पेमेन्ट गेटवेमा दोषी ठहरिएका सुनीलविरुद्ध अकुत सम्पत्तिको मुद्दा, २३ करोड ७५ लाख बिगो दाबी – Nepal Press

पेमेन्ट गेटवेमा दोषी ठहरिएका सुनीलविरुद्ध अकुत सम्पत्तिको मुद्दा, २३ करोड ७५ लाख बिगो दाबी

काठमाडौं । पेमेन्ट गेटवेमा दोषी ठहरिएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध २ दिनपछि अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध उनी सार्वजनिक पदमा बहाल रहँदाको आयव्ययको तालमेल नदेखिएको ठहरसहित २३ करोड ७५ लाखभन्दा बढी बिगो मागदाबीसहित आज मुद्दा दायर गरेको हो ।

पौडेल बहालमा रहँदा पारिश्रमिक, भत्ता, शेयरलगायत एक करोड १९ लाख २४ हजार ८ सय ४६ स्रोत खुलेको आय देखिएको साथै खर्च भने २४ करोड ९४ लाख ७१ हजार १७१ खर्च तथा लगानी देखिएकाले २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रूपैयाँबराबरको खर्च तथा सम्पत्तिको अवैध देखिएको अख्तियारले जनाएको छ ।

शुक्रबारमात्र विशेष अदालतले पेमेन्ट गेटवेमा पौडेलसहित ८ जनालाई दोषी ठहर्‍याएको थियो । २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगोको उक्त मुद्दाको सजाय सजाय निर्धारणका लागि भने २५ वैशाखमा पेशी तोकिएको छ ।

अख्तियारका अनुसार पौडेलले आफू कार्यकारी प्रमुख भएका निकायहरूमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीसँग मोलमोलाई गरी कमिसन लिई विदेशी बैंकमा रकम जम्मा गरेको र स्वदेश तथा विदेशमा आफन्तका नाममा लगानी गरेका छन् ।


प्रतिक्रिया

One thought on “पेमेन्ट गेटवेमा दोषी ठहरिएका सुनीलविरुद्ध अकुत सम्पत्तिको मुद्दा, २३ करोड ७५ लाख बिगो दाबी

  1. दुनियाँको भरिया बनेर आफूले पनि कमाएर जिन्दगीमा गर्यो के यसले ? अब जनावरको जिन्दगी बाँच्नुपर्छ । पायो के यसले पैसाले ? भ्रष्टाचारीलाई चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *