उपनिर्वाचनमा धाँधली भएमा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिनसक्ने – Nepal Press

उपनिर्वाचनमा धाँधली भएमा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिनसक्ने

बुधवार राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते शनिवारका लागि तय भएको उपनिर्वाचनमा धाँधली भएमा नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले कुनै आदेश वा निर्णय कुर्नु नपर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले उपनिर्वाचनको दिन मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाको प्रतिकुल हुने गरी कुनै पनि कार्य हुन नदिन र कहीँ कतैबाट भए गरेमा थप आदेश लिनु नपर्ने गरी प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने र त्यसको जानकारी निर्वाचन आयोगका गराउनुपर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता राजदत्त पाण्डेयले जानकारी दिए ।

उनका अनुसार कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था आउन नदिन मुख्य निर्वाचन अधिकृतमार्फत, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई र जिल्ला सुरक्षा समितिमार्फत मतदान केन्द्र तथा घुम्ती टोलीमा खटिने सुरक्षाकर्मीलाई निर्देशन दिन गृह मन्त्रालयमार्फत लेखि पठाउने निर्णय भएको छ ।

इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर दुई र बझाङ जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर एको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर एकमा उपनिर्वाचनको दिन सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनको आवागमनको उपयुक्त व्यवस्था मिलाउन पनि आयोगले गृह मन्त्रालयमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिने निर्णय गरेको छ ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ को उपदफा पाँच तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम मतदान हुने दिन वैशाख १५ गतेको अघिल्लो ४८ घण्टा अर्थात् वैशाख १२ गते बुधवार राती १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य गर्न नदिनका लागि पनि गृह मन्त्रालयलाई नै सम्बन्धित निकायलाई निर्देशन दिन लगाउने निर्णय गरेको छ ।

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा अनधिकृत एवम् शङ्कास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने, सूक्ष्म ढंगले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतामा आँच आउने कुनै कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शंका लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारबाही सुरु गर्न पनि निर्देशन दिने निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *