गुठी विधेयक छिट्टै ल्याउँछौं : मन्त्री अधिकारी – Nepal Press

गुठी विधेयक छिट्टै ल्याउँछौं : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी विधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् ।

गुठी विधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलिपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाहरुबीचको अन्तरक्रियामा उक्त गुठी विधेयक ल्याउने जानकारी गराए ।

पुरानो कानूनमा भएका राम्रा कुरा अंगीकार गर्दै परिर्वतित समय र सबै समुदायको अपनत्व रहने गरी गुठी विधेयक ल्याउनका लागि मन्त्रालयले छलफल सुरु गरेको छ ।

गुठी जग्गा जमिनको विषय मात्र नभएर काठमाडौं उपत्यकाको हकमा नेवा समुदाय र अन्य देशभर आ–आफनो परम्परा र संस्कृतिसँग गुठी जोडिएकाले यसको स्थायी समाधान खोजिरहेको मन्त्री अधिकारीको भनाइ छ । तत्कालका समस्या र दीर्घकालमा आइपर्ने समस्या समाधानका लागि सबै सरोकारवालासँग छलफल गरेर मस्यौदा लिएर आउन मन्त्री अधिकारीले निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले एकीकृत गुठी विधेयकले सबैको भावना समेट्ने विश्वास व्यक्त गरे । कार्यदलले सम्बन्धित सरोकारवालासँग छलफल गरेर लिखित, मौखिक र स्थलगत अध्ययन गरेर मस्यौदा ल्याउने उनको भनाइ छ ।

कार्यक्रममा गुठी संस्थानका गुठी प्रशासक एवं मस्यौदा कार्यदलका संयोजक किरण शाक्यले सबै समुदायको भावनाको प्रतिनिधित्व रहने र विगतका कमी कमजोरी नदोहोरिने गरी नयाँ ऐनको मस्यौदा बनाउने बताए । २०७५ सालमा नेवा समुदायलेले गरेको गुठी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्ने र बढीभन्दा बढी सरोकारवालासँग कार्यदलले छलफल गर्ने योजना रहेको जानकारी गराए ।

उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमभक्त महर्जन र पूर्वमन्त्री केशवमान शाक्यले गुठी संस्थान स्वायत्त निकाय हुनु पर्ने र सबै समस्यालाई एकिकृतरुपमा सम्बोधन गर्नुपर्ने बताए ।

पुरानो विधेयक बनाउँदा छलफल नभएकाले आन्दोलन भएको र अब बनाउँदा धर्म, संस्कृति र परम्परासंग गुठी जोड्नु पर्ने उनीहरुको भनाइ छ ।

कार्यक्रममा नेवा संगठनको पुर्व अध्यक्ष एवं गुठी आन्दोलनका अगुवा नरेश ताम्राकार, गुठी विधेयक आन्दोलन समितिका सदस्य श्री कृष्ण महर्जन, निरञ्जन पौडेल, नरेश शाक्य, सुरेश मानन्धर, सुनिल मर्हजन, कानून व्यवसायी नरेश श्रेष्ठ लगायतले गुठी संरक्षणमा सरकारको ध्यानाकर्षण गराए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर