बानेश्वर– बबरमहलमा फल्चा शैलीका बस बिसौनी (तस्बिरहरु / भिडिओ) – Nepal Press

बानेश्वर– बबरमहलमा फल्चा शैलीका बस बिसौनी (तस्बिरहरु / भिडिओ)

काठमाडौं। अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिका वडा नं१० का अध्यक्ष रामकुमार केसीले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् ।

त्यस क्रममा बोल्दै उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना विगार्नु हुँदैन ।’ उहाँले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने सामुहिक दायित्वका विषयमा कुरा गर्दै भन्नुभयो, ‘हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएका छौँ । राजनीतिक दलहरुसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरु राजनीतिक आन्दोलनको मारमा नपरुन् ।’

फल्चा निर्माणमा स्थानीय सहभागिता भएकोले यसको संरक्षणका लागि स्थानीयबासीले निगरानी गर्नेछन् । कार्यक्रममा निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले भने ‘यो नमूना अन्यत्र स्थानमा पनि विस्तार हुँदै जानेछ ।’

स्थानीयहरुको निगरानीमा नगर प्रहरीले सहयोग गर्नेछ । कार्यक्रममा महानगर प्रहरी बल पूर्व क्षेत्रका प्रमुख नगर प्रहरी उपरीक्षक दिनेशराज अर्यालले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण हाम्रो जिम्मेवारी हो । हामी यस्ता सम्पत्तिको दुरुपयोग हुन दिँदैनौँ ।’

वडा सचिव सुवोध खड्काका अनुसार यस क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन् । बानेश्वरबाट बबरमहलतर्फ आउँदा सडक खण्डमा रहेको विसौनी आजबाट सञ्चालन भयो । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको विसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउनेछ ।

यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ हो । यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिएका छन् । विसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।

फल्चा उद्घाटनपछि संरचना निर्माणबाट खुशी हुँदै स्थानीय र पैदल यात्रुले बिसौनीसँगै सार्वजनिक शौचालय भइदिएको भए यात्रुहरुलाई यात्रा सहजताका लागि ठूलो राहत हुने अपेक्षा व्यक्त गर्दै थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *