नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ: ढकाल – Nepal Press

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरी व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्न महत्त्वपूर्ण रहेको बताएका छन् ।

मङ्गलवार नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको उद्योग वाणिज्य संघबीच भएको भेटवार्तामा अध्यक्ष ढकालले नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी रहेको बताएका हुन् ।

भेटमा ढकालले नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भएदेखि नै द्विपक्षीय व्यापारिक सम्पर्क र अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई अगाडि बढाउने र सहजीकरण गर्दै आएको बताए ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच २०११ जुलाई २५ मा मस्कोमा सहयोग सम्झौतामा हस्ताक्षर गरी औपचारिक सम्बन्ध स्थापना भएको १३ वर्ष पूरा भएको बताए ।

भेटवार्ताले नेपाल र रुसबीचको सम्बन्धलाई थप निरन्तरता दिनुका साथै व्यापार तथा लगानी सम्बन्धलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने अध्यक्ष ढकालको भनाई छ ।

उनले यो साझेदारीले दुवै देशको आर्थिक वृद्धि र विकासका नयाँ बाटो खोल्ने विश्वास व्यक्त गरे ।

यसैबीच ढकालले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको राम्रो वातावरण बनाउन नेपाल सरकारले १२ वटा ऐन नियम परिमार्जन गरेको बताए ।

उनले सरकारले द्विपक्षीय लगानी सम्झौताको रूपरेखा पनि तयार गरिसकेको र यस बहुमूल्य अवसरलाई सदुपयोग गर्न र आपसी हितका लागि आकर्षक क्षेत्रमा लगानी गर्न रुसी व्यवसायीहरूलाई आग्रह गरे ।

त्यस्तै, नेपालमा लगानीका लागि सम्भावित क्षेत्रहरू पर्यटन र पर्यटन पूर्वाधार, कृषि प्रशोधन, जलविद्युत आयोजना तथा पूर्वाधार, आईसीटी, उत्पादनमूलक क्षेत्रहरू रहेको ढकालले बताए ।

अग्रता क्रममा मन्त्रीको पद पाएका रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष सर्गेई काटिरिनले रुसी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।

उनले थप रुसी व्यवसायीलाई नेपालमा लगानीका अवसरबारे जानकारी गराउन पहल गर्ने बताए । उनले रुस ठूलो बजार भएकाले नेपाली व्यवसायीलाई आफ्ना उत्पादन रसिया निर्यात गर्न सहयोग गर्ने बताए ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले रुसी प्रतिनिधिमण्डललाई नेपाल उद्योग वाणिज्य महासंघले नेपालको व्यापारिक वातावरण सुधार गर्न चालेका पहलका बारेमा जानकारी दिए ।

ढकालले आगामी वैशाख १६ र १७ गते हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुने रुसी संघको उद्योग वाणिज्य संघ र रुसी लगानीकर्तालाई धन्यवाद पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर