लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध – Nepal Press

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

रुपन्देही । मायादेवीले बोधिसत्त्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकको रूपमा लुम्बिनीबाट शिशु बुद्ध प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार लगिएको छ ।

सिद्धार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृह नगर प्राचीन कपिलवस्तु लगिएको स्मरण गर्दै शुक्रवार बोधिसत्त्व सिद्धार्थ शिशु बुद्धलाई तिलौराकोट दरबारतर्फ लगिएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेलाई शिशु बुद्ध (बोधिसत्त्व सिद्धार्थ) को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई गृह नगर तिलौराकोट फर्कदाको क्षणलाई स्मरण गरी बोधिसत्त्व बुद्धको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । राजा शुद्धोदन र मायादेवीको स्वरूप बनाएर बंगीमा चढाएर शिशु बुद्ध तिलौराकोट लगिएको छ ।

बुद्धका पिता राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना पठाएको बौद्ध धर्मग्रन्थमा उल्लेख छ ।

कोषले २५६७ औँ बुद्ध जयन्तीको अवसरमा शिशु बुद्धलाई बाजागाजा सहित २६ किमीको भव्य शोभायात्रा निकालेको हो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किँदाको २६ सय वर्षअघिको क्षणलाई स्मरण गराउने कोसिस गरिएको परिषद् सदस्य गोपीकृष्ण शर्माले बताए ।

लुम्बिनीदेखि लगिएको शिशु बुद्धलाई तिलौराकोट लगेपछि कार्यक्रम गरिने छ ।

बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत देवदह जाने इच्छा गरेकी थिइन् । रमणीय बगैँचा लुम्बिनी पुगेपछि डोलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै शारीरिक स्वभावमा परिवर्तनसँगै सालको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन् । यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्षोल्लास भयो र सिङ्गो कपिलवस्तु सहर सिँगारेर चिटिक्क पारिएको थियो ।

सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौँ गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किएकी थिइन् । त्यति बेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्र लाभ भएको खुसीयालीमा घरघरबाट स्वागत एवं दीपावली गरेका थिए । सिङ्गो कपिलवस्तुमा कैयौँ दिनसम्म खुसी भएको स्मरण गर्दै रथयात्रा सुरु गरिएको हो ।

भगवान् शाक्यमुनी बुद्ध ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।

बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसका रूपमा मनाउँदै आएको छ ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मूल समारोह गरिएको थियो । यस पटकको बुद्धजयन्ती लुम्बिनी क्षेत्रमा तीन दिन मनाइएको छ ।

रुपन्देही, कपिलवस्तु तथा नवलपरासीका बुद्धसँग सम्बन्धित सबै क्षेत्रमा यसलाई बृहत् कार्यक्रम आयोजना गरेर मनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर