊर्जा थप्थ्यो’, उनले भनिन् ।

२०४४ सालमा रेडियो नेपालमा पहिलो गीत गाएकी कोमललाई २०४८ सालमा निकालेको मलमलकिरी जुनकिरी गीतले चर्चामा ल्यायो । यो गीतको शब्द कोमलकी आमाले रचेकी थिइन् । अहिलेसम्म उनका ७४० वटा गीत रेकर्ड भएका छन् ।

आफ्ना आमाबुवा दुवै गीत रचना गर्ने र गाउने भएकाले पनि यो क्षेत्रमा लाग्न बढी प्रेरणा मिलेको उनको भनाइ छ । आमा र बुवाको दुई अलग गीत उनले आफ्नै स्वरमा बाहिर ल्याएकी छन् । गत साल उनकी आमाको देहान्त भएको थियो ।

कोमलमा करिब २ दर्जन गीत विवादमा पनि पर्‍यो, तर त्यो जरुरी नभएको उनको जिकिर गर्छिन् । ‘मैले वास्तविक अवस्थालाई उठाउनेगरी सकारात्मक सन्देश दिनेगरी गीत बनाए पनि बुझ्नेले गलत बुझेकाले समस्या भएको हो’, उनले भनिन् ।

कलाकारितासँगै जोडिएर उनले पत्रकारिता पनि गरिन् । उनले रेडियोमा छिरेपछि समाचार शाखामा पनि ध्यान लगाइन् । ‘रेडियोप्रतिको लगाब थियो, २०५० मा निवेदन मागेको छनोटमा परें, मेहनतका साथ काम गरें । २०५३ फागुन ६ गते स्थायी भएकी हुँ’, कोमलले थपिन्, ‘जति समय काम गरें, पूर्णयोजना बनाएर काम गरें । आफ्नै घर विस्फोटको समाचार पढ्दा, दिनहुँ हत्याकाण्डका घटना पढ्दा भने नरमाइलो लाग्थ्यो ।

रेडियो नेपालबाट २०७३ फागुनमा राजीनामा दिएर उनले राप्रपाबाट राजनीति गरेकी थिइन्, तर राप्रपाको राजनीतिक दीर्घकालीन रहेन । त्यसपछि उनले नेकपा एमाले रोजिन् । एमाले रोजेको छोटो समयमै उनले पार्टीबाट संसदीय जिम्मेवारी पाइन् । २०७४ सालमा उनी राष्ट्रियसभा सदस्य बनिन् ।

दशकौं पार्टीमा काम गरेका व्यक्तिहरुलाई पाखा लगाएर कोमललाई पार्टीमा अवसर दिइएको भन्दै एमालेभित्र चर्को आलोचना पनि भएको थियो, तर उनी आलोचनाको पछि नलागी निरन्तर पार्टीको काम लागिरहिन् ।

हाल एमाले केन्द्रीय सदस्य रहेकी उनी गृहक्षेत्र रहेको पश्चिम दाङमा पछिल्लो संसदीय निर्वाचनमा संघीय सांसदको उम्मेदवार बनिन् । थोरै मतले निर्वाचन हारेकी उनले अहिले पनि निरन्तर पूर्णकालीन रुपमा पार्टी काम गरिरहेको बताउँछिन् । पार्टीले कोमलकै क्षेत्रमा पर्ने शान्तिनगर, बबई र दंशीशरण गाउँपालिकामा उनलाई इन्चार्ज बनाएको छ । पत्रकारिता गर्ने समयमा राजनीतिलाई नजिकबाट बुझेकाले त्यसपछिको यात्रा तय गर्न आफूलाई सहज भएको उनी बताउँछिन् ।

‘पत्रकारिता राजनीतिबाट टाढा छैन, हरेक विषय जोडिएकाले बुझ्न सहज हुन्छ । पत्रकारिताबाट राजनीति, सबै क्षेत्रको ज्ञान हुनुपर्ने भएकाले पनि समाचार महाशाखामा रहँदा समाज नजिकबाट बुझ्न पाएको थिएँ’, कोमलले भनिन्, ‘दलको भूमिका हेरेको थिएँ, सबै नीतिको मूल नीति राजनीति भएकाले पनि मैले यो क्षेत्र रोजेकी हुँ ।’

सबै क्षेत्र बुझेर राजनीतिमा लागेको उनको भनाइ छ । ‘समाज बदल्न, केही काम गरेर देखाउन राजनीति उत्तम विकल्प हो भन्ने संकल्पसाथ आएको हुँ,’ उनले सुनाइन् ।

पछिल्लो समय उनले होटल एण्ड रिसोर्ट सञ्चालनमा ल्याएकी छन् । तुलसीपुर- ६ मा सञ्चालनमा ल्याइएको होटल व्यवसायमा उनलाई बुवासँगै दाजुभाइले साथ दिएका छन् । उनी अविवाहित हुन् ।

‘राजनीति गर्ने हरेक व्यक्ति स्रोत जुटाउने कुनै न कुनै पेशा व्यवसायमा अनिवार्य जोडिनुपर्छ, त्यहीअनुसार म उत्पादनमूलक काममा लागेको हुँ’, उनले भनिन्, ‘आफ्नै जग्गा हो, पारिवारिक रुपमा चलाइएको छ यो होटल । नयाँ सन्देश दिने तरिकाले काम थालेकी छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर