पुजार सार्कीको ‘दर्शन गरेँ’ गीतमाथि ‘कपि-पेस्ट’ को आरोप (भिडिओ) – Nepal Press

पुजार सार्कीको ‘दर्शन गरेँ’ गीतमाथि ‘कपि-पेस्ट’ को आरोप (भिडिओ)

भुसालको स्वीकारोक्ति- संगीतकारमा नाम राख्नु मेरो गल्ती हो

काठमाडौं । आउँदो जेठ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ’ कपिराइट विवादमा तानिएको छ ।

एक वर्षअघि युट्युबमा सार्वजनिक भएको कौरा गीत ‘सोल्टिनीको सिरैमा चन्द्रमा’ बोलको गीतको भाकासँग हुबहु मिलेपछि विवाद उब्जिएको हो ।

‘सोल्टिनीको शिरैमा चन्द्रमा’ का संगीतकार करणराज कार्कीले ‘दर्शन गरेँ’ गीतका संगीतकार सुवास भुसाललाई आफ्नो संगीत ‘कपी पेस्ट’ गरेको आरोप लगाएका छन् ।

उनले नेपाल प्रेससँग भने, ‘मेरो गीत अलि राम्रो भ्यूज गएकाले सायद उहाँ प्रभावित पनि हुनुभएको हनसक्ला । तर, ९०/९५ प्रतिशत मेरो गीत उहाँले कपी–पेस्ट गर्नुभयो ।’

तर, संगीतकार भुसाल भने लोकगीत आफूहरू जन्मनुभन्दा अगाडिदेखि नै समाजमा रहेकाले कपीपेस्ट भन्ने सवालै नहुने तर्क गर्छन् ।

उनले भने, ‘लोक गीत न मैले बनाएको हो, न उहाँले बनाएको हो । कौरा भनेको गुरुङ, मगर समुदायको गीत हो । त्यो समुदायले कुनै कुरा उठाउनुभएको छैन । मैले त झनै मौलिक गीतलाई मूलधारको फिल्ममा राख्ने आँट गरेको हो । बरु उहाँहरू यसबाट खुसी हुनुपर्ने हो ।’

भुसालले भनेजस्तै लोक भाकाका गीतहरूमा सामान्यतया कपि राइट लाग्दैन । तर, कुनै चलनचल्तीको भाकामा नयाँ शब्द खिपेर गीत बनाइएको अवस्थामा आफूलाई ‘संगीतकार’ दाबी गर्न पनि नमिल्ने हो । पुजार सार्कीको गीतमा भने संगीतकार भनेर बकाइदा भुसालको नाम उल्लेख गरिएको छ ।

यस विषयमा गल्ती स्वीकार्दै उनले भने, ‘सबैले लोकगीतमा संगीतकार भनेर लेख्ने ट्रेण्ड आएकाले मैले पनि लेखेँ । संगीतकार भनेर लेख्नु मेरो गल्ती हो । लोक गीतको त संकलन हुन्छ । मैले पनि लय संयोजन भनेर राख्नुपर्ने हो । यदि उहाँले पनि संयोजन भनेर लेख्नुहुन्छ भने म पनि संगीतकारबाट नाम हटाउँछु ।’

कार्की भने गीत मौलिक भए पनि ‘ट्युन’ संगीतकारको हुने भएकाले जसको कन्टेन्ट हो, उसैले क्रेडिट पाउनुपर्ने बताउँछन् । परापूर्वकालदेखिको भाका भए पनि त्यही फ्रेममा बसेर नयाँ सृजना गरिने भएकाले यसमा कपी राइटको हक आकर्षित हुने उनको भनाइ छ ।

संगीतकारबाट नाम हटाउनुपर्ने भुसालको प्रस्तावमा कार्कीले भने, ‘लोकगीतमा ठूल्ठूला संगीतज्ञ जोडिनुभएको छ । लोकगीत भन्नसाथ सबै संकलन हो भनेर भन्न कहाँ मिल्छ ? लोकगीत भन्दै आफ्नो नाम राख्दै जाने हो भने त खेमराज गुरुङको ‘वारी जमुना पारी जमुना’को ट्युनमा अर्कै गीत ल्याए भइहाल्यो नि । तर, त्यसो गर्न मिल्दैन ।’

अहिले आफ्नो गीत ९० प्रतिशतभन्दा बढी कपी भएकाले यस विषयमा भुसालसँग बसेरै समझदारीमा विवाद सल्टाउने मनस्थितिमा आफू रहेको कार्कीले बताए । यदि त्यहाँबाट पनि समाधान निस्किएन भने संघ संस्थाहरू गुहार्ने उनले बताए ।

कार्कीले भने, ‘२५ वर्ष भयो संगीतमा लागेको । हामीले नामै मात्र त हो कमाउने । त्यही नाममा असर परेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *