प्रचण्डले नै बसाएका थिए विदेशी राष्ट्रप्रमुख आउँदा बिदाको प्रचलन, त्यसबेला विरोध गर्ने रवि अहिले आफैं निर्णयकर्ता – Nepal Press

प्रचण्डले नै बसाएका थिए विदेशी राष्ट्रप्रमुख आउँदा बिदाको प्रचलन, त्यसबेला विरोध गर्ने रवि अहिले आफैं निर्णयकर्ता

काठमाडौं । नेपाल गणतान्त्रिक मुलुक बनेको १५ वर्ष पछि पहिलोपटक विदेशी राजा भ्रमणमा सरकारले सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदले गरेको यो निर्णयप्रति सामाजिक सञ्जालमा धेरैले आलोचना गरेका छन् ।

नेपालले विदेशी राष्ट्रप्रमुख आउँदा सार्वजनिक विदा दिइएको यो पहिलोपटक भने होइन । २०७३ सालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सरकारले सार्वजनिक बिदा दिएको थियो ।

त्यसबेला पनि प्रधानमन्त्री पुष्पकमल प्रचण्ड नै थिए । भारतको चाकडी गरेको आरोप लाग्ने भएकाले सरकारले ‘भारत र चीनका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने’ निर्णय गरेको थियो । २०७३ साल कार्तिक ११ गते बसेको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो ।

सरकारले भारतप्रति लम्पसारवादी नीति लिएको भनेर तीव्र आलोचना भएपछि प्रचण्डले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा निर्णय लिइएको भनेर आफ्नो बचाउ गरे ।

त्यही निर्णयमा टेकेर चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणमा पनि सार्वजनिक बिदा दिइयो । यसपालि प्रधानमन्त्री थिए केपी शर्मा ओली । उनको सरकारले चीनिया राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा २०७६ असोज २६ गते आइतबार सार्वजनिक बिदा दिएको थियो ।

गृह मन्त्रालयले भने कुनै पनि मुलुकको राष्ट्र प्रमुख भ्रमणमा आउदाँ सार्वजनिक बिदा दिने पहिलेदेखिकै प्रचलन रहेको बताउँछ । मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपालका राष्ट्र प्रमुखसमेत औपचारिक भ्रमणमा विदेशमा जाँदा सम्बन्धित मुलुकले सार्वजनिक बिदा दिने दाबी गरे ।

उनले भने, ‘अहिले पहिलोपटक सार्वजनिक विदा दिइएको होइन । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनिया राष्ट्रपति सि चिनफिङ आउँदा पनि सार्वजनिक बिदा दिइएको थियो । अनौपचारिक रुपमा भ्रमणमा आउँदा त दिईंदैन, तर नेपालको राष्ट्र प्रमुखको औपचारिक निमन्त्रणामा भएको भ्रमणमा बिदा दिइन्छ । नेपालमा मात्रै होइन, अन्य मुलुकले पनि औपचारिक भ्रमणमा निम्तो गरेको अवस्थामा बिदा दिन्छन् ।’

सामाजिक सञ्जालमा आलोचना

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले नेपालको राष्ट्रप्रमुख विदेश भ्रमणमा गएको बेला कुन मुलुकले बिदा दिएको छ भन्दै प्रश्न गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै लेखेकी छन्, ‘मलाई सम्झाईदिनुस न, के कुनै राष्ट्रले नेपालका राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा आफ्नो मुलकमा सार्वजनिक बिदा दिएको छ ?’

डा.विनोद आचार्य लेख्छन्, ‘मन्त्री प्रधानमन्त्री आदी आफु पनि देखिने विकासको काम नगर्ने, अनि गरी खानेलाई बाधा पुग्ने गरी लौ भोली फलानो राजा आउने हुनाले बिदा भनी दिए पुग्ने । विद्यार्थीले पढन नपाउने, व्यापारी तथा उद्यमीलाई अचानक बैंकिङ सुविधाबाट वञ्चित हुनपर्ने आदी–आदी ।’

कृष्ण घिमिरेको टिप्पणी छ, ‘अति भयो, सरकारी अस्पतालसमेत बन्द । तोरी सरकार । +÷–५ लाख युवा निकृष्ट श्रममा, झिनो आयमा । त्यहि मुलुकको प्रमुख आउदैछन् । भेट्ने र कफी खाने तथा जि हजुर गर्नेको लाइन छ । तर ठोस एजेण्डा छलफलमैं छैन । गैरजिम्मेवार ।’

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकारले सार्वजनिक विदा दिएकोमा स्वागत गरेका छन् ।

उनले ट्विट्रमा लेखेका छन्, ‘नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो । त्यसैले हिनताबोध नगरौँ । नवीन समझदारी गरौंँ । नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुर्नस्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गरौँ ।’

राप्रपाकै बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र लेख्छन्, ‘नेपालले आफ्नो भ्रमणमा खुसियाली मनाउन एक दिन छुट्टी नै दिएको देखेर काठमाडौँस्थित कूटनीतिक समुदाय मनमनै कति हाँसिरहेको होला ? कतार राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ । दशौँ लाख नेपालीको प्रत्यक्ष तथा अप्रत्यक्ष जीवन चलाइदिने मुलुकका नरेशलाई नमन ।’

गृहमन्त्रीद्वारा बचाउ

सरकारले सार्वजनिक विदा दिएकोमा जताततै बिरोध भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवम गृहमन्त्री रबि लामेछानेको आठ वर्ष अघिको स्टाटस सामाजिक सञ्जालमा भाइरल भएको छ ।

त्यसबेला लामिछानेले विदेशी राष्ट्रप्रमुख आउँदा सार्वजनिक बिदा दिइएकोमा कडा टिप्पणी गरेका थिए । अहिले आफैं निर्णय गर्ने ठाउँमा छन् । सार्वजनिक विदाको प्रस्ताव गृह मन्त्रालयबाटै मन्त्रीपरिषदमा जान्छ ।

भारतीय राष्ट्रपतिको आगमनमा सरकारले सार्वजनिक विदा दिँदा लामिछानेले लेखेका थिए, ‘खुशी हुनुस, भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक विदा मात्र घोषणा गरेछन् । धन्न ‘बाउको मुख हेर्ने दिन’ घोषणा गरेनछन् ।

२७ अक्टुबर सन् २०१६ मा लेखेको त्यही स्टाटस सामाजिक सञ्जालमा भाइरल बनेपछि लामिछानेले प्रतिक्रिया जनाउन वाध्य भए । उनले हिजोका आफ्ना अभिव्यक्तिको गोताखोरी गरिरहनुनपर्ने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘विगतका कयौं निर्णय र परम्परा छन् । जसलाई नितिगत निर्णय गरि सच्याउनुपर्छ । रिजल्ट आउदैछ । तर विधि नै नफेरीकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न । जे कुरा हिजो गलत भनिएको थियो त्यो आज पनि गलत नै हो, हिजोका अभिव्यक्तिको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकका अभ्यासलाई सच्याउन समय त लाग्छ । धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ । लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनुपर्छ । चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबैप्रति आभार ।’

सार्वजनिक बिदा राम्रो होइन : प्रशासनविद्

प्रशासनविद्ले विदेशी मुलुकको राष्ट्रप्रमुख भ्रमणमा आउँदा सार्वजनिक विदा दिइनुलाई राम्रो निर्णय नभएको प्रतिक्रिया दिएका छन् । पूर्व मुख्यसचिव बिमल कोइराला कुनै पनि कारणले सार्वजनिक विदा थप्ने निर्णय गरिनु उपयुक्त नभएको बताउँछन् ।

उनले भने, ‘कानूनी रुपमा विदेशी राष्ट्र प्रमुख भ्रमणमा आउँदा बिदा दिनुपर्ने भन्ने व्यवस्था छैन । त्यसैले नै मन्त्रिपरिषद् बैठकले पटके निर्णय गरेर बिदा पहिलेदेखि नै दिँदै आएको छ । जुनसुकै कारणले पनि सार्वजनिक विदा दिनु राम्रो होइन ।’

लोक सेवा आयोगका पूर्व अध्यक्ष एवम पूर्व गृहसचिव उमेश मैनालीले राजकीय भ्रमण भएकाले सार्वजनिक विदा दिएको हुनसक्ने बताए ।

उनले नेपाल प्रेससँग भने, ‘यो पहिलेदेखिकै प्रचलनलाई निरन्तरता दिइन खोजियो । व्यवस्था नयाँ भए पनि प्रचलन पुरानै कायम गरियो । कुनै पनि मुलुकले औपचारिक र राजकीय भ्रमण्मा सार्वजनिक विदा दिनु उपयुक्त हो । औपचारिक भ्रमणमा मात्रै पनि दिइदैन । नेपाली युवलाई रोजगारी दिएको मुलुक कतार भएकाले सम्मान गर्नका लागि पनि सार्वजनिक विदा दिइएको हुसनक्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर