भरत थापामाथि भ्रष्टाचार मुद्दाले ‘मेयर’ नरोकिने, निर्देशक खनाल भन्छन्- मेरो लागि विशेष फिल्म हो – Nepal Press

भरत थापामाथि भ्रष्टाचार मुद्दाले ‘मेयर’ नरोकिने, निर्देशक खनाल भन्छन्- मेरो लागि विशेष फिल्म हो

काठमाडौं । बाग्मती नगरपालिकाका मेयर भरत थापामाथि बनिरहेको बायोपिक फिल्म ‘मेयर’ को छायांकन सकिएको छ । सर्लाही र सिन्धुलीमा ५१ दिनमा छायांकन गरेर निर्माण टिम शुक्रवार काठमाडौं फर्कियो ।

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘मेयर’को छायांकन काठमाडौंको मल्ल होटेलबाट सुरु भएको थियो । अधिकांश दृश्य सर्लाहीमा खिचिएका छन् भने केही सिन सिन्धुली र काठमाडौंका छन् ।

यो चलचित्रको छायांकन जारी रहँदा बाग्मतीका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको भन्दै थापालाई ५ करोड ३३ लाख ५३ हजार १८१ रुपैयाँ बिगो दाबीसहित मुद्दा हालेको थियो । जोमाथि बायोपिक बनाउन लागिएको हो, उनै व्यक्ति भ्रष्टाचारमा मुछिएपछि मेयर चलचित्र के हुन्छ भन्ने संशय बढेको थियो । तर, चलचित्रको निर्माण रोकिएन ।

निर्देशक खनालले ‘मेयर’ आफ्ना लागि विशेष रहेको बताएका छन् । सोचेभन्दा पनि कम्फर्ट जोनमा रहेर चलचित्रको छायांकन भएको उनको भनाइ छ ।

चलचित्रको एउटै सिनमा ११ हजारभन्दा धेरैको भिड जम्मा गरेर छायांकन भएको उनले दावी गरे । खनालले भने, ‘मेरो जीवनकै सबैभन्दा ठूलो क्राउडमा यो फिल्ममा खिचेको छु । मेरो मात्रै होइन सम्भवतः यो नेपाली चलचित्रकै इतिहासमा ठूलो क्राउडमा खिचिएको फिल्म हुनुपर्छ ।’

पर्दामा ‘मेयर’ कति भव्य देखिन्छ त्यसले अहिले आफूले भनेको कुरा प्रमाणित गर्ने उनले बताए । खनाल थप्छन्, ‘मैले बनाएको भनेर म दाबी गरिरहेको छैन । यो चलचित्र राजनीतिक सिनेमाको इतिहासमा नेपालमै ट्रनिङ पोइन्ट हुनेछ ।’

चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । जसलाई चलचित्रमा दर्शकले मेयर भरत थापाको भूमिकामा देख्न पाउनेछन् ।

खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *