अमेरिकी दूतावासले ५ वर्षअघि पनि रोकेको थियो सन्दीपको भिसा, जनदबाबपछि बोलाएर दिएको थियो – Nepal Press

अमेरिकी दूतावासले ५ वर्षअघि पनि रोकेको थियो सन्दीपको भिसा, जनदबाबपछि बोलाएर दिएको थियो

काठमाडौं । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेको भिसा ५ वर्षअघि पनि रोकेको थियो । सन् २०१९ अगस्ट १३ (२०७८ साउन २८) मा अन्तर्वार्तामा बोलाएर आजै जसरी सन्दीपलाई फर्काइएको थियो ।

सन्दीपले त्यसबारेमा सामाजिक सञ्जालमा आलोचनात्मक पोस्ट गरेका थिए । अमेरिकी दूतावासको ह्याण्डल तथा तत्कालीन अमेरिकी राजदूत रेन्डी बेरीलाई मेन्सन गर्दै लामिछानेले लेखेका थिए, ‘आज मैले सीपीएल प्रतियोगिता खेल्नको लागि भिसा लिन अमेरिकी दूतावास गएको थिएँ । नेपालको प्रतिनिधित्व गरेर सन् २०१६ बाट राष्ट्रिय टीमबाट विश्वभर क्रिकेट खेल्दै आएको मलाई भिसा अस्वीकार हुँदा ज्यादै ठूलो अनौठो लागेको छ । म यो सबै देखिरहँदा मुस्कुराइरहेको थिएँ, अवाक भएको थिए । सबै चाहिने कागजात हुँदा पनि मलाई भिसा दिइएन । खेलाडीको रूपमा मलाई सीपीएल २०१९ खेल्न अब गाह्रो हुनेछ ।’

सन्दीपले यस्तो आलोचनात्मक ट्वीट भाइरल भएसँगै अमेरिकी दूतावासको व्यापक आलोचना भएको थियो । त्यसको केही घण्टापछि सन्दीपलाई दूतावासले आफैँ बोलाएर भिसा दिएको थियो ।

योपटक सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

भिसा रद्दलगत्तै क्यान सचिव पारस खड्काले सन्दीपलाई लिएर फेरि दूतावास गएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर