एमाले र माओवादी सच्चिए दुई वर्षभित्र बलियो वामपन्थी शक्ति बन्छ: घनश्याम भुसाल (भिडिओ) – Nepal Press

एमाले र माओवादी सच्चिए दुई वर्षभित्र बलियो वामपन्थी शक्ति बन्छ: घनश्याम भुसाल (भिडिओ)

‘केपी ओलीले कमजोरी स्वीकारेपछि अहिलेको गठबन्धन, ओली-प्रचण्डलाई यो गठबन्धन भत्काएर जाने ठाउँ छैन’

रुपन्देही । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र माओवादी केन्द्र सच्चिए दुई वर्षभित्र सबै वामपन्थी दलहरुबीच एकता भई बलियो शक्ति बन्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार आयोजना गरेको कार्यक्रममा नेता भुसालले एमाले व्यक्ति पूजा र माओवादी केन्द्र माओवादबाट माथि उठेपछि वामपन्थी एकताका लागि यही विषयबाट अगाडि बढ्नुपर्ने बताए ।

आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने केपी ओली सच्चिएपछि मात्रै अहिलेको समीकरण बन्न सम्भव भएको उनको भनाइ छ ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको हो, नेपालको भविष्य ठीक बनाउन वामपन्थी शक्तिबीच एकता आवश्यक छ भन्ने विषयमा धेरैलाई महसुस भएको छ’, नेता भुसालले भने, ‘आफूबाहेक अरुलाई कम्युनिष्ट र वामपन्थी नदेख्ने केपी ओली त्यसै अहिलेको समीकरण बनाउन तयार भएको अवस्था होइन, पार्टीभित्र र बाहिर सबैतिरबाट अब एक्लै अघि बढ्न सकिन्न भन्ने सुझाव आएपछि विगतका कमी कमजोरी गल्ती रियलाइजेसन गरेर नै यो समीकरण सम्भव भएको हो ।’

उनले ओली र प्रचण्ड दुबैलाई अहिलेको सत्ता गठबन्धन यताउता गरेर अन्त जाने ठाउँ नभएको तर्क गरे । नेता भुसालले एमाले र माओवादी दुबै पार्टीभित्रका जडता र कमजोरीहरु हटाउन आवश्यक रहेको जनाए ।

उनले २०८४ को चुनावअघिसम्म एमाले, माओवादी, एकीकृत समाजवादी, विप्लवसहितका वामपन्थी दलहरुबीच एकता हुनसक्ने बताए । आफ्नो दलको महाधिवेशनले वामपन्थी दलहरुबीच एकताका लागि स्पष्ट मार्गनिर्देश गर्ने राजनीतिक कार्यदिशा ल्याउने भुसालले सुनाए ।

एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा पेश गरिएको राजनीतिक दस्तावेजमा ओलीले आफ्नो पार्टीले उठाउँदै आएका एक दर्जन एजेण्डालाई नक्कल गरेको भुसालले आरोप लगाए ।

देशको राजनीति उकुसमुकुस, सन्नाटा र भाँडभैलोको अवस्थामा रहेको भुसालले बताए ।


प्रतिक्रिया

One thought on “एमाले र माओवादी सच्चिए दुई वर्षभित्र बलियो वामपन्थी शक्ति बन्छ: घनश्याम भुसाल (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर