एमाले परिषद् बैठक : ६ समूहमा छलफल जारी, थप विचारका लागि ‘लोकतान्त्रिक भित्तो’ – Nepal Press

एमाले परिषद् बैठक : ६ समूहमा छलफल जारी, थप विचारका लागि ‘लोकतान्त्रिक भित्तो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सुरू भएको छ । प्रतिवेदनमाथि छलफल गर्न ६ वटा समूह बनाइएको छ ।

लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल सुरू भएको हो ।

परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि पनि एकैसाथ छलफल सुरू भएको छ ।

‘लोकतान्त्रिक भित्तो’ को व्यवस्था

पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले समूहगत छलफलका साथै व्यक्तिगत र लिखितरूपमा थप विचार/सुझाव दिन चाहने प्रतिनिधिका लागि ‘लोकतान्त्रिक भित्तो’ को व्यवस्था गरिएको जानकारी दिए ।

उक्त भित्तोमा लिखित सुझाव टाँस्न सकिने र नेतृत्वले त्यसलाई अध्ययन गरी प्रतिवेदनमा आवश्यकताका आधारमा समावेश गर्नेछ ।

‘विभिन्न समूह र लोकतान्त्रिक भित्तो गरी दुवै माध्यममा आमरूपमा लोकतान्त्रिक विधिबाट प्रतिवेदनहरूमाथि उत्साहजनकरूपमा छलफल भइरहेको छ’, नेता गौतमले बताए ।

हिजोदेखि जारी बैठकमा २४५४ प्रतिनिधि सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर