न्यूयोर्क राइटर्स वर्कसप काठमाडौंमा, पाँचै महादेशका ३५ लेखकका अनुभव आदानप्रदान – Nepal Press

न्यूयोर्क राइटर्स वर्कसप काठमाडौंमा, पाँचै महादेशका ३५ लेखकका अनुभव आदानप्रदान

काठमाडौं । न्यूयोर्क राइटर्स वर्कसप इन काठमाडौंको औपचारिक उद्घाटन भएको छ । काठमाडौं बुढानीलकण्ठस्थित पार्क भिलेजमा आयोजित वर्कसप हिजैदेखि सुरु भएपनि बुधबारदेखि औपचारिकरुपमा सुचारु भएको हो ।

नेपालमा मात्रै नभएर सम्भवत दक्षिण एशियामै पहिलाेपटक यस किसिमको सघन कार्याशालाको आयोजना गरिएको हिमालयन कवि एवम् हिमालयन साहित्य महाेत्सवका संरक्षक युयुत्सु शर्माले जानकारी गराए ।

उनले हरेकले अनुभव बाँड्ने र सिक्ने कुरामा जागरुकता देखाउनुपर्नेमा जोड दिए । ‘नेपालीहरुमा कवित्व रहेको छ । तर गुरुत्वको भावनाले पनि ग्रसित छ । अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेखकहरुमा भएको यो किमिसको सिकाइ संस्कृतिबाट हामीले सिक्न जरुरी छ’, शर्माले सम्बोधनका क्रममा भने ।

पाँचै महादेशबाट ३५ जना लेखक/कविहरुको सहभागीता रहेको कार्याशालामा ४ जना सहजीकरणको भूमिकामा रहेका शर्माले बताए । आगामी जुन ३ सम्म सञ्चालन हुने वर्कसपमा अन्तरसांस्कृतिक आदानप्रदान हुने आयोजकले बताएको छ । शर्माले भने, ‘यो वर्कशप एक्सपर्टहरुको इन्टेन्सिभ मिटिङ हो, विविध संस्कृतिहरुको संयोजन हो । एक इन्टेन्स सेमिनार हो ।’

अन्तर्राष्ट्रियस्तरका लेखकहरुलाई नेपालका सांस्कृतिक महत्वका मठमन्दिर एवम् ऐतिहासिक विषयमा लेखनबारे उत्प्रेरित गरिने शर्माले जानकारी दिए । मे २७ र २८ काठमाडौं गेस्ट हाउसमा हुन लागेको हिमालयन लिटरेचर फेस्टिभल कवि गोपाल प्रसाद रिमालप्रति समर्पित रहेको र आगामी दिनमा हुने फेस्टिभलमा अन्य कुनै नेपाली कविलाई समर्पित गरिने शर्माको भनाइ थियो ।

त्यस्तै, कार्याशाला बारेमा जानकारी दिँदै अमेरिकी प्राध्यापक एवम् कवि टीम टोमिल्सनले यो वर्कसप निकै अगाडिदेखि गर्नेबारे योजना बनाइएको भएपनि कोरोना महामारीलगायतले ढिलो भएको बताए । आफू नेपालमा सन् २०१० मा आउँदा न्यानो स्वागत र सत्कार पाएको र अहिले पनि त्यसैको अपेक्षा रहेको टीमको भनाइ थियो ।

यो वर्कशपको अवधारणा न्यूयोर्कमा सुरु भएपनि पछिल्लो समय यो बढी एशियन बनेको उनले बताए । नेपालमा कार्याशाला गर्न पाउँदा र हिमालयन साहित्य महोत्सवमा त्यसको परिणाम प्रदर्शन गर्न पाउँदा आफूहरु हर्षित भएको बताए ।

कार्याशाला शहर र प्रकृतिसँग जोड्ने किसिमले सञ्चालन हुने उनको भनाइ छ । काठमाडौं, पोखरा र चितवनमा यसको सञ्चालन हुनेछ । अन्य क्षेत्रमा पनि यही मोडलमा काम गर्ने टीमले बताए ।

त्यसैगरी, अर्का अमेरिकी लेखक रवि शंकरले यो कार्याशाला केवल भेटघाटको लागि मात्र नभएर कविता, आख्यान, गैरआख्यान, फोटोग्राफी एवम् जस्तोसुकै लेखनका विषयमा छलफल र सघन ज्ञान र अनुभवको आदानप्रदान हुने बताए ।

नेपालको प्रख्यात कवि रिमालप्रति समर्पित हिमालयन लिटरेचर फेस्टिभलमा चार दिन सञ्चालित कार्याशालाबाट आएको परिणाम देखाइने बताए । आफू सन् २०१४ मा भूकम्प अघि नेपाल आएको र यहाँको स्वागत र सत्कारले आफू लोभिएको बताउँदै अबका बसाइपनि राम्रो हुने अपेक्षा व्यक्त गरे ।

संसारमै फरकमध्येको यो वर्कशप रहेको बताउँदै शंकरले यसमा स्थानीय र अन्तर्राष्ट्रिय लेखकहरुले आफ्ना अनुभव बाँड्ने र जसको उद्देश्य सर्वोत्तम विचार र लेखनलाई उजागार गर्नु रहेको बताए ।

मे २६ सम्म कार्याशाला हुनेछ । जहाँ रिमालकै कविता वाचन गरिने र महोत्सवमा देखाइने छ । त्यस्तै, महोत्सवमा वर्कशप, समूह गतिविधि, वाचन र सांस्कृतिक कार्यक्रमहरु रहनेछन् । त्यस्तै, २९ र ३० मेमा पोखरामा कार्यक्रम हुने तथा ३१ मे र १ जुनमा चितवनमा कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *