भोलि सन्दीपको पेसी: १२ दिनभित्र सफाइ पाएमात्र विश्वकप खेल्नसक्ने ! – Nepal Press

भोलि सन्दीपको पेसी: १२ दिनभित्र सफाइ पाएमात्र विश्वकप खेल्नसक्ने !

उच्च अदालतलाई जवाफ दिँदै वडाबाट आयो अर्को पत्र, मुद्दा लम्ब्याउने गौशाला-२६ पक्षको रणनीति

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा भोलि उच्च अदालत पाटनमा पेसी तोकिएको छ । न्यायाधीशले मुद्दा आफूबाट पन्छाउने चेष्टा नगरेमा यसै साता फैसला आउन सक्छ ।

अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले सुनुवाइ सुरु गरे पनि हेर्दाहेर्दैमा राखेन । न्यायाधीशद्वयले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।

स्मरणीय छ कि, गौशाला २६ को जन्ममिति जिल्ला अदालतले नै निरुपण गरिसकेको विषय हो । जन्ममितिसँग सम्वन्धित सारा कागजातहरु पहिल्यै अदालतमा आइसकेका छन् । वडाबाट फेरि तिनै कागजात मगाउनुको उद्देश्य फैसला टार्नेभन्दा अर्को नरहेको सन्दीप पक्षको बुझाइ छ । जिल्ला अदालतमा जस्तै उच्चमा पनि सन्दीपको मुद्दाबाट न्यायाधीशहरु भागाभाग नहोलान् भन्न सकिने अवस्था छैन ।

उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ । उक्त पत्रमा गौशाला २६ को जन्ममिति २०६१/३/१८ नै रहेको र पछि उनले विद्यालयको प्रमाणपत्रका आधारमा एक वर्ष उमेर घटाएर अर्को जन्मदर्ता निकालेको उल्लेख छ । अदालतले मागेको गौशाला २६ को निवेदन भने अभिलेखमा नरहेको पनि वडा कार्यालयले जनाएको छ । वडाको पत्र पहिलेभन्दा अझै बढी ‘स्ट्रेट फरवार्ड’ रहेको अदालत स्रोतले बतायो ।

अघिल्लो सुनुवाइमा सरकारी वकिलले फेरि जन्ममितिको विषय खोतलेका थिए । घटना हुँदा पीडित नाबालिग नै रहेको दोहोर्‍याउँदै उनीहरुले सन्दीपलाई जिल्ला अदालतले सुनाएको सजाय कम भएको तर्क गरे । सन्दीपका तर्फबाट भने एक जना वकिल मुरारी सापकोटाले मात्रै बहस गरेका थिए । उनले बलात्कार ठहरिने कुनै पनि आधार-प्रमाण नभएको भन्दै सन्दीपले पूर्ण रुपमा सफाइ पाउनुपर्ने माग गरे ।

स्रोतका अनुसार न्यायाधीश सुरुबाटै सुनुवाइलाई निरन्तरता नदिने सोचमा देखिन्थे । एक न्यायाधीशले बहसको प्रारम्भमा नै ‘केही आदेश गर्नुपर्नेछ ?’ भनेर सोधेका थिए । जवाफमा सन्दीपका वकिलले ‘बहस नसुनिकन आदेशको कुरा कसरी आयो’ भन्दै प्रतिवाद गरे ।

प्रतिवादी (गौशाला २६) पक्षले सन्दीपलाई कम्तीमा विश्वकप क्रिकेट खेल्न नदिने उद्देश्यसहित मुद्दा लम्ब्याउन खोजेको आशंका उनका कानून व्यवसायीले गरेका छन् ।

एक कानून व्यवसायीले भने, ‘सकेसम्म सन्दीपलाई दोषी प्रमाणित गर्ने र त्यो नसके पनि कम्तीमा विश्वकप खेल्नबाट वञ्चित गर्ने उद्देश्य देखिन्छ । तर, हामी उच्च अदालतले छिटो फैसला गरेर सन्दीपलाई न्याय दिनेमा आशावादी छौं ।’

नेपालसमेत सहभागी हुने टी-२० विश्वकप जून २ बाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासका अनुसार आउँदो मे १ सम्ममा नेपालले आफ्नो १५ सदस्यीय स्क्वाडको नाम आईसीसीलाई पठाइसक्नुपर्ने हुन्छ ।

उनले भने, ‘त्यो भन्दा पछि आपतकालीन अवस्थामा मात्रै स्क्वाडमा हेरफेर गर्न सकिन्छ, अन्यथा त्यही नै अन्तिम हो ।’

यदि मे १ भन्दा अगाडि सन्दीपको पक्षमा फैसला आएको खण्डमा नेपाल क्रिकेट संघले उनको फिटनेस टेस्ट लिएर स्क्वाडमा समावेश गर्न सक्छ । त्यसैले क्यानका पदाधिकारीहरु पनि छिटो फैसलाको पर्खाइमा छन् । सन्दीपको अनुपस्थितिमा नेपाली टीमले हालै एसीसी प्रिमियर कपमा आशातित परिणाम ल्याउन सकेन । समर्थकहरुले क्रिकेट टीममा सन्दीपको अभाव महसुस गरिरहेका छन् ।

सन्दीप निकट स्रोतका अनुसार उनी अदालतबाट सफाइ पाएर विश्वकप खेल्नेमा उच्च आशावादी छन् । यही आशामा उनले आफ्नो फिटनेसमा पनि ध्यान दिइरहेको र नियमित व्यायामहरु गरिरहेको स्रोतले बतायो ।

‘शारीरिक र मानसिक दुवै हिसाबले तत्काल मैदानमा फर्किन सक्ने अवस्थामा हुनुहुन्छ’, स्रोतले भन्यो ।

आफ्नो अनुपस्थितिमा नेपाली टीमले खेलेका प्रत्येक खेलहरु सन्दीपले अपडेट गरिरहेका हुन्छन् । नेपाल एसिया कपमा छनोट हुन नसकेकोमा उनी खिन्न छन् ।


प्रतिक्रिया

One thought on “भोलि सन्दीपको पेसी: १२ दिनभित्र सफाइ पाएमात्र विश्वकप खेल्नसक्ने !

  1. Good luck, Sandy!
    Unfortunately, this HC will be the same corrupt and bully. However, I believe it is a miracle and justice to you and the / entire Nepali cricket team.
    On another note, if the girl falsified the birth government documents, then she must be punished under crime alternating government documents.
    Let’s see the hope for the best. God bless, and I am praying for the positive outcome Sandy 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर