‘बलिदान’मा दिव्य देव अनुबन्धित – Nepal Press

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौं। आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन्। शनिवार औपचारिक सम्झौता गर्दै उनलाई यस चलचित्रमा भित्राइएको हो।

चलचित्रका प्रमुख भूमिकाहरू मध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सन्तोष सेनले बताए। ‘अभिनयमा पारङ्गत दिव्यजीलाई हामीले पहिले देखि नै नजरमा राखेका थियौँ तर औपचारिक रूपमा भने चलचित्रको विषयमा कुराकानी गर्न पाएका थिएनौँ ।

बलिदानको एक प्रमुख पात्रको लागि उहाँ एकदमै सुहाउँदो कलाकार हुनुहुन्छ’ निर्देशक सेनले भने, ‘यस चलचित्रमा हामीले सबै उत्कृष्ट कलाकारहरूलाई अभिनय गराउँदै छौँ। चलचित्रमा नयाँ भित्रिनुभएका कलाकारहरू पनि पहिले नै पोख्त भइसक्नुभएको छ ।’

नाट्यकर्म र चलचित्र अभिनयलाई सँगसँगै हिँडाइरहेका दिव्यले ‘चिसो एस्ट्रे’, ‘हिजो आजका कुरा’, ‘दि सेक्रेट्स अफ राधा’, ‘महाजात्रा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् भने उनको चलचित्र ‘रुदाने’ भने रिलिज भएको छैन। उनले हालै मात्र ‘मेयर’ चलचित्रमा पनि अभिनय गरेका छन्।

उनले अभिनय गरेको पछिल्लो नाटक ‘एउटा सपनाको अवसान’, ‘ट्रान्जिट’ लगायत चर्चित छन्। उनले ‘लुक ब्याक इन एङ्गर’, ‘अन्ना इन द ट्रपिक्स’, ‘मिड समर नाइट्स ड्रिम’ लगायतका करिब दुई दर्जन अङ्ग्रेजी नाटकहरूमा पनि अभिनय गरिसकेका छन्।

दिव्यले ‘बलिदान’को टिमसँग जोडिन पाउँदा खुसी रहेको बताए। गत वर्ष नै रिलिज भएको यसको टिजरमा आवाज दिएका उनले निर्देशक सेनले त्यही बेला नै सँगै काम गर्ने प्रस्ताव गरेको सुनाए।

‘टिजरको समयमा नै उहाँले काम गर्नु पर्छ है भन्नु भएको थियो । मैले पर्खिरहेको थिएँ’, उनले भने, ‘केही दिन अघि उहाँले बोलाउनुभयो र एउटा महत्त्वपूर्ण भूमिकामा काम गर्ने सहमति भयो । भव्यताका साथ चलचित्र बनाउने आँट भएको मेकरसँग काममा जोडिन पाउँदा खुसी लागेको छ ।’

‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन्। यस चलचित्रमा यसअघि अभिनेता द्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भइसकेका छन्।

सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भइसकेको छ। यसै वर्ष रिलिज हुने ‘बलिदान’को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ। चलचित्रको छायांकन करिब ६० प्रतिशत स्टुडियोमा नै हुँदैछ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताए। आसुसेन फिल्मस् प्रा।ली। तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *