धरानको खानेपानी पूर्वाधार विकासबारे मन्त्रीसँग छलफल – Nepal Press

धरानको खानेपानी पूर्वाधार विकासबारे मन्त्रीसँग छलफल

काठमाडौं । धरानको खानेपानी समस्यालाई दीर्घकालीन समाधान र भौतिक पूर्वाधार निर्माणलगायतका विषयमा धरानका जनप्रतिनिधि तथा नेकपा एमाले नेताहरुले सम्बन्धित मन्त्रीहरुसँग छलफल गरेका छन् ।

मंगलबार बिहान मन्त्री निवास पुल्चोकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री भगवती चौधरीसँग धरानबाट आएको टोलीले छलफल गरेको हो ।

झापादेखि सुनसरीका विभिन्न स्थानमा निर्माण कार्य रोकिएको मदन भण्डारी राजमार्गको कामलाई सुचारु गर्न, रानी धरान सडक विस्तारको कामलाई तीब्रता दिँदै तरहरा धरान जंगल क्षेत्रको सडक निर्माणका कामलाई गति प्रदान गर्न, डीपीआर भइसकेको धरान लेउती सुरुङ मार्ग बहुद्देश्यीय योजनालाई सञ्चालन गर्न उपप्रधानमन्त्रीसमेत रहेका महासेठसँग छलफल भएको टोलीका सदस्य नेता भीमज्वाला राईले बताए ।

उनका अनुसार धरान विष्णुपादुका आहाले सडक स्तरोन्नति, धरान- १३ को वेस क्याप्पदेखि वडा नम्बर ४ जोड्ने शिवजट्टा सडक निर्माण, धरान- १३ कै गौरामार्ग सडक निर्माण बक्लौरी पञ्चायन धरान- १९ सडक स्तरोन्नति, पानबारी सेउती पुल सडक स्तरोन्नति, चतरा मिलनचोक चियाबारी बराह क्षेत्र सडक निर्माण र बाङ्गे नडाहा जोड्ने रणनीतिक सडक विस्तारलाई निरन्तरताका विषयमा छलफल भएको छ ।

प्रतिनिधिमण्डललाई मन्त्री महासेठले आर्थिक वर्ष २०८१/०८२ को योजनामा समेटिने बताए । तरहरा धरान जङ्गल क्षेत्रको कामका लागि रकम छुट्याइसकिएको र कामले तीब्रता पाउने बताएको राईले जानकारी दिए ।

उनका अनुसार धरानले भोग्दै आएको खानेपानीको समस्याको दीर्घकालीन समाधानका लागि खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग समेत छलफल गरिएको छ । छलफलको क्रममा धरानको खानेपानी समस्यालाई दीर्घकालीन समाधानका लागि आर्थिक वर्ष २०८१/०८२ को योजनामा काम थालनी हुने र यही साउन महिनाबाट प्रक्रिया सुरु हुने मन्त्री राईले बताएका थिए ।

एडीबीको सहयोगमा प्रारम्भ हुने योजनामा नसमेटिने क्षेत्रअन्तर्गत ठिंगाबारी खानेपानी योजना, पानबारी खानेपानी योजना, शिधारा खानेपानी योजना, ढाडेतेलनपुर खानेपानी योजना, देउराली खानेपानी योजना, पट्नाली खानेपानी योजनालाई समेत प्राथमिकतामा राख्न मन्त्री राईसँग छलफल भएको टोलीका सदस्य राईले बताए ।

त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग समेत धरान- १३ मा ज्येष्ठ नागरिक, महिला तथा बालबालिका भवन तथा बालविकास केन्द्रका लागि बजेट विनियोजनका बारेमा छलफल भएको छ । अनुमानित ३० लाख लागतमा बन्ने भवन निर्माणका लागि यसै आर्थिक योजनामा रकम समेट्न मन्त्रीसँग प्रतिनिधि मण्डलले ध्यानाकर्षण गरेको थियो ।

प्रतिनिधि मण्डलमा राईसँगै कोशी प्रदेशसभा सदस्यहरु विजयकुमार राई र रमेशकुमार बस्नेत, प्रतिनिधिसभाका पूर्वसदस्य जयकुमार राई, धरान- १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, नेकपा एमाले सुनसरी जिल्ला सदस्य अनिल राजधामी, युवा संघ नेपाल कोशी प्रदेश सदस्य सिजन राजधामीलगायतका सहभागी थिए ।


प्रतिक्रिया

One thought on “धरानको खानेपानी पूर्वाधार विकासबारे मन्त्रीसँग छलफल

  1. नेता ज्यु हरु जनताको समस्यामा सधै निरन्तर लागि रहनुहोस तपाईं हरु रहेको पार्टिमा जनता गोलबन्ध होइरहने छन। ठिक समयमा समस्याको उठान भयो। मन्त्री ज्युह्रुले यी योजनाहरुलाइ अबस्य आगामी आ.ब. मा समाबेस गरिदिनुहुनेछ भन्ने बिस्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर