एमाले महासचिव पोखरेल भन्छन्- सत्ता समीकरणलाई आगामी निर्वाचनसम्म लैजान चाहन्छौं – Nepal Press

एमाले महासचिव पोखरेल भन्छन्- सत्ता समीकरणलाई आगामी निर्वाचनसम्म लैजान चाहन्छौं

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म लान चाहेको बताएका छन् ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेश गरेको सांगठनिक प्रतिवेदनमा उनले पार्टी वर्तमान सत्ता समीकरणलाई निरन्तरता दिँदै आमनिर्वाचनसम्म लैजान चाहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘सोहीअनुसारको सकारात्मक भूमिका पार्टीले खेलिरहेको छ । असन्तुलित बनेको पराराष्ट्र नीतिलाई नयाँ सत्ता समीकरणबाट सही बाटोमा अघि बढाउने आधार तयार भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको मौलिक सांस्कृतिक आधारलाई कमजोर बनाउने प्रतिगामी, जातिवादी र धार्मिक अतिवादी प्रवृत्तिका विरुद्धमा पार्टीले निरन्तर खबरदारी गर्दै आएको छ ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाअनुरूप विकास र समृद्धिको यात्रा पार्टी सरकारको नेतृत्वबाट बाहिरिएसँगै अवरुद्ध बन्न पुगेको उल्लेख गर्दै उनले नयाँ समीकरण बनेपछि सकारात्मक दिशामा अघि बढेको बताए ।

महासचिव पोखरेलले भने, ‘यतिवेला सरकारमा सहभागी ५ राजनीतिक दलका तर्फबाट न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प तयार गरी सरकारलाई सकारात्मक दिशामा अघि बढाउने प्रयास भइरहेको छ । यद्यपि, त्रिशङ्कु संसदका कारण राजनीतिक अस्थिरता र अन्योल कायम रहेको अवस्थामा आमजनतामा आशा जागृत गरी राष्ट्र निर्माणको दिशामा डोर्‍याउने कुरा भने चुनौतीपूर्ण छँदैछ । त्यसका लागि हाम्रो पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्दै आगामी निर्वाचनमा निर्णायक सफलता हासिल गर्ने योजनाका साथ अघि बढाउन पार्टीको संगठनात्मक कामलाई व्यवस्थित रुपमा अघि बढाउनु पर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर