इलाम-२ बाट ज्ञानेन्द्र शाहीको भविष्यवाणी: राप्रपाले ७ हजार भोट कटाउँछ, रास्वपा पाँचौं हुने भयो – Nepal Press

इलाम-२ बाट ज्ञानेन्द्र शाहीको भविष्यवाणी: राप्रपाले ७ हजार भोट कटाउँछ, रास्वपा पाँचौं हुने भयो

‘गृहमन्त्रीले राँकेमा भाषण गर्दा २५ जना थिए, त्यही ठाउँमा मैले बोल्दा एक-डेढ सय मानिस आए’

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो चुनावी कमाण्डर बनाएर पठाएको छ सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई । एक सातादेखि उनी इलाममा खटिएर पार्टीका उम्मेदवार लक्ष्मी गुरुङको पक्षमा भोट मागिरहेका छन् र भाषण गरिरहेका छन् ।

नेपाल प्रेससँग फोन सम्पर्क हुँदा शाही चुलाचुलीतर्फ जाँदै थिए । उनले आफ्नो पार्टीले यस पटकको चुनावमा नसोचेको भोट ल्याउने आँकलन सुनाए । उस्तै परे राप्रपाले चुनावै जित्न पनि सक्ने उनको महत्वाकांक्षी विश्लेषण छ । यद्यपि, अहिलेकै अवस्थामा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै रहेको उनले स्वीकार गरे ।

राप्रपाले अघिल्लो संसदीय चुनावमा मोटामोटी ५०० मात्र भोट ल्याएको थियो । त्यसैले यो उपचुनावमा पनि राप्रपा उम्मेदवारलाई गम्भीर प्रत्याशी ठानिएको छैन । तर, ज्ञानेन्द्र शाही खटिएपछि पार्टी पंक्तिमा केही न केही रक्तसञ्चार भएकै छ । अन्य पार्टीका मानिसहरु पनि उनलाई चाख मानेर सुनिरहेका छन् । आफूले पाइरहेको रेस्पोन्सबाट प्रफुल्ल देखिन्छन् शाही ।

‘इलाममा हाम्रो पार्टी शून्य बराबर थियो, तर अहिले हामीले निकै राम्रो माहोल बनाइसकेका छौं’, उनले भने, ‘पुराना कार्यकर्ताहरु संगठित भए । नयाँ मतदाताहरु उल्लेख्य संख्यामा राप्रपाको एजेन्डामा आकर्षित भइरहेको पाइयो ।’

राप्रपाले ७ देखि १० हजारको बीचमा भोट ल्याउने आँकलन शाहीले गरेका छन् । भोलि चुलाचुलीमा हुने दुइटा कार्यक्रम राम्रो भएको खण्डमा राप्रपाले जित्न पनि सक्ने दाबीसमेत उनले गर्न भ्याए ।

‘चुलाचुलीमा १३ हजार भोट छ । त्यहाँको १० देखि २० प्रतिशत भोटमात्रै तान्यौं भने पनि चुनाव हामीले जित्न सक्छौं’, उनले भने ।

रवि लामिछानेको रास्वपाको भने विजोक देखिएको शाही बताउँछन् ।

‘घन्टीको चर्चा त टेलिभिजन र सामाजिक सञ्जालमा मात्रै हो । यहाँ उनीहरुको विजोक देखियो । घरदैलोमा हिँड्ने कार्यकर्ता पनि काठमाडौंबाट ओसारिरहेका रहेछन् । यहाँ त उनीहरुको संगठन शून्य जस्तै रहेछ’, उनले भने ।

त्यसो त केही दिनदेखि रास्वपा र रवि लामिछानेको कटु आलोचक बनिरहेका छन् ज्ञानेन्द्र शाही । आफ्ना हरेक भाषण र अन्तर्वार्तामा उनी रास्वपामाथि खनिन्छन् । भोट माग्ने क्रममा पनि उनले ‘बरु मुढालाई दिनुस्, तर घन्टीलाई नदिनुस् भनेका थिए ।

तपाईं रास्वपाप्रति यति धेरै पूर्वाग्रही किन हुनुभयो भन्ने प्रश्नमा शाहीले जवाफ दिए, ‘म पूर्वाग्रही किन हुने ? भोलि चुनावको रिजल्टले देखाइहाल्छ नि ? कस्ता मतदाताले घन्टीलाई भोट हाल्छन् भन्नुस् त । पहिचानवादीले मुढामा हालिहाल्छन् । पहिचानविरोधीले कांग्रेस-एमालेलाई हाल्छन् । अब त बाहुन क्षेत्री कसैले पनि घन्टीलाई नहाल्ने भए ?’

– किन र ?

मिलन लिम्बूले हिजो बाहुन/क्षेत्रीलाई भेटे …. भन्दै हिँडेका रहेछन् नि त ! हिजो एउटा कार्यक्रममै उनीमाथि त्यो प्रश्न सोधियो । उनले होइन भन्न सकेनन् । यो थाहा पाएपछि बाहुन-क्षेत्रीले भोट कसरी दिन्छन् ? रास्वपालाई भोट दिन ठीक्क परेकाहरु पनि राप्रपातिर मोडिएका छन् ।

– अनि तपाईंले आफ्नो पार्टीलाई भोट माग्न छोडेर घन्टीलाई भोट नदिनुस् भन्दै हिँड्नुपर्ने अवस्था चाहिँ किन आयो ?

मैले त आफ्नै पार्टीलाई भोट दिनुस् भन्ने हो नि ! त्यसैका लागि त म यहाँ छु । मैले के भनेको थिएँ भने यदि तपाईं राष्ट्रियताको पक्षधर, राजसंस्था र हिन्दू राष्ट्र चाहनुहुन्छ भने राप्रपालाई भोट दिनुस्, होइन भने बरु मुढालाई दिनुस् तर, घन्टीलाई नदिनुस् । कुनै एजेन्डा नभएका र भोटका लागि आफ्नो सिद्धान्त नै बेच्नेलाई किन भोट दिनुहुन्छ भनेको हो । असली पहिचानवादी त मुढा हो नि !

– रास्वपाले त चुनाव नै जित्ने दाबी गरिरहेको छ नि ?

त्यो हावादारी कुरा हो । रास्वपाले नेपालभरिका कार्यकर्ता इलाममा उतारेको छ, तर इलामका कार्यकर्ता छँदै छैनन् । घरदैलो गर्ने मान्छे पनि रहेनछन् बिचरा । दुई जना मान्छे कांग्रेसबाट आएका रहेछन् । तर, उनीहरु पनि घरदैलोमा हिँड्नुको साटो तोसिमा कार्की, स्वर्णिम वाग्लेलाई भात खुवाउने काम गरिरहेका छन् । घरदैलोमा हिँड्नेहरु त सबै बाहिरबाट आएका हुन् ।

म भर्खरै सरकारको गुप्चतर विभागका अधिकारीसँग भेटेर निस्किएको हो । उसले जित्न चाहिँ एमालेले जित्छ भनिरहेको छ । अहिलेसम्म कांग्रेसभन्दा एमाले हजार-१२ सय भोटले अगाडि छ तर, मतदानको दिनसम्म जे पनि हुनसक्छ भन्ने उसको भनाइ थियो । कांग्रेसले आफ्नो आन्तरिक समस्या मिलायो भने कांग्रेसले पनि जित्नसक्छ चुनाव ।

– कस्तो आन्तरिक समस्या छ र ?

उसका कार्यकर्ताहरु धेरै रुष्ट छन् रे ! त्यो मिलायो भने कांग्रेसको सम्भावना बलियो देखिन्छ । अहिलेको चुनावमा १० देखि १२ हजार भोट ल्याउनेले जित्छ ।

– तेस्रो स्थानमा को आउला त ?

तेस्रो स्थानका लागि मुढा र राप्रपाबीच प्रतिस्पर्धा हुने देखियो । रास्वपा पनि पछिपछि थियो, तर हिजो मिलन लिम्बूको त्यो भिडियो आइसकेपछि रास्वपाको कम्तीमा पनि ४ हजार भोट घटेको छ । तर, जे भए पनि मुढा, राप्रपा र घन्टी तेस्रो स्थानको प्रतिस्पर्धामा छन् । हामीले आफ्नो क्याम्पेन अलिकति व्यापक बनाइदियौं भने रास्वपा हामीभन्दा १५ सय, दुई हजार भोटले पछि पर्छ । होइन भने राप्रपाको हाराहारी आउनसक्छ ।

– तपाईंले भने जस्तो राप्रपाले ५०० भोटबाट १० हजार पुर्‍याउने आधार के त ?

जुम्लामा पनि त त्यस्तै थियो । मैले कसरी चुनाव जितें ? जनमत भनेको स्थायी रुपमा कसैको पोल्टामा हुँदैन । जनता गणतन्त्रबाट अघाइसकेका छन् । राजावादी शक्तिलाई भोट दिने मनस्थितिमा छन् । त्यही नै मुख्य आधार हो ।

यदि रास्वपाले सही उम्मेदवार उठाएको भए हामीलाई आउन सक्ने भोट उसलाई जाने रहेछ । यदि डा. महेन्द्र थापालाई टिकट दिएको भए राम्रै सम्भावना रहेछ । तर, उम्मेदवार छनोटमा नै ब्लन्डर गर्‍यो । रास्वपाको विजोक हुनेवाला छ । गृहमन्त्रीको आमसभा हेर्नुस् न । उहाँ राँकेमा जानुभयो र २५ जनाको बीचमा भाषण गरेर फर्किनुभयो । जबकि म त्यही ठाउँमा भाषण गर्दा सय-डेढ सय थिए ।


प्रतिक्रिया

2 thoughts on “इलाम-२ बाट ज्ञानेन्द्र शाहीको भविष्यवाणी: राप्रपाले ७ हजार भोट कटाउँछ, रास्वपा पाँचौं हुने भयो

  1. दलाल आफूलाई भोट माग्दैन अरूलाई नदेउ भन्छ । ज्ञानेन्द्रको नोकरले जानेको के छ र अरू ? लैनचौरको हण्डी खाएको छ । छानबिन गरौं ।

    1. यति गाली गरेर केही फल्दैन केएसपिजी सभ्य भएर समर्थन वा बिरोध गर्नु पर्छ अनि मात्र मानिसको मन जितिन्छ ज्ञानेन्द्रले आफ्नो भोट मग्नुसट्टा अरुको बिरोध गर्नु राम्रो भएन भन्ने कुरा सभ्य भाषामा राखेको भए वहाँ भन्दा तपाई स्तरीय देखिनु हुन्थ्यो कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर