गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीचको राजनीतिक लडाई:१२ दिनदेखि अन्धकारमा गिरीचौकाबासी – Nepal Press

गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीचको राजनीतिक लडाई:१२ दिनदेखि अन्धकारमा गिरीचौकाबासी

डोटी ।  घर–घरमा चिम झुण्ड्याइएका छन्, घर नजिकै पोल ठडिएका छन्, मिटरबक्स पनि टाँसिएको छ, तर बिजुली भने बन्दैन । साँझ पर्‍यो कि कि मैनबत्ती, कि परम्परागत बत्ति वा झुरो (सुकेको सल्लाको काठ) को खोजी हुन्छ । आज आउँछ, भोली आउँछ भन्दै १२ दिन बित्यो, बत्ति भने बल्दैन ।

आदर्श गाउँपालिका–६ खतेडाका बासिन्दाहरुले बत्ति बाल्न नपाएको १२ दिन भयो । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र आदर्श गाउँपालिकाको साझेदारीमा निर्माण भएको ८० किलोवाट क्षमताको सौर्य उर्जा प्लाण्ट बन्द भएपछि २ सय ८६ घरधुरी अन्धकारमा छन् । सौर्य उर्जा प्लाण्ट बिग्रेर बन्द भएको भने होइन । गाउँपालिकाले २४ लाख रुपैयाँ भुक्तानी नदिएका कारण निर्माता कम्पनीले बन्द गरेको हो ।

विद्युत आपुर्ति बन्द हुँदा २ कुटानी पिसानी मिल, विद्यालय, गिरीचौका स्वास्थ्य चौकी, सिलाई सेण्टर, स्वास्थ्य क्लिनिक र स्थानीय पसलहरु समेत प्रभावित भएको प्लाण्टका अपरेटर पदमबहादुर खडायत बताउँछन् । उनी भन्छन् ‘मलाई कम्पनीले विद्युत आपुर्ति बन्द गर्न निर्देशन दियो, सोही अनुसार बन्द गरेको हुँ ।’

गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीचको राजनीतिक लडाइका कारण विद्युत बन्द भएको स्थानीयको बुझाइ छ । ‘यो अरु केही पनि होइन, गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षबीचको राजनीतिक लडाइ हो’ एक स्थानीय भन्छन् ‘दुवैको पार्टी फरक पर्‍याे , त्यसैले एकले अर्कोलाई कमजोर बनाउन खोज्छन्, त्यसको मार हामीले खेप्नु परेको छ ।’

यो प्लाण्टका लागि २०७७ सालदेखिनै प्रक्रिया सुरु भएको उनको भनाई छ । एक वर्षसम्म राम्रोसँग विद्युत आपुर्ति भएको थियो, तर किन हो फेरि बन्द भएको उनको बताउँछन् । विद्युत बन्द हुँदा मोवाइलहरु पनि चार्ज गर्न समस्या भएको उनले बताए ।

५ करोड ४० लाख रुपैयाँमा निर्मित उक्त प्लाण्टका लागि ९० प्रतिशत बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र १० प्रतिशत गाउँपालिकाले लगानी गर्ने सम्झौता भएको थियो । प्लाण्ट स्थापना गर्न काठमाण्डौंको घाम पावर प्रालिले जिम्मेवारी पाएको थियो ।

‘गाउँपालिकाले दिनु पर्ने ५४ लाख रुपैयाँ अग्रिम भुक्तानी दिनु पर्ने सम्झौता थियो, पालिकाले त्यतिवेला बजेट कम भएको भन्दै ३० लाख रुपैयाँ मात्र भुक्तानी दियो’ घाम पावर प्रालिका प्रतिनिधि जीवन ठगुन्ना भन्छन् ‘बाँकी रकम अर्को आर्थिक वर्ष (२०७९-०८०)मा भुक्तानी दिने भन्ने थियो, तर ०८०-०८१ सकिन लाग्दा समेत भुक्तानी भएन ।’

भुक्तानी नदिएपछि आफुहरुले गाउँपालिकालाई पटक पटक ताकेता गर्दै आएको तर गाउँपालिकाले अनेक बहाना वनाउँदै भुक्तानी नदिएको ठगुन्नाको भनाई छ ।

‘हामीले चैत्र महिनामा पनि एक दिन विद्युत आपुर्ति बन्द गरेका थियौं’ उनी भन्छन् ‘त्यतिवेला गाउँपालिका उपाध्यक्ष लक्ष्मी रोकायाले पालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएका कारण भुक्तानीमा ढिलाई भएको र अब प्रमुख प्रशासकीय अधिकृत आएपछि पहिलो चेक तपाईहरुको काटिन्छ भन्ने प्रतिवद्धता गरेको हुँदा हामीले त्यतिवेला विद्युत आपुर्ति सुचारु गरेका हौं ।’ तर त्यो प्रतिवद्धता पनि कार्यान्वयन नभएपछि फेरि बन्द गरेको उनी बताउँछन् ।

उनी भुक्तानी नभएसम्म विद्युत आपुर्ति सुचारु नहुने बताउँछन् । ‘भुक्तानी नपाएपछि हामीले स्थानीय अपरेटरलाई विद्युत आपुर्ति बन्द गर्न निर्देशन दिएका हौंं’ ठगुन्ना भन्छन् ‘अव जुन दिन गाउँपालिकाले हाम्रो खातामा रकम जम्मा गर्छ, सोही दिन बिद्युत आपुर्ति सुरु हुन्छ ।’ उनी कि त बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले आफुहरुलाई लेखेर पठाउनुपर्ने बताउँछन् ।

विद्युत आपुर्ति किन बन्द भयो भन्ने बारेमा आफूले कम्पनीमा सोध्दा गाउँपालिकाले भुक्तानी नदिएकोले लाइन काटेको भन्ने जवाफ आएको वडाध्यक्ष लालबहादुर खडायत बताउँछन् । ‘गाउँपालिकाले दिनु पर्ने रकम भुक्तानी दिनु पर्ने भन्दै आफूले पटक पटक पालिकामा कुरा राख्दा पनि कुनै सुनुवाई हुँदैन’ वडाध्यक्ष खडायत भन्छन् ‘गाउँपालिका अध्यक्ष हाम्रो वडाप्रति पूर्वाग्रही हुनु भयो ।’

गाउँपालिका अध्यक्ष भन्छन्- कम्पनीले सम्झौता अनुसारको काम गरेन

कम्पनीले सम्झौता अनुसारको काम नगरेकोले भुक्तानी रोक्नु परेको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्का बताउँछन् ।

“कम्पनीले चिम, मिटर, होल्डर उपभोक्तालाई निशुल्क उपलव्ध गराउनु पर्ने सम्झौता थियो, तर उपभोक्ताबाट पैसा लिएको गुनासो आएको छ, पोल गाड्दा पनि बाङ्गो–टिङ्गो गाडिएको भन्ने स्थानीयबासीबाटै गुनासो आयो” अध्यक्ष खड्का भन्छन् ‘यस बिषयमा हामीले कम्पनीलाई संयुक्त रुपमा अनुगमन गरौं, के के कुरा बिग्रिएको हो, सो सुधारौं भन्दा उहाँहरुले वास्ता गर्नु भएन ।’

कम्पनीले बत्ती बलेको कुरा समेत गाउँपालिकालाई आधिकारिक जानकारी नदिएको खड्काको गुनासो छ । उनले काम सम्पन्न भएपछि गाउँपालिकालाई अनुगमनका लागि जानकारी गराउनु पर्नेमा सो पनि नगरेको गुनासो गरे ।

उनी थप्छन् ‘बत्ति छिटो बल्नु पर्ने स्थानीयको माग छ, हामी भुक्तानी दिन तयार छौं तर कसलाई हो भुक्तानी दिनु पर्ने ? भुक्तानी लिन कम्पनीको आधिकारिक प्रतिनिधि आउनु पर्‍यो नि !’

बत्ति कम्पनीले बन्द गरेको नभई आफूलाई बद्नाम गर्नका लागि स्थानीय अपरेटरले आफै बन्द गरेको अध्यक्ष खड्काको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *