चिकित्सा पढ्न छुटेका ८ जनालाई भर्ना दिने बंगलादेशको पत्र – Nepal Press

चिकित्सा पढ्न छुटेका ८ जनालाई भर्ना दिने बंगलादेशको पत्र

काठमाडौं । बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका आठ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाएपछि उक्त समस्या समाधान भएको हो ।

बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र ३ जना बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाएको थियो । तर, अन्तिम सूचिमा १२ जनाको मात्रै नाम आएको थियो ।

यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गरेकी थिइन् ।

यही सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ‘कूटनीतिक नोट’ पठाएकोमा त्यसको जवाफमा बङ्गलादेशले छुटेका आठ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कूटनीतिक नोट मार्फत नै जानकारी दिएको मन्त्रालयले जनाएको छ ।

शिक्षामन्त्री श्रेष्ठले विभिन्न कारणले उत्पन्न समस्याले विद्यार्थीमा अन्यौलता छाएकोमा उक्त समस्या समाधान गर्न अहोरात्र खटिने सबै जनाप्रति कृतज्ञता व्यक्त गरेकी छन् । बुधबार नै सम्बन्धित विद्यार्थीलाई मन्त्रालयमै बोलाएर बङ्गलादेशमा अध्ययनका लागि शुभकामना व्यक्त गर्दै विद्यार्थीसँग संवाद समेत गरेकी छन् ।

खुशी हुँदै मन्त्रालय पुगेका विद्यार्थीलाई शिक्षामन्त्री श्रेष्ठले शुभकामना दिदैँ भनिन्, ‘नयाँ ठाँउमा नयाँ सँस्कृतिमा घुलमिल हुन समय लाग्छ । आफ्नो स्वास्थ्य र मानसिक स्वास्थ्यको ख्याल गर्नुहोला । मिहेनत गरेर सफल भएर स्वदेशको सेवा गर्न फर्केर आउनुहोला।’

उनले थप्दै भनिन्, ‘परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठज्यू, नेपालका लागि बङ्गलादेशका महामहिम राजदूतज्यू, ढाकास्थित नेपाली दूतावासका महामहिम राजदूतज्यू र बङ्गलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु। यो विषयलाई प्रमुखताका साथ उठाउनुहुने संघीय सदनका माननीय सदस्यज्यूलाई पनि धन्यवाद छ । विद्यार्थीको गुनासो आएकै दिनदेखि समस्या समाधानका लागि खटिने मन्त्रालयका कर्मचारीलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *