विद्युत प्राधिकरणको चार्जिङ स्टेसनमा निरन्तर समस्या ! ईभी चालकले भाेग्नुपर्छ तनाव – Nepal Press

विद्युत प्राधिकरणको चार्जिङ स्टेसनमा निरन्तर समस्या ! ईभी चालकले भाेग्नुपर्छ तनाव

काठमाडौं । नेपालमा विद्युतीय गाडी (ईभी)का प्रयोगकर्ताहरु दिन प्रतिदिन बढिरहेका छन् । नेपालमा बीवाईडी, हुन्डाइ, सीजी, टाटा र एमजीलगायतको ईभीको प्रयोग बढिरहेको छ । तर, चार्जिङ स्टेसन पर्याप्त नहुँदा ईभीका प्रयोगकर्ताहरु समस्यामा छन् ।

नेपालमा विद्युतीय गाडी प्रयोगको अनुपातमा चार्जिङ स्टेसनको संख्या कम रहेको छ । हाल नेपाल विद्युत प्राधिकरणले ५१ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रले करिब ३५० वटा चार्जिङ स्टेसन सञ्चालन गरेको छ । तर, सानाठूला गरेर करिब १५ हजार ईभी रहेको अनुमान छ ।

भएका चार्जिङ स्टेशनमा पनि आवश्यक पर्दा समस्या आउने गर्दा आफूहरु तनाव लिएर हिँड्न बाध्य भएका प्रयोगकर्ताहरु बताउँछन् । विशेष गरेर नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेसनमा समस्या आइरहने गरेकाे उनीहरुको गुनासो छ ।

प्राधिकरणका अनुसार पनि केही दिन पहिले पोखराको मालेपाटन, नारायणघाट र मुग्लिनस्थित चार्जिङ स्टेसनमा समस्या आएको थियो । चार्जिङ स्टेशन बिग्रिएकाले गाडी चार्ज नगरी तनाव लिएर फर्कनुपरेको ईभी प्रयोगकर्ता रमेश थापा बताउँछन् ।

चार्जिङ स्टेशनमा समस्या हुँदा लामो यात्रा गर्दा गाडी चार्ज गर्न नपाएर तनाव भोग्नुपरेको उनको भनाइ छ ।

‘विद्युत प्राधिकरणको चार्जिङ स्टेसनको चार्जरबाट करिब ४५ मिनेटमा फुल चार्ज हुन्छ’, थापाले भने, ‘घरमा चार्ज गर्दा फुल चार्ज हुन करिब ५ घण्टा समय लाग्छ । त्यसैले अधिकांश समय प्राधिकरणको चार्जिङ स्टेशन पुग्छु । तर, चार्जर बिग्रिएको छ भनेपछि विनाचार्ज तनाव लिएर फर्कनुपर्ने बाध्यता छ ।’

विद्युत प्राधिकरणका चार्जिङ स्टेसन हेर्ने इन्जिनियर सागर ज्ञवालीले चार्जिङ स्टेसन चाैबीसै घन्टा सञ्चालन हुने भएकाले कहिलेकाहीं समस्या आइरहने बताए ।

उनका अनुसार पोखराको मालेपाटन र मुग्लिनको फास्ट चार्जिङ स्टेसनको समस्या समाधान भइसकेको छ । नारायणघाटस्थित चार्जिङ स्टेसनको मर्मत भइरहेको छ ।

‘ईभी गाडी धेरै र चार्जिङ स्टेसन कम भएकाले २४ सै घण्टा निरन्तर चलाउनुपर्ने बाध्यता भएकाले पनि बेला बेलामा समस्या आउँछ’, इञ्जिनियर ज्ञवालीले नेपालप्रेससँग भने, ‘५१ वटा फास्ट चार्जिङ स्टेसनबाट २८ हजार किलोवाटसम्म गाडी चार्ज भएको छ । विद्युतीय गाडीअनुसार चार्जिङ स्टेसन नभएसम्म यस्ता समस्या आइरहन्छ ।’

उनका अनुसार चार्जिङ स्टेसनबाट २४ वा ४८ घण्टा गाडी चार्ज गरेपछि केही समय रेस्ट दिनुपर्ने हुन्छ । तर, चार्जरलाई रेस्ट दिने अवस्था छैन । त्यसैले पनि प्राधिकरणको फास्ट चार्जिङ स्टेसनमा समस्या आएको उनले बताए ।

प्राधिकरणले देशभर थप ४० वटा फास्ट चार्जिङ स्टेसन हब बनाउने प्रक्रिया अघि बढाएको इञ्जिनियर ज्ञवालीले जानकारी दिए । उनका अनुसार एउटा हबमा १० वटा गाडी एकै पटक चार्ज गर्न सकिनेछ ।

सरकारले नयाँ पेट्रोल पम्पको लाइसेन्स दिँदा तथा नमुना पम्प निर्माण गर्दा अनिवार्य चार्जिङ स्टेसन राख्नुपर्ने गरी कामसमेत अगाडि बढाएको छ । अहिले नयाँ पेट्रोल पम्पको लाइसेन्स खुलेको छैन । स्मार्ट अर्थात् नमुना पेट्रोल पम्प बनाउन भने नेपाल आयल निगमले अनुमति दिँदै आएको छ । ती सबै पम्पमा अनिवार्य चार्जिङ स्टेसन बनाउनुपर्ने व्यवस्था छ । हाल सञ्चालनमा रहेका पम्पको नवीकरण गर्दा पनि सम्भव भएसम्म चार्जिङ स्टेसन राख्नुपर्ने वैधानिक व्यवस्था गरेको छ ।

२०८० भदौ २० गते ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले प्राधिकरणका ५१ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरेका थिए । प्रत्येक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान गरिएको छ ।

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु छन् । एउटा स्टेशनको ठूला बससहित तीन वटा सवारीसाधनले एकसाथ चार्ज गर्नसक्ने क्षमता छ ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि चीनको जियाङसुस्थित वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेडसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो । सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार उक्त ठेकेदार कम्पनीले नै गर्ने सम्झौतामा उल्लेख छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा ईभी आयात निरन्तर बढेकाे छ । चालू आर्थिक वर्षको ९ महिनामा नेपालमा ७ हजार ७२ वटा ईभी भित्रिएका छन् । आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा २ हजार ४५१ वटामात्र ईभी नेपाल भित्रिएको थियो । नेपालमा चीन, भारत, कोरिया, जर्मन, अमेरिका र इन्डोनेसियालगायतका मुलुकहरूबाट विद्युतीय गाडी आयात हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर