नेपाल प्रहरीको डीआईजीमा तीन दरबन्दी खाली, चार ब्याच आकांक्षी – Nepal Press

नेपाल प्रहरीको डीआईजीमा तीन दरबन्दी खाली, चार ब्याच आकांक्षी

काठमाडौं । नेपाल प्रहरीमा सम्भवतः यसै साता रिक्त नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी तीन पुग्दैछ ।

डीआईजी विकासराज खनालले अवकाश पाइसकेका छन् । एआईजी बढुवाका लागि उमेशराज जोशी र भीमप्रसाद ढकाल गत साता नै सिफारिसमा परेका थिए । सिफारिस भएको एक साताभित्र उजुरी नपरे उनीहरुलाई मन्त्रिपरिषद्ले एआईजीमा बढुवा गर्नेछ ।

२०७७ माघमा एसएसपी भएका कृष्णहरि शर्मा पोखरेल तथा २०७८ मंसिरमा एसएसपी भएका ध्रुवराज राउत र भोलाबहादुर रावल डीआईजी बढुवाको लाइनमा छन् । यीमध्ये राउत र रावल वर्तमान आईजीपी बसन्तबहादुर कुँवरका भर्ना ब्याची हुन् । उनीहरु २०५१ चैतमा प्रहरीमा भर्ना भएका थिए । पोखरेल भने एआईजी दीपक थापाका भर्ना ब्याची हुन् । उनी २०५२ भदौमा भर्ना भएका थिए ।

यी तीनबाहेक २०७९ साउनमा एसएसपी भएका ३२ जना पनि बढुवाका लागि दावेदार छन् । उक्त टोलीमा पहिलो नम्बरमा रहेका गणेश चन्द वर्तमान आईजीपी कुँवरका भर्ना ब्याची हुन् । अन्य ३१ जना २०५३ पुस र २०५४ चैतमा भर्ना भएको टोलीका छन् । उनीहरु अघिल्ला चार जना एक वर्षभित्रै अवकाशमा जाने र आफ्नो ब्याचको पनि सबैभन्दा पछाडि रहेकाले उनीहरुलाई छाडेर आफूहरुलाई बढुवा गरिनुपर्ने बताउँछन् ।

उनीहरु २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको टोलीबाट २०५८ सालमा नेपाल प्रहरीमा स्थानान्तरण भएका थिए । सिद्धिविक्रम शाह, सुशीलसिंह राठोर, उमाप्रसाद चतुर्वेदीलगायत थुप्रै अधिकृत त्यतिबेला नेपाल प्रहरीमा समायोजन भएका थिए । तर, एसएसपीमा बढुवा हुँदा उनीहरुसँग नेपाल प्रहरीमा २०५४ चैतमा भर्ना भएको टोली पनि मिसिएको थियो । त्यसो त एसपीमा पनि उनीहरु मिसिएका थिए ।

२०७९ साउनमा एसएसपी भएका ३२ जनामध्ये चन्दपछि शाह, राठोर र चतुर्वेदी क्रमशः शीर्ष तीनभित्र छन् । त्यसपछि क्रमशः रहेका दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ २०५४ चैतको भर्ना टोलीका हुन् । यीमध्ये शाहले ललितपुर प्रहरी प्रमुखका रुपमा काम गरिसकेका छन् । कार्कीले काठमाडौं प्रहरी प्रमुख र केसीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेर काम गरेका छन् । यीबाहेक अन्यले यी चार वटा ठाउँमा काम गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर