विश्वकपअघि नेपालको भय- फास्ट बलरले भेटेनन् लय – Nepal Press

विश्वकपअघि नेपालको भय- फास्ट बलरले भेटेनन् लय

काठमाडौं । करण केसी र सोमपाल कामी वर्तमान नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनीहरुले नेपाली टोलीबाट खेल्न थालेको लगभग १० वर्ष भइसकेको छ ।

राष्ट्रिय टोलीबाट नियमितजसो खेलिरहेका उनीहरु दुवै नेपालको पहिलो रोजाइका फास्ट बलर हुन् । उनीहरुले नेपालको ओपनिङ बलिङ सम्हाल्ने गरेका छन् । तर, प्रदर्शनम कहिल्यै एकरुपता दिन सकेका छैनन् । फलस्वरुप नेपालको फास्ट बलिङ नै सबैभन्दा ठूलो कमजोरी बनिरहेको छ ।

करिब ४० दिनपछि सुरु हुने आईसिसी टी-२० विश्वकपअघि सोमपाल र करण दुवैको प्रदर्शन सन्तोषजनक छैन । पावर प्लेमा उनीहरुले नेपाललाई गतिलो सुरुवात दिलाउन सकिरहेका छैनन् । हालै ओमानमा भएको एसिसि प्रिमियर कप दौरान यी दुवै बलर विकेटका लागि संघर्षरत देखिए । न त उनीहरुको बलिङ उतिसारो किफायति रह्यो ।

सोमपालले सेमिफाइनलमा यूएईविरुद्ध एक विकेट लिनुअघि लगातार पाँच टी-२० अन्तर्राष्ट्रिय खेलमा विकेटविहीन थिए । यो आफैंमा दयनीय रेकर्ड हो । सोमपालले यूएईविरुद्ध तीन ओभरमा २८ रन खर्चिएर एक विकेट हात पारेका थिए ।

गत फेब्रुअरीको अन्तिम सातायता खेलेका १० टी-२० अन्तर्राष्ट्रिय खेलमध्ये ६ वटामा सोमपालले विकेट लिन सकेका छैनन् । बाँकी चार खेलमा जम्मा ६ विकेट लिएका छन् ।

त्यसमध्ये हालै भएको प्रिमियर कपको तेस्रो स्थानका लागि भएको खेलमा उनले हङकङविरुद्ध ३ विकेट हात पारेका थिए । त्यस खेलमा उनले चार ओभरमा ३३ रन खर्चिए । सोमपालले ६५ टी-२० अन्तर्राष्ट्रिय खेलमा ५८ विकेट लिएका छन् भने उनको इकोनोमी ७.१९ रहेको छ ।

अर्का अनुभवी बलर करन केसीले अवस्था पनि फरक छैन ।मार्चको पहिलो सातादेखि खेलेका ९ टी-२० अन्तर्राष्ट्रिय खेलमध्ये ५ वटामा उनले विकेट लिन सकेनन् भने बाँकी ४ वटामा ५ विकेट लिएका छन् । उनले पछिल्ला दुई वटा टी-२० अन्तर्राष्ट्रिय खेलमा विकेट हात पार्न सकेका छैनन् ।

एसीसी प्रिमियर कपको सेमिफाइनल र तेस्रो स्थानका लागि भएको दुवै खेलमा विकेटविहीन हुन पुगेका थिए ।

करण लगातार दुई टी-२० अन्तर्राष्ट्रिय खेलमा विकेटविहिन भएको यो चौथोपटक हो । उनले ६८ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९० विकेट लिएका छन् भने उनको बलिङ इकोनोमी ७.८२ रहेको छ । एसीसी प्रिमियर कपमा उनले ५ खेलमा ३ विकेट लिए भने बलिङ इकोनोमी ६.८४ रह्यो ।

तेस्रो फास्ट बलरका रुपमा टी-२० मा खेलिरहेका अविनाश बोहराले पनि प्रभावित पार्न सकिरहेका छैनन् । उनी धेरैजसो म्याचमा अत्यधिक रन खर्चिरहेका हुन्छन् । एसीसी प्रिमियरमा बोहराले ६ खेलमा सात विकेट लएि ।

तर विश्वकपका लागि सशक्त तयारी गरिरहेको नेपालका फास्ट बलरको पछिल्लो प्रदर्शन चिन्ताको विषय बनेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर