चित्रबहादुर केसीकाे आराेप- अमेरिकाले संसदमा पार्टी खोल्यो – Nepal Press

चित्रबहादुर केसीकाे आराेप- अमेरिकाले संसदमा पार्टी खोल्यो

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरुको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको आरोप लगाएका छन् । सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरबाट देश कंगाल भैसकेको उनको दाबी थियो ।

नेकपाको ७६ औं स्थापना दिवसको अवसरका नेकपा मसाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै केसीले भने, ‘सहकारी ठगी, भ्रष्टाचारीहरु र दोहोरा नागरिकता भएकाहरुको सहभागितामा बनेको सरकारले देशलाई निकास दिन सक्दैन ।’

सत्तामा गएकाहरु साम्राज्यवादीको एजेण्डा बोकेर देशलाई लुटेको आरोप लगाउँदै संसदमा साम्राज्यवादी पसेको बताए । उनले भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउंदै अमेरिकाले संसदमा पार्टी खोलिसकेको दाबी गरे ।

लेनिनवादी सिद्वान्त छोडेकाहरु कम्युनिष्ट हुन नसक्ने बताउँदै कम्युनिष्ट सिद्वान्त छोडेर कम्युनिष्टको नाममा भ्रम छर्नेहरुसंग सचेत हुनुपर्ने र कम्युनिष्टको आधारभूत सिद्वान्त नै छोडेकाहरुसंग एकता हुन नसक्ने बताए । आधारभूत रुपमा कम्युनिष्टको सिद्वान्त र आचारणमा रहेकाहरुसंग एकताका लागि सधै एकताको ढोका खुल्ला रहेको अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ ।

उनले कम्युनिष्ट आन्दोलन अवसरवादको दलदलमा पतन भएको उल्लेख गर्दै देशमा कम्युनिष्ट जनमत धेरै भएपनि क्रान्तिकारी धार नभएकाहरुको भीड रहेको बताए । राष्ट्रिय जनमोर्चाका सल्लाहाकार बद्रे आलमले नेकपा स्थापनाको उद्देश्य पूरा नभएको बताउँंदै कम्युनिष्टको नाममा गैरकम्युनिष्ट गतिविधि गर्नेहरुबाट कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले विचार र कार्यदिशाको समस्याले कम्युनिष्टमा विभाजन आएको बताउँदै कम्युनिष्टहरुमा आएको विभाजनले समस्या थपेको जनाए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य शरद ओली, नेकपा माओवादी केन्द्र रुपन्देही अध्यक्ष निर्मल जीसी, वामपन्थी नेता दुर्गानाथ खरेल, तेजप्रसाद कंडेल, लिलाबहादुर केसी, ऋषिराम भुसाल, माक्र्सवादी विचार मञ्चका सचिव विनबहादुर कुंवरलगायतले देशमा कम्युनिष्टहरुको जनाधार बलियो भएपनि कम्युनिष्ट आन्दोलन कमजोर हुंँदा साम्राज्यवादी शक्ति हावी भएको बताए ।


प्रतिक्रिया

2 thoughts on “चित्रबहादुर केसीकाे आराेप- अमेरिकाले संसदमा पार्टी खोल्यो

  1. यो देश बिगार्ने नै कम्युनिष्टका नामका यिनै दलालले हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर