आन्तरिक प्रतिस्पर्धाबाट १४ जना उपसचिव सहसचिवमा सिफारिस – Nepal Press

आन्तरिक प्रतिस्पर्धाबाट १४ जना उपसचिव सहसचिवमा सिफारिस

काठमाडौं । आन्तरिक प्रतिस्पर्धाबाट विभिन्न सेवाका १४ जना सहसचिवमा सिफारिस भएका छन् । लोक सेवा आयोगले लिएको विभिन्न चरणको परीक्षाबाट प्रशासन सेवातर्फ नौ जना, लेखापरीक्षण सेवा, इन्जिनियरिङ सेवा, परराष्ट्र सेवा, न्याय सेवा र सरकारी वकिल सेवातर्फ एक एक जना गरेर १४ जना सहसचिवमा सिफारिस भएका हुन् ।

प्रशासन सेवातर्फ पहिलो नम्बरमा विनोदकुमार खड्का, दोस्रो नम्बरमा राजन पौडेल, तेस्रो नम्बरमा पुरुषोत्तम शर्मा, चौथो नम्बरमा कृष्णप्रसाद मैनाली र पाँचौँ नम्बरमा केशवराज सुवेदी सिफारिस भएका छन् ।

यस्तै छैटौँ नम्बरमा वेदप्रसाद भण्डारी, सातौँ नम्बरमा मिरा आचार्य, आठौँ नम्बरमा रविलाल शर्मा र नवौँ तथा अन्तिम नम्बरमा ज्ञानहरि घिमिरे सिफारिस भएका छन् ।

प्रशासन सेवातर्फ नौ जना सिफारिस हुँदा एक जना महिला पनि सिफारिस भएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा उपसचिवमा कार्यरत मिरा आचार्य आन्तरिक प्रतिस्पर्धातर्फ सातौँ नम्बरमा सिफारिस भएकी हुन् । उनी मन्त्रालयमा खेलकुद पूर्वाधार विकास शाखा प्रमुख रहेकी छन् ।

प्रशासन सेवातर्फ नौ जनाका लागि भएको आन्तरिक प्रतिस्पर्धाको वैशाख नौ र १० गते भएको अन्तरवार्ता चरणसम्म १३ जना सहभागी भएका छन् । जसमा तीन जना वैकल्पिक सुचीमा परेका छन् ।

लेखापरीक्षण सेवातर्फ राजेन्द्रराज ओझा सहसचिव अर्थात नायव महालेखापरीक्षकमा सिफारिस भएका छन् । आन्तरिक प्रतिस्पर्धातर्फ बैशाख १२ गते सम्पन्न अन्तरवार्ता चरणसम्म तीन जना सहभागि भएकोमा एक जना वैकल्पिकमा परेका छन् । यस्तै नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूहतर्फ अर्जुनकुमार बम सहसचिवमा सिफारिस भएका छन् । बैशाख १३ गते सम्पन्न अन्तरवर्ता चरणसम्म तीन जना सहभागि भएकोमा एक जना वैकल्पिक सूचीमा परेका छन् ।

परराष्ट्र सेवातर्फ ज्ञानबहादुर मगर सहसचिवमा सिफारिस भएका छन् । वैशाख ७ गते सम्पन्न अन्तरवार्ता सम्मको चरणमा तीन जना सहभागी भएकोमा एक जना वैकल्पिक सूचीमा परेका छन् ।

न्याय सेवाको न्याय समूहतर्फ दीपक भण्डारी सहसचिवमा सिफारिस भएका छन् । वैशाख ४ गते सम्पन्न अन्तरवार्ता चरणसम्म तीन जना सहभागी भएकोमा एक जना वैकल्पिक सूचीमा परेका छन् ।

यस्तै न्याय सेवाकै सरकारी वकिल समूहतर्फ दीपशिखा मुनाकर्मी सहसचिवमा सिफारिस भएका छन् । वैशाख ६ गते सम्पन्न अन्तरवार्ता चरणसम्म पाँच जना सहभागी भएकोमा एक जना वैकल्पिक सूचीमा परेका छन् ।

आयोगले आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएकामध्ये नौ जना, लेखापरीक्षण, इन्जिनियरिङ र परराष्ट्र सेवाका एक जना गरेर १२ जनालाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो भने न्याय समूहका एक जनालाई नियुक्तिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा सरकारी वकिल समूहतर्फका एक जनालाई नियुक्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर