पुनर्निर्माण सुरु भएको १६ वर्षसम्म पनि बनेन् अछामको मंगलसैन दरवार – Nepal Press

पुनर्निर्माण सुरु भएको १६ वर्षसम्म पनि बनेन् अछामको मंगलसैन दरवार

डोटी । सशस्त्र द्वन्द्वको क्रममा बिद्रोही पक्षको आक्रमणबाट ध्वस्त भएको अछामको मंगलसैन दरवार अझै पुनर्निर्माण हुन सकेको छैन ।

२०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) को अछाम जिल्ला सदरमुकाम आक्रमणका क्रममा ध्वस्त भएको ऐतिहासिक मंगलसेन दरबार पुनर्निर्माणको कार्य ठेक्का सम्झौता भएको १५ वर्ष वितिसक्दा समेत पूरा भएको छैन ।

सम्झौता भएको दुई वर्षभित्रै काम सम्पन्न गर्ने भनी २०६५ साल असार २४ गते राजेन्द्र, साउँद, तुल्छीदुर्गा, बडीमालिका र कुवेर गरी पाँच निर्माण कम्पनीले दुई करोड २५ लाख रुपैयाँमा दरबार निर्माणको ठेक्का लिएका थिए ।

काम गर्ने क्रममा निर्माण व्यवसायीहरुबीच कुरा नमिलेपछि राजेन्द्र र साउँद निर्माणले उक्त ठेक्काको काम गरिरहेका छन् । तर पनि उक्त पुनर्निर्माण कार्य अझै पूरा हुन् सकेको छैन।

निर्माण व्यवसायी कम्पनीको लापरवाहीका कारण दरवारको पुनर्निर्माणमा ढिलाई भइरहेको बताउँछन् मंगलसैन नगरपालिकाका प्रमुख पदमवहादुर बोहरा । ‘‘दरवारको पुनर्निर्माण कार्य छिटो हुनु पर्ने माग राख्दै म आफैँ पटक पटक काठमाण्डौं पुगेँ, संघीय सरकारलाई ज्ञापन पत्र समेत बुझायौं’ नगर प्रमुख बोहरा भन्छन् ‘तर जति गरेपनि कुनै काम अगाडि बढदैन ।’

३ वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको तर १६ वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न नहुनु लाजमर्दो कुरा भएको बोहराले बताए ।
निर्माण कम्पनीले काठ नपाएको बहाना बनाएर काममा ढिलाई गरेका छन् । निर्माण व्यवसायीलाई कारवाही गर्ने अधिकार आफूँ नभएको बताउँदै बोहराले भने ‘सम्बन्धित निकायले भौतिक निर्माणमा ढिलाई गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने हो ।’

निर्माण व्यसायीले काठको रकम पनि भुक्तानी नगरेको गुनासो आएको बताए । ‘काठको काम गर्नेहरुले पनि पैसा नपाएको भन्ने गुनासो आएको छ’ उनले भने ‘हामीले काम गर्नु प¥यो भनेर आवाज उठाएपछि एक दुई दिन काम गरे जस्तो गर्छ, फेरी कतिबेला मजदुरहरु जान्छन् पत्तै हुँदैन ।’

२०७९ साल साउनमा स्थानीयबासीहरुले निर्माण व्यवसायी भिमबहादुर साउँदको फोटो सहितको व्यानर बनाएर बिरोध स्वरुप निर्माणधीन दरवारमा टाँस्दै सार्वजनिक प्रश्न गरेका थिए ।

‘भीमबहादुर साउँद ऐतिहासिक अछाम दरबारका ठेकेदार हुन् । ‘यो दरबार अछामी जनताको साझा सम्पदा हो वा यो दरबार ठेकेदार भीम साउँदको हो ? जनता जान्न चाहन्छन् ।’दरवार पुनर्निर्माणको काम छिटो सम्पन्न गर्न आफूले निर्माण व्यवसायीलाई दवाव दिइरहेको बताउँछन् सघन सहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीका प्रमुख मानवहादुर परियार ।

‘पछिल्ल्लो समयमा निर्माण व्यवसायीले काम गर्न सुरु गरेको थियो’ परियार भन्छन् ‘तर नयाँ वर्षमा कामदारहरु बिदामा गएका छन् ।’ उनले लगत्तै काम सुरु हुने दावी गरे ।

कार्यालय प्रमुख परियारले हालसम्म भौतिक प्रगति ६२ प्रतिशत र बित्तीय प्रगति ५३ प्रतिशत भएको जानकारी दिए । २०६७ साल जेठ ३१ गते निर्माण कार्य सम्पन्न भइसक्नु पर्नेमा पटक पटक गरी २०७८ चैत्र ३० गतेसम्म म्याद थप भएको कार्यालय प्रमुख परियार बताउँछन् । त्यसयता न ठेक्का सम्झौता तोडिएको छ, न म्याद थप भएको छ, न कामनै सम्पन्न भएको छ । दरवार निर्माणको ठेक्का सम्झौता रकम भ्याट बाहेक दुइ करोड, २५ लाख, ७३ हजार रहेको छ ।

द्वन्दका कारण क्षति भएको मंगलसैन दरबारलाई पुरानै स्वरूप दिने उद्देश्यले पुनर्निर्माण सुरु भएको थियो । तर, निर्माण व्यवसायीको लापरबाहीले दरबार १६ वर्षसम्म पनि अधुरै छ । पहिले ध्वस्त अछाम दरबारमा जिल्ला प्रशासन, मालपोत, जिल्ला अदालत लगायत कार्यालय सञ्चालनमा थिए । आक्रमणको समयमा दरवारमा जिल्ला प्रशासन कार्यालय मात्र सञ्चालनमा थियो ।

मंगलसैन आक्रमणमा अछामका तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री र राष्ट्रिय अनुसन्धान कार्यालय अधिकृत लोकराज उप्रेतीको ज्यान गएको थियो । घटनामा तत्कालीन शाही नेपाली सेनाका सहसेनानी सहित गुल्ममा कार्यरत ५३ सैनिक, ५९ प्रहरी र आठ सर्वसाधारण गरी एक सय २२ को ज्यान गएको थियो ।

सोही राती साँफेबगरमा भएको आक्रमणमा साँफेवगर विमानस्थल सुरक्षा गार्डका रूपमा कार्यरत २७ जना प्रहरीको ज्यान गएको थियो ।
करीव डेढ सय वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण कार्य सुरु भई दलबहादुर शाहको पालामा निर्माण भएको दरवार २०२९ मा सरकारले अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट खरीद गरेको स्थानीय–बासीहरुको भनाई छ । ३० कोठा रहेको ३ तले दरबार निर्माणको क्रममा मासको गारो प्रयोग गरिएको स्थानीय बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर