विश्वप्रकाश भन्छन्- सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको प्रमाणसहित सदनमा उपस्थित हुँदैछौं – Nepal Press

विश्वप्रकाश भन्छन्- सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको प्रमाणसहित सदनमा उपस्थित हुँदैछौं

जीबी राईलाई पक्राउ गर्न ‘रेड नोटिस’ अर्कालाई ‘रेड कार्पेट’ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित आफूहरु उपस्थित हुने बताएका छन् ।

इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान रोकिएको बताए ।

उनको भनाइ जस्ताको तस्तैः

गृह मन्त्रालयको विषयमा प्रश्न उठेपछि गृहमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ दिने हो । अहिले उठेको मुद्दा गृह मन्त्रालयसँग सम्बन्धित होइन । सहकारी ठगीसँग सम्बन्धित मुद्दा हो । संसदमा कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्छ भन्यो । कतिपयले भन्नुभयो– प्रमाण के हो भनेर । अब संसद बस्दैगर्दा कांग्रेस प्रमाणका साथ उभिन्छ, प्रश्न एक जनाको होइन । गाँस काटेर ७३ हजारभन्दा धेरै आज सहकारीमा आबद्ध छन् । ५० हजार बढी ठगीमा परेका छन् । त्यसलाई छानबिन गरौं भन्दा छानबिन नगर्नुपर्ने विषय होइन ।

यहाँ उभिएर मैले रास्वपाको सभापति रवि लामिछाने दोषी हो भन्न मिल्दैन । अनि संसदमा उभिएर प्रधानमन्त्रीले उहाँ निर्दोष हुनुहुन्छ भन्न पाउनुहुन्न । हामी राजनीतिक मान्छेले आशंका गर्न पाउँछौं, फैसला गर्ने छानबिन समितिले हो । संसदीय छानबिन समिति बनाऔं, निर्दोष हुनुहुन्छ माला लगाएर सम्मान गरौं, दोषी देखिए कानूनबमोजिम कारबाही होला, हामीले भनेको यतिमात्रै हो ।

हामी सरकारमा हुँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन गर्न निर्देशन दिनुभएको थियो । कास्की प्रहरीले छानबिन थालेको थियो । तर, अहिले यो सरकार आएपछि छानबिनको प्रक्रिया रोकियो । उहाँको प्रहरी प्रमुख डीएसपीले छानबिन गरेको कोहीमाथि मुद्दा छ, त्यही डीएसपीको हाकिम त्यो मान्छे भएपछि प्रभावित हुन्छ ।

हामी नयाँ ऊर्जा र उत्साहलाई सम्मान गर्छौं । राजनीतिमा प्रतिस्पर्धा हुन्छ, ठूलो कुरा होइन । उहाँ अहिले गृहमन्त्री बन्नुभएको छ, काम गर्नुपर्छ बधाई छ । उहाँलाई असहयोग गर्नुपर्ने कुनै कारण छैन । कांग्रेसमा उपसभापति र सहमहामन्त्रीले २०४६ पछिको सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गरौं भनेर लेखेर दिनुभएको छ, गृहमन्त्रीले किन नभन्ने ? म पुरानो दलको जस्तो नेता होइन ।

अरुले अरु दलको मात्रै गरौं भन्छन् । तर, म पहिला मेरै छानबिन गर्छु भनेर भन्न किन नसकेको ? उहाँ भन्नुहुन्छ सहकारी ठगी भएको हो कि होइन भन्दा हो, छानबिन गरौं कि नगरौं भन्दा नगरौं । सहकारीको पैसा कम्पनीमा हाल्न पाइन्छ कि पाइँदैन भन्दा पाइँदैन भन्ने थाहा छ । छानबिन गरौं न भन्दा किन छानबिन ? ५ वटा सहकारीको ८० करोड तपाईंले काम गरेको गोरखा मिडियामा हालिएको हो कि होइन ? जीबी राई अध्यक्ष भएको बेलामा तपाईं एमडी हुनुहुन्थ्यो । सञ्चालक पनि हुनुहुन्थ्यो । आज त्यो बन्द भएको छ । अनि त्यो नेतालाई ८० करोडको मुद्दा हुँदा पुलिसले स्यालोट ठोक्नुपर्ने ! एउटा मालिकलाई चाहिँ पक्राउ गर्न रेड नोटिस अर्कालाई रेड कार्पेट ? एउटालाई प्रहरीले प्रक्राउ गर्नुपर्ने, अर्कालाई चाहिँ सलाम ठोक्नुपर्ने ?


प्रतिक्रिया

2 thoughts on “विश्वप्रकाश भन्छन्- सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको प्रमाणसहित सदनमा उपस्थित हुँदैछौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर