अहिलेको समीकरण पूरै अवधि जान्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

अहिलेको समीकरण पूरै अवधि जान्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले-माओवादीसहितको समीकरण पूरै अवधि जाने प्रष्ट पारेका छन् । धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाहिर बजारमा यो गठबन्धन लामो समय नटिक्ने भन्दै भइरहेका चर्चा-परिचर्चालाई खारेज गरे ।

उनले भने, ‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण ।’

प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रचण्डले सुनाए । अब कोशी प्रदेशमा मात्र बाँकी मुख्यमन्त्री चुन्न बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्थिरतातर्फ सरकार अघि बढेको बताएका छन् ।

अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा लिइएको प्रधानमन्त्रीको भनाइ छ । तर, समझदारी राम्रो बन्दै गए वाम एकताको सम्भावना उनले देखाए ।

‘समीकरण वामपन्थीको मात्र गरेको हैन, वाम एकता भन्नु सही पनि छैन, वाम गैरवाम सबै छन् । यसलाई सत्ता समीकरणको रूपमा लिएका छौं । राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जान्छ । अहिले वामपन्थी एकता होइन, राजनीति सत्ता समीकरणको रूपमा मात्र हेरौं’, प्रधानमन्त्रीले भने ।

प्रचण्डले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्पराभन्दा भिन्न ढंगले प्रस्तुत गर्ने जिकिर गरेका छन् । वैज्ञानिक वस्तुवादी र जनमैत्री बनाउने गरी नीति कार्यक्रम करिब ड्राफ्ट भइसकेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर