महिलाकाण्डमा मुछिएका पालिका अध्यक्ष ‘व्यवस्थापक’ बनेपछि प्रेस सेन्टरको बैठक विवादित – Nepal Press

महिलाकाण्डमा मुछिएका पालिका अध्यक्ष ‘व्यवस्थापक’ बनेपछि प्रेस सेन्टरको बैठक विवादित

प्रेस सेन्टरकी माओवादी इन्चार्ज विशंखेसहित प्रदेशका जिम्मेवार नेताहरू अनुपस्थित

सिन्धुली । सत्तारुढ दल माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टर नेपालको बागमती प्रदेश कमिटी बैठक विवादित बनेकाे छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा बसेको बैठकमा सिन्धुली माओवादीका जिम्मेवार नेताहरू अनुपस्थित रहे ।

कार्यक्रमको प्रमुख अतिथि थिए, माओवादीका सांसद राजन दाहाल । सिन्धुली माओवादीको कुनै पनि जिम्मेवारीमा नरहेका दाहालकै योजनामा प्रेस सेन्टरको बैठकको व्यवस्थापन गर्ने जिम्मा विवादित गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबालाई दिइएको थियो । वाइबाले एक महिलालाई बिचल्ली बनाएको विषयमा छानबिन गर्न बागमती प्रदेश कमिटीले समिति नै बनाएर प्रक्रिया अगाडि बढाएका बेला त्यसलाई प्रभावित पार्ने गरी प्रेस सेन्टर नेपालको बैठक आयोजना गरिएको आरोप छ ।

सो बैठकमा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज वसन्त माझी, जिल्ला संयोजक पानीराज बम्जन, जिल्ला सेक्रेटरी विनोद बिक एवम् सो पार्टीका पालिका कमिटी अध्यक्ष एवम् सचिव सहभागी थिएनन् । गाउँपालिका सभा हलमा भएको बैठकको सम्पूर्ण खर्च पनि पालिकाबाटै व्यहोरिएको सहभागी एक सदस्यले बताए ।

‘पार्टींले अनुशासनको कारबाही गर्नुपर्ने व्यक्तिलाई काखी च्यापेर गरिएको प्रेस सेन्टरको बैठकमा उपस्थित हुँदा आम नेता–कार्यकर्तामा राम्रो सन्देश दिँदैन भनेरै हामी गएनौँ,’ सिन्धुलीका एक माओवादी नेताले भने ।

प्रेस सेन्टरको बैठकलाई सम्बोधन गरेका पालिका अध्यक्ष वाइबाले आफूलाई एमाले लगायतका मिडियाहरूले खेदेको र आफ्नैले पनि सहयोग नगरेको गुनासो गरे । आफूलाई यो संकटबाट बचाइदिन र सकारात्मक सञ्चार प्रवाह गराउन उनले पटक–पटक आग्रह गरेका थिए ।

प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल) विशेष अतिथिका रूपमा उपस्थित भएको बैठकमा ६ जिल्लाका अध्यक्ष एवम् सचिव उपस्थित थिएनन् । पार्टीको तर्फबाट प्रेस सेन्टर इन्चार्ज रहेकी माओवादी नेतृ अञ्जना विशंखे पनि बैठकमा उपस्थित भइनन् । उनको अनुपस्थितिको कारण पनि पार्टीले थालेको छानबिनलाई प्रभावित बनाएर सिन्धुलीका माओवादी नेता कार्यकर्तालाई कमजोर बनाउन खोजिएको भन्ने नै थियो ।

प्रेस सेन्टरको ३५ सदस्यीय बागमती प्रदेश कमिटीको बैठकमा १२ जना मात्रै उपस्थित रहेको सहभागीहरूले जानकारी दिए । बैठकले सिन्धुली इन्चार्जमा मीनकुमार दाहाललाई तोकेको छ ।

के हो वज्रध्वजको विवाद ?

पालिका अध्यक्ष वज्रध्वजले आफ्नी श्रीमतीलाई भगाएको भन्दै सर्लाहीको बाग्मती नगरपालिका–४ बस्ने भीमबहादुर मोक्तानले गाउँपालिकाकै न्यायिक समितिमा निवेदन दिएका थिए । आफू विदेशमा दुख गरेर पठाएको सबै पैसा र सम्पत्ति पनि दुई जनाले खाइदिएको उनको आरोप छ ।

वज्रध्वज विवाहित हुँदाहुँदै भीमबहादुरकी पत्नी संगीतासँग सल्किएका थिए । भीमबहादुर विदेशबाट फर्कँदा पत्नीले छोरीलाई होस्टलमा छोडेर वज्रध्वजसँग भागेको उनले उजुरीमा बताएका छन् । यद्यपि, वज्रध्वजले संगीतालाई बिहे गरेका छैनन् । उनी संगीतालाई अपनाउने पक्षमा पनि छैनन् । बरु उनले कोरिया पठाइदिने भनेर उनलाई थामथुम पारिरहेको बुझिएको छ ।

(*प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटा जुगलले नेपाल प्रेसमा सम्पर्क गर्दै समाचार आधारहीन रहेकाे दावी गरेका छन् । गाउँपालिकाको हलमा कार्यक्रम गरिएको भए पनि गाउँपालिका अध्यक्षले अरु कुनै पनि भूमिका नखेलेको उनको भनाइ छ । साथै, उनले प्रेस सेन्टरकी इन्चार्ज  अञ्जना विशंखे र माओवादीका प्रदेश नेताहरुलाई नबोलाइएको समेत बताए ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर