चियापानदेखि हीरक जयन्तीसम्म माधव नेपालको बहिष्कार- एमाले विभाजनको बिगो कि व्यक्तिगत इगो ? – Nepal Press

चियापानदेखि हीरक जयन्तीसम्म माधव नेपालको बहिष्कार- एमाले विभाजनको बिगो कि व्यक्तिगत इगो ?

काठमाडौं । नेकपा विभाजनपछि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बन्धमा सुधार आएको छ । कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि ओली र प्रचण्ड अहिलेको सहकार्यलाई कुनै बिन्दुमा पुर्‍याएर पार्टी एउटै बनाउने तहसम्म सहमत देखिन्छन् ।

तर, प्रचण्डसँग बिग्रिएको सम्बन्ध सुधार गरेर ओलीले पुनः सहकार्यको थाल्दा एमालेबाट अगल भएको नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल भने अझै बिच्किरहेका छन् । उनले प्रचण्डकै सामुन्ने पनि आफूलाई वर्तमान गठबन्धन सहज नभएको बताएका छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा एमालेले सोमबार हीरक महोत्सव मनायो । समारोहमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख वक्ताको रूपमा उपस्थित थिए ।

समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसमेत उपस्थित भए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गरिएको कार्यक्रमलाई नेकपा एसका अध्यक्ष नेपालले भने बहिष्कार गरे । कुनै बेला एमालेकै महासचिव रहेका नेपालले एमालेको कार्यक्रम बहिष्कार गर्नुलाई सामान्य अर्थमा लिन सकिँदैन । यसलाई ओली र नेपालको सम्बन्धमा अझै विश्वासको वातावरण बन्न नसकेको कडी भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

एमालेका सचिव योगेश भट्टराई आफूहरूले नेपाल निवासमै पुगेर कार्यक्रमको निमन्त्रणा दिए पनि नआएको बताउँछन् । उनले भने, ‘उहाँको घरमै पुगेर निमन्त्रणा दिएका थियौं । अब उहाँ किन आउनुभएन भन्ने कुरा हामीलाई थाहा हुने कुरा पनि भएन ।’

तर, नेकपा एसका केन्द्रीय सदस्य मोहन गौतम भने अध्यक्ष नेपालको कार्यक्रम बाहिर तय भइसकेकाले नगएको दाबी गर्छन् । उनले भने, ‘अन्य कुनै कारणले उहाँ आजको कार्यक्रममा नजानुभएको होइन । निम्तो घरै आएको थियो । तर, आज उहाँको कार्यक्रम काभ्रेमा तय भइसकेको थियो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले आफूहरूबीच एकअर्काप्रति आशंकाका बीच विश्वासको वातावरण रहेको प्रष्ट्याउन खोजे । तर, एमालेका पूर्वमहासचिव मदन भण्डारीकी श्रीमती एवं पूर्वराष्ट्रपति विद्या भण्डारीले कम्युनिष्ट विभाजन विचार र सिद्धान्तले कि पदीय आकांक्षाले भन्दै प्रश्न गरेकी थिइन् ।

नेकपा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपाल गएको भए राम्रो सन्देश जाने वरिष्ठ पत्रकार तथा विश्लेषक किशोर श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘कुनै पनि तुष सबैले नराखेर यस्तो जमघटमा सामेल हुँदा राम्रो हुन्छ । तर, पाहुना बोलाइसकेपछि उहाँहरूकै अगाडि कसैले गालीगलौजको भाषा प्रयोग नगरेको भए पनि हुुन्थ्यो । यस्तो समारोह भनेको खुशियाली मनाउन हो । यस्तो समारोहमा आयोजकले पनि पाहुनाको मन दुख्नेगरी घोचपेच नगरे हुन्थ्यो ।’

व्यक्तिगत इगो दुवैतर्फका नेताहरूसँग भएको भन्दै उनले त्यसलाई त्यागेर दुवैतिर मिलाएर जानुपर्ने औंल्याए ।

नयाँ सत्ता समीकरणमा माधव नेपाल पनि सहभागी छन् । तर, उनले प्रचण्ड र ओली मिलेर अझै आफूलाई हेपेको महसुस गर्न छाडेका छैनन् । जुन कुरा उनका पछिल्ला अभिव्यक्तिले पनि पुष्टि गर्छ । प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर ओलीसँग काँध मिलाएदेखि नै नेपाल सन्तुष्ट छैनन् ।

अहिले एमालेको नेतृत्वमा बनेको गठबन्धन टिक्नेमा नेता नेपालको आशंका छ । आफूहरूमाथि अपमान भएको भन्दै नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा उनले अझै परिस्थिति जटिल रहेको बताउन भ्याए ।

नेपालले भनेका थिए, ‘गठबन्धन कहिले ओल्टो कहिले पोल्टो भइरहेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन । हामीले सहज मानिरहेका छैनौं । सहज अवस्था अनुभूत गरिरहेका छैनौं, हामी कसैको धाकधम्की, गालीगलौज सहन जन्मेका होइनौं । दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौं ।’

एमाले विभाजन गरेको औचित्य पूरा गर्न नसकेको आरोप लागिरहेको बेलामा अझै पनि नेपालले ओलीसँगको सहकार्यलाई सहज ठानेका छैनन् । माधव नेपाल पनि आफ्नो अस्तित्व रक्षा गर्दै महत्वाकांक्षालाई लिएर पछिल्लो समय सम्बन्ध बनाएको राजनीतिक विश्लेषक रोशनराज जनकपुरीको विश्लेषण छ ।

उनी भन्छन्, ‘अहिले कसैको सहयोगविना पार्टी विभाजनको औचित्य पुष्टि गर्दै एमालेसँगको प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । त्यसैले अहिले प्रचण्ड ओलीसँग मिलेपछि नयाँ समीकरणमा मिसिनु उहाँको बाध्यता हो ।’

प्रचण्डले आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेसँग सहकार्य अघि बढाउँदा गत निर्वाचनमा गठबन्धनको बलमा पनि राष्ट्रिय पार्टी बनाउन नसकेका नेपाल यही संसदको कार्यकालमा प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसका लागि ओलीसँँगको गठबन्धन उनका लागि सहयोगी नबन्ने भएकाले पनि नेपाल बेचैन छन् ।

उनलाई अहिले पार्टीमा नेता कार्यकर्ता जोगाउन नै चुनौती छ । सम्मानित नेता खनाल, महासचिव घनश्याम भुसाल एमालेसँगको सहकार्यमा विश्वासको वातावरण बनाउँदै अघि बढ्नुपर्ने पक्षमा छन् । उनीमाथि कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउन भूराजनीतिक दबाब पनि उत्तिकै छ । कांग्रेसले वैकल्पिक गठबन्धनमार्फत प्रधानमन्त्रीको ललीपप देखाएपछि नेपालले नयाँ समीकरणमा थप शक्तिसाथ बार्गेनिङ कसिरहेका छन् ।

यद्यपि, नयाँ समीकरणमा माधवले अपेक्षाभन्दा ठूलो बार्गेनिङ राखेको भन्दै ओलीले घोचपेच गर्न छाडेका छैनन् । तर, ओलीले विभाजनपछि पनि नेपालसँग सम्बन्ध सुधारको प्रयास नगरेका भने होइनन्, विभाजनपछि ओलीले फोन गरेरै नेपाललाई जन्मदिनको शुभकामना दिएका थिए ।

नयाँ समीकरण बनेपछि पनि ओली नेपाल निवासमै पनि गए । तर, नेपाल बालकोट गएका छैनन् । उनले पार्टी विभाजनअघि मेरियट होटल र क्याप्टेन रामेश्वर थापाको घरमा ओलीसँग वार्ता गरेका थिए । नयाँ समीकरण बनेपछि फागुन २५ मा लामो समयपछि होटल बसेरामा दुई नेताबीच छलफल भएको थियो ।

नेपालले पार्टी विभाजन गर्नैपर्ने बाध्यता के थियो ? अहिलेसम्म प्रस्ट भइसकेको छैन । किनभने उनी निकटका ९० प्रतिशत नेता कार्यकर्ता १० बुँदेमार्फत एमालेमै बसे, तर उनले पार्टी फुटाए । त्यो विभाजन नेपालको व्यक्तिगत अपमानका कारणमात्र थियो वा आन्तरिक र बाह्य शक्तिको कारण ? यसमा धेरै कुरा अन्तरनिहित छ ।

एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा भन्छन्, ‘माधव नेपालमा एमाले विभाजन गरेर हिँडेको पश्चाताप हुनुपर्छ । आफैंलाई लाज लागेर कुण्ठाले पनि उहाँलाई एमालेको मञ्चमा उभिन संकोच भएको होला ।’

नेकपाको हिरक महोत्सवमा मात्रै होइन, एमालेले पार्टीगत अस्तित्वको मान्यता दिएर कात्तिक १५ गते बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आयोजित चियापन कार्यक्रम पनि नेपालले बहिष्कार गरेका थिए । त्यसबेला झलनाथ खनालदेखि रामकुमारी झाँक्रीसहित नेकपा एसका अधिकांश नेता चियापानमा सहभागी भएका थिए ।

कतिपय एमाले नेताले पार्टी विभाजन गरेर कांग्रेसको सेवा गरेको बिगोका कारण लाजले नगएको दाबी गर्छन् ।

एमालेका नेताहरू भन्ने गर्छन्, ‘अहिलेको सहकार्यमा उहाँ सन्तुष्ट नभएको पछिल्ला अभिव्यक्तिले पुष्टि गरेको छ । उहाँ पार्टी विभाजन गरेर कांग्रेसको सेवा गरेको बिगोका कारणले अहिले एमालेको कार्यक्रममा आउन नसक्नुभएको छ । सधैं मान खोज्ने उहाँमा कहीँ न कहीँ इगो पनि छ ।’


प्रतिक्रिया

4 thoughts on “चियापानदेखि हीरक जयन्तीसम्म माधव नेपालको बहिष्कार- एमाले विभाजनको बिगो कि व्यक्तिगत इगो ?

  1. पार्टी छाडेर गएका माधव नेपाल पुरानो पार्टीले आयोजना गरेको कार्यक्रममा आएनन भनेर दुख मनाउनु भन्दा एमाले भित्रै रहेका डा. भिम रावललाई कार्यक्रममा किन वोलाईन यतातर्फ एमालेका नेता कार्यकर्ताको ध्यान जानु जरुरी छ ।

  2. पार्टी बिग्रहका सुत्रधार नआएको बेस

  3. मनमा इगो छउन्जेल नमिल्नु राम्रो । भित्र दाग हुंदा सम्म वाहिर मात्र सावुन लाउदैमा दाग सफा हुने हैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर