क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपको भिसाका लागि सरकारले नै अमेरिकासँग पहल गर्नुपर्छ – Nepal Press

क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपको भिसाका लागि सरकारले नै अमेरिकासँग पहल गर्नुपर्छ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको भिसा अमेरिकाले अस्वीकार गरेको विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले सरकारका जिम्मेवार व्यक्तिहरुलाई जानकारी गराएको छ । प्रधानमन्त्री, परराष्ट्रमन्त्री र खेलकुदमन्त्रीलाई आफूहरुले सूचना दिइसकेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

अमेरिकी दूतावासले आज सन्दीपलाई अन्तर्वार्तामा बोलाएर भिसा दिन अस्वीकार गरेको थियो । दूतावासको निर्णयबाट क्यान पदाधिकारीहरु आश्चर्यमा परेका छन् । कैयौं देशमा लिग खेलिसकेको र अमेरिकामा पनि खेलेर फर्किएको अन्तर्राष्ट्रिय खेलाडीलाई भिसा नदिइनुलाई उनीहरुले स्वाभाविक रुपमा लिएका छैनन् ।

क्यान अध्यक्ष चन्दले के कारणले भिसा नदिइएको हो भन्ने जानकारी नरहेको बताए । अब यस विषयमा सरकारीस्तरबाटै पहल हुनुपर्ने उनको भनाइ छ ।

‘हामीले सरकारका सबै जिम्मेवार व्यक्तिहरुमा कुरा पुर्‍याएका छौं । उहाँहरुले आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ’, चन्दले भने ।

सरकारले पहल नगर्दासम्म क्यानले केही गर्न नसक्ने चन्द बताउँछन् ।

‘हामीले गर्ने भनेको आवश्यक डकुमेन्ट उपलब्ध गराउने हो । त्यो गराइसकेका छौं । अब परराष्ट्र मन्त्रालयमार्फत बलियो पहल आवश्यक छ’, उनले भने ।

नेपाली क्रिकेट समर्थकहरुको भावनालाई समेत मध्यनजर राखेर दूतावासले आफ्नो निर्णयमा पुनर्विचार गर्ने आशा उनले व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर