रोल्पाले कर्म फेर्छ कि भाग्य ? – Nepal Press

रोल्पाले कर्म फेर्छ कि भाग्य ?

रोल्पालीको लागि रोल्पा जन्मस्थल हो, तर समग्र नेपालीको लागि रोल्पा भावना हो । रोल्पा भन्नेबित्तिकै कसैलाई डर, कसैलाई दुःख र कसैलाई खुसी लाग्छ होला । भौगोलिक कारणले डराउनु स्वाभाविकै हो, विकासको हिसाबले यसै पनि पछाडि परेको ठाउँ । पर्यटकीय स्थल प्रशस्त हुँदा पनि संरक्षण र सम्बर्द्धन हुन नसकेको जिल्ला हो रोल्पा ।

रोल्पा दश वर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो हो । जहाँ दोहोरो भिडन्त पनि भयो । भिडन्तहरूमा हजारौं रोल्पालीले ज्यान गुमाए । उनीहरूले ज्यान गुमाउँदा विभिन्न आश्वासन दिएर परिवारलाई थमथमाइएको थियो । परिवारको जीवनस्तर सँगै रोल्पाको पनि विकास हुन्छ भनिएको थियो, तर ती ठाउँको त के कुरा, जनताको जीवनस्तर पनि जस्ताको तस्तै छ ।

रगतका भेल परेका केही ठाउँ सुख्खा मैदानमा परिणत भएका छन्, केही ठाउँले आफ्नो अस्तित्व गुमाएका छन् । युद्ध पर्यटनको अवधारणा, जलजलामा केवलकार, सुन छहारीको रिसर्च भोटको एजेन्डामै सीमित रह्यो । हिजो द्वन्द्वका चपेटामा परेर त अहिले कुशल नेता नपाएर रोल्पा ओझेलमा परेको छ ।

रगतका भेल परेका केही ठाउँ सुख्खा मैदानमा परिणत भएका छन्, केही ठाउँले आफ्नो अस्तित्व गुमाएका छन् । युद्ध पर्यटनको अवधारणा, जलजलामा केवलकार, सुन छहारीको रिसर्च भोटको एजेन्डामै सीमित रह्यो ।

ऐतिहासिक दृष्टिकोण र सम्भावना बोकेको हिसाबले हेर्ने हो भने त जलजला रोल्पाको प्रतिविम्ब हो । रोल्पामा रहेको जलजला हिमाल जनयुद्धको केन्द्र हुनुले पनि थप आकर्षण ठाउँ हो । जलजलासँग सशस्त्र युद्ध र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास गाँसिएको छ । यसको बहु-आयामिक मिश्रणले पर्यटकका लागि आकर्षक गन्तव्य बन्नुपर्ने हो, तर यस्तो स्थलमा पनि आधारभूत आवश्यकता नहुनु लज्जास्पद यथार्थ हो ।

रोल्पाले धेरै नेता जन्मायो । भूगोल परिवेश नबुझेका नेता जन्माएको भए त मन बुझाउन हुन्थ्यो । युद्धमा नहोमिएका नेता भएको भए इतिहास नै महसुस नगरेको भनेर सहन सकिन्थ्यो, तर त्यही माटोमा खेलेर, त्यही धाङ्सी, लरी र माडीमा नुहाएर हुर्किएका नेताको ध्यान अझै जनतामा गएको छैन । यसरी आफ्नै जरालाई कमजोर बनाउनु कायरताको छनक हो । सत्तामा उही अनुहार दोहोरिरहँदा रोल्पाको विकास र रोल्पालीको जीवनस्तरमा ध्यान नजानु हेपाइको पराकाष्ठा हो ।

उनीहरूले सम्झिनु पर्दैन !
सुन बग्ने झरनामा खुन बगेको ?
के बिर्सिएकै हुन उनीहरूले ?
जलेका बस्ती
मारिएका शिक्षक
रित्तिएका काख
पुछिएका सिन्दूर
दिएका आश्वासन

उहिले अन्याय नसहने भनेर पाठ सिकाउने रोल्पा अहिले आफैं अन्यायमा परेको छ । रोल्पालीसँग युद्धमा आफन्त गुमाउँदाको पीडा छ । रोल्पालीको द्वन्द्वले बनाएको घाउ न केही गरी पुरिनेवाला छैन न त त्यहीबाट स्थापित भएका नेताले त्यसको परिपूर्ति गर्न सक्नेछन् ।

सिङ्गो परिवारको सपना साकार पार्न छानिएका र मानिएका नेताले खोइ विकास गरेको ? प्राकृतिक सुन्दरताको खोइ प्रचारप्रसार गरेको ? २५ वटाभन्दा धेरै खोला यही जिल्ला भएर बग्छन् । मगरहरूको बाहुल्य रहेको यो क्षेत्रमा सारङ्गी, सोरठी जस्ता विभिन्न संस्कृति झल्काउने नाचहरू नाचिन्छ । यहाँ आआफ्नो मौलिकता, विशिष्टता बोकेका पालिकाहरू एक-अर्कोसँग गुनासो पोख्दैछन् ।

रोल्पाको कुरा गर्दा थबाङ नसम्झिनु अन्याय हुन्छ । सशस्त्र द्वन्द्वको बेला क्रान्तिको लाल किल्ला मानिन्थ्यो । त्यहीबाट दिएको आश्रय लिँदै रोल्पालाई थिचेर आज सुनका महलमा बस्ने भए । यसो हेर्दा त रोल्पा अहिले शान्त लाग्छ, तर ठाउँ शान्त हुनु र मन अशान्त हुनु झन् पीडादायी हुँदो रहेछ । ‘माया गर्नेले ठाउँ पाउँदैनन् र ठाउँ पाउनेले दाउँ नै छाड्दैनन्’, अचेल प्रायः रोल्पाली यस्तै भन्छन् । यसरी रोल्पाले दशकौं सहेको पीडा कुन रूपमा बाहिर निस्किन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

उहिले अन्याय नसहने भनेर पाठ सिकाउने रोल्पा अहिले आफैं अन्यायमा परेको छ । रोल्पालीसँग युद्धमा आफन्त गुमाउँदाको पीडा छ । रोल्पालीको द्वन्द्वले बनाएको घाउ न केही गरी पुरिनेवाला छैन न त त्यहीबाट स्थापित भएका नेताले त्यसको परिपूर्ति गर्न सक्नेछन् । सहन सक्ने सामर्थ्य हर कोहीको तकदिरमा हुँदैन । यसरी सहेको पीडा कोबाट र कुन रूपमा बाहिर निस्किन्छ, त्यो भने हेर्न बाँकी नै छ । अर्काे परिवर्तनको लागि रोल्पाले कर्म फेर्छ कि भाग्यमा विश्वस्त रहन्छ चासोको विषय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *