कास्कीका सहकारी बचतकर्ताले सोमबार दबाब र्‍याली गर्ने – Nepal Press

कास्कीका सहकारी बचतकर्ताले सोमबार दबाब र्‍याली गर्ने

पोखरा । कास्कीका सहकारीका बचतकर्ताले पोखरामा दबाब र्‍याली गर्ने भएका छन् । सहकारी बचतपीडित संघर्ष समिति कास्कीले पहिलो चरणको दबाब कार्यक्रमअन्तर्गत सोमबार दबाब र्‍याली गर्न लागेको अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

समितिले आइतबार विज्ञप्ति जारी गर्दै कास्कीका सबै सहकारीपीडित बचतकर्तालाई दबाब र्‍यालीमा सहभागी हुन आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय गैह्रापाटनबाट बिहान १० बजे सुरु हुने र्‍याली पोखरा महानगरपालिकाको कार्यालय न्युरोड हुँदै जिल्ला प्रशासन कार्यालय सहिदचोक पुग्नेछ ।

जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने अध्यक्ष श्रेष्ठले बताए । दबाब र्‍याली अदालतमा मुद्दा परेका कास्कीका ६ सहकारीका पीडित बचतकर्तासहित समस्यामा रहेका अन्य सहकारीका बचतकर्ता पनि सहभागी हुने उनले बताए ।

समितिमा सूर्यदर्शन, इमेज, मित्र मिलन, बलिदानी, शिवशिखर र विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता आबद्ध छन् । बचतकर्ताको वैशाख ५ मा भएको भेलाले श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति गठन गरेको थियो । भेलाले विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *