चलचित्र मनसरा: मिश्रित समाजको कथा, बैशाख २१ गते रिलिज हुने – Nepal Press

चलचित्र मनसरा: मिश्रित समाजको कथा, बैशाख २१ गते रिलिज हुने

पोखरा । ‘मनसरा’ मिश्रित समाजको कथा भएको निर्माण पक्षले बताएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टीमले चलचित्र मिश्रित समाजको कथालाई समेटिएको बताएको हो । चलचित्र बैशाख २१ गते देशैभर रिलिज हुँदैछ । चलचित्रको प्रचारप्रसारका लागि निर्माण पक्ष देश दौडाहमा छ ।

चलचित्र निर्देशक एवम् लेखक उपेन्द्र सुब्बाले समाजमा भएका घट्नाहरुलाई आधार बनाएर सिनेमा निर्माण गरिएको बताए ।

‘मनसरा मिश्रित समाजको कथा हो । सिनेमाका हरेक पात्रमा दर्शकले आफूलाई पाउनेछन्’, उनले भने ।

सामाजिक विषयवस्तु आफ्नो रुचिको विषय भएकाले पनि सिनेमामार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजिएको उनले सुनाए ।

निर्देशक सुब्बाले मनसरा धानको नाम भएको उल्लेख गरे । पूर्वतिर पाइने धान जसको डाँठ अलिक कडा हुन्छ । वरिपरि अन्य बाली लगाए तापनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तुलाई समाजसँग जोड्ने प्रयास सिनेमामा गरेको उनले बताए ।

अभिनेता प्रवीण खतिवडाले मनसरा सोसल ड्रामा भएको बताए । श्रमिक, परिवारबाट विछोड भएका मान्छेको कथालाई मनसरामा प्रस्तुत गरिएको उनले बताए ।

सामाजिक कथामा सिनेमा निर्माण भएकाले परिवारमा बसेर हेर्न मिल्ने उनको भनाइ छ । उनी सिनेमामा साधारण कृषकको भूमिकामा देखिएका छन् ।

नायिका मिरुना मगरले मनसरा समाजको रियल कथामा आधारित रहेको बताइन् । जारीमा दर्शकबाट पाएको मायास्वरुप मनसराको आफ्नो भूमिकालाई पनि दर्शकले रुचाउनेमा उनी आशावादी छिन् ।

कुनै पनि कलाकारले निर्देशकले दिएको भूमिकाअनुसार नै आफूलाई चलचित्रमा प्रस्तुत गर्ने हुँदा मनसरामा पनि निर्देशकले दिएको भूमिकालाई आफूले सक्दो निभाउने प्रयास गरेको उनले बताइन् ।

अभिनेत्री मेनुका प्रधान चलचित्रमा आफ्नो भूमिकालाई दर्शकले मन पराउनेमा ढुक्क छिन् । सामाजिक कथा भएकाले चलचित्र हेर्न हलसम्म पुग्न दर्शकलाई उनको आग्रह छ ।

कार्यकारी निर्माता सिजन दाहालले चलचित्र छायांकन काठमाडौं नजिकैको गाउँ ललितपुरस्थित सिमाखो र पाँचथरको गाउँमा भएको जानकारी गराए ।

कमर्सियल चलचिलमा जत्तिकै लगानी मनसरामा लागेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *