नेपालमा अझै ४-५ दिन तातो हावा रहने : ‘लू’ सँग लड्न विज्ञले दिए यस्ता ‘क्लू’ (भिडिओ) – Nepal Press

नेपालमा अझै ४-५ दिन तातो हावा रहने : ‘लू’ सँग लड्न विज्ञले दिए यस्ता ‘क्लू’ (भिडिओ)

काठमाडौं । गर्मीसँगै तातो हावा (लू) पनि बढेको छ । अझै ४ देखि ५ दिनसम्म नेपालमा लू रहने विज्ञले बताएका छन् । पश्चिमी वायु सक्रिय भई पानी परेको अवस्थामा भने लू बाहिरिने जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताए ।

आगामी शुक्रबारदेखि हल्का वर्षा हुने सम्भवना भएकाले तातो हावालाई विस्थापित गरी चिसो हुने अवस्था रहेको उनले बताए । अहिले वायुमण्डलीय चाप उच्च रहेको भन्दै उनले वायुमण्डलीय उच्च चापले माथिबाट हावालाई धर्तीमा थिच्ने काम गरिरहेकोले बलियो पश्चिमी वायु र समुन्द्री आँधीले ल्याउने वाष्पीकरणले मात्रै लूको अवस्था घटेर जाने बताए । तीन महिनासम्म तातो हावा आउने/जाने क्रम जारी रहने प्रक्षेपण पनि उनले सुनाए ।

नेपालमा वैशाख, जेठ र असारको महिनासम्म बढी गर्मी हुने र असारदेखि असोजसम्म औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान छ । यो अवस्थालाई सामान्य मौसममा परिवर्तन भएको अवस्थाका रुपमा बुझ्न नहुने उप्रेतीले बताए । उनका अनुसार लामो समयदेखि समुन्द्रमा एल निनो जलवायु चक्रको असर थियो । जसले हिउँदमा वर्षा हुन दिएन । यस्तै ला निना नामको जलवायु चक्रको प्रभाव बढिरहेकाले हिट वेभको अवस्था छ । यी दुवै अवस्था जलवायु परिवर्तनसँग जोडिएको भन्दै उनले यही समयमा गत वर्ष विश्व तापमान वृद्धि १.१ डिग्री रहेकोमा अहिले विश्व तापमान वृद्धि १.२ डिग्री पुगेको बताए ।

जलवायु परिवर्तनसँग विश्लेषण गर्ने दक्षिण कोरियामा अवस्थित एपेक सेन्टरले निकालेको विश्लेषणको आधारमा नेपालमा औषत भन्दा बढी गर्मी हुने अवस्था ९१ प्रतिशत रहेको उनको भनाइ छ ।

के हुन् लू का लक्षण ?

गर्मी मौसममा तातो हावा र बढ्दो तापक्रमका कारण लू लाग्ने खतरा बढी हुन्छ । यदी अचानक शरीरको तापक्रम बढ्यो वा धेरै टाउको दुख्यो भने सावधान हुन जरुरी हुन्छ । यी दुवै लू लागेको लक्षणहरू हुन् । लू ले मिर्गौला, दिमाग र मुटुमा धेरै प्रभाव पार्दछ । जसबाट यी अंगहरूको कार्य क्षमता प्रभावित हुन्छ । लू लागेपछि नाडी र श्वासप्रश्वासको गति तीव्र हुन्छ । छाला रातो हुनुलाई पनि लू को लक्षणका रुपमा लिने गरिन्छ । केही मानिसहरूमा लू का कारण छिटो छिटो पिसाब आउने, शरीर चिलाउने आदि लक्षणहरू देखा पर्दछन् ।

नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने उनको डा. उप्रेतीको सुझाव छ ।

यो वर्ष अधिक गर्मी र अधिक वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्वतयारीको काम अहिलेबाट नै सुरू गर्न सरकारसँग उनको आग्रह छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु विज्ञ डा. उप्रेतीले सरकारले लूबाट बच्नका लागि गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको औंल्याए । राष्ट्रिय रूपमा लू आएको अवस्थामा, अत्यधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? शहर/गाउँ कुन ठाउँलाई बढी प्राथमिकता दिएर योजनाहरू बनाउने भन्नेबारेमा चासो दिनुपर्नेमा उनको जोड छ ।

रोजगारीको क्षेत्रदेखि किसानहरूलाई समेत गर्मीले बढी असर गर्ने भएकाले कस्तो सावधानी अपनाउने र कस्तो योजना बनाएर अघि बढ्ने भन्नेबारेमा सरकार चनाखो हुन जरुरी रहेको उनले बताए । धेरै देशहरुले गर्मीबाट बच्ने रणनीति बनाइसकेको उल्लेख गर्दै डा. उप्रेतीले नेपालले पनि मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असरलाई मध्यनजर गरी हिट एक्सन प्लान बनाउन जरुरी रहेको बताएका छन् ।

तातो हावाले निम्त्याउने समस्यालाई समयमै नबुझे जटिल बन्दै जाने चेतावनी दिँदै उनले स्वास्थ्य आपतकालीन केन्द्रलाई सक्रिय बनाउनुपर्ने आवश्यकता दर्शाएका छन् ।

उप्रेतीले भने, ‘मानव स्वास्थ्यमा हिटको असर के हुन्छ भनेर धेरै वटा देशले हिट एक्सन प्लान इन हेल्थ बनाइसकेका छन् । स्वास्थ्य क्षेत्रमा हिटको प्रभाव भनेर गाइडलाइन बनाएको पाइन्छ । हाम्रोमा भने त्यो गाइडलाइन देखिएन, बनाइएको छैन । गाइडलाइन बनाउन जरुरी छ । आज हामी ४३ डिग्री तापक्रममा छौँ । ४५ वा सो भन्दा बढी तापक्रम दुई वा दुई दिन भन्दा बढी रह्यो भने रेड अलर्टतिर जान्छ । ४७ डिग्रीभन्दा माथि गए त्यो एक्स्ट्रिम हिटको अवस्था हुन्छ । भारतका धेरै जसो भू-भागमा गत साल ४७ डिग्री नाघेको थियो, यस वर्ष पनि नाघ्ने देखिन्छ । नेपालमा पनि त्यो सम्भावना नकार्न सकिँदैन । पहाडमा ३० डिग्री भन्दा बढी भयो भनेपनि त्यो हिट वेभ हो । ठाउँअनुसार थ्रेसहोल्ड हुन्छ । तापक्रम वृद्धि भयो, लू भयो भनेर मात्रै हुँदैन । यसलाई हामीले प्रभावमा आधारित पूर्वसूचनाको रूपमा पनि लैजानुपर्छ ।’

गर्मीबाट बच्न के गर्ने/के नगर्ने ? यस्तो छ विज्ञ उप्रेतीको क्लू

घरमै बस्ने ।

बसेको स्थानमा चिसो अवस्था कायम गर्ने ।

मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म घर, कार्यालय बाहिरि हिँडडुल कम गर्ने, गर्नैपरे, छातालगायतको प्रयोग गरेर मात्रै हिँडडुल गर्ने ।

गर्मीको बढी असर मुटुका बिरामी, बालबालिका, गर्भवती महिलालाई हुने भएकाले सम्बन्धित व्यक्तिहरूले स्वास्थ्यमा ध्यान दिने, सावधानी अपनाउने ।

गर्मीको प्रभाव न्यूनीकरण गर्न स्वास्थ्यचौकीदेखि अस्पतालसम्मको अवस्था नियाल्ने र तयारी अवस्थामा राख्ने ।

स्वास्थ्यकर्मी/स्वास्थ्य स्वयंसेविकाहरूलाई गर्मीबाट बच्ने अवस्थाको बारेमा तालिम दिने ।

खानेकुरामा सावधानी अपनाउनेः जस्तै चिया कफीको ठाउँमा लस्सी, मोही, दही, पुँदिनाको रस, चामल पखालेको (चौलानी) खाने ।

प्रोटिनयुक्त खानेकुरा कम गर्ने/नखाने । जस्तैः दूध, माछा मासु आदि ।

सरकारले के गर्नुपर्छ ?

सरकारले भएका अस्पतालहरूको अवस्था नियालेर गर्मीबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी शतर्क रहन आग्रह गर्नुपर्छ ।

स्थानीय सरकार (७५३ वटै पालिकाहरू) ले पालिकामा रहेका स्वास्थ्य केन्द्रहरुलाई शतर्क रहन आग्रह गर्नुपर्छ ।

क्षेत्रिय अस्पतालहरु पनि सक्रिय बनाउनुपर्छ ।

तीन तहकै स्वास्थ्य केन्द्रहरुले गर्ने कामको सन्दर्भमा स्पष्ट नीतिका साथ अघि बढ्नुपर्छ ।

पूर्व चेतावनीलाई ख्यालख्यालमा लिनु हुँदैन र संवेदनशील हुन जरुरी छ ।

स्वास्थ्य आपत्कालीन केन्द्रलाई सक्रिय बनाउनुपर्छ ।

लू बाट बच्ने घरेलु उपायः

घरबाहिर निस्किँदा छाताको प्रयोग गरौँ ।

घाममा निस्किँदा टाउको छोप्ने कपडाको प्रयोग गरौँ । यसरी पनि लू बाट बच्न सकिन्छ ।

घरबाट बाहिर निस्कनु पर्‍यो भने चिसो पानी र चिसो सर्वत पिएर मात्रै निस्किने बानी बसालौँ ।

गर्मीबाट हिँडेर आउने बित्तिकै तत्काल चिसो पानी नपिउनुस् ।

गर्मी समयमा बारम्बार पानी पिइराख्नुस् । किनभने यसले शरीरमा पानीको मात्रालाई कम हुन दिँदैन ।

पानीमा कागती हालेर र नुन मिसाएर दिनमा तीन पटक जति पानी पिउनुभयो भने पनि लू लाग्नबाट बच्न सकिन्छ ।

गर्मीमा बाहिर जाँदा खाली पेट नहिँड्नुस्, तरकारीको झोल पिउँदा पनि लू बाट बच्न सकिन्छ ।

गर्मीमा कम खाना खाने बानी बसालौँ । खानामा दही अनिवार्य गरौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *