डोटीको बोगटान फुड्सिल गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता – Nepal Press

डोटीको बोगटान फुड्सिल गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता

डोटी । जिल्लास्थित बोगटान फुड्सिल गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।

गाउँसभामा पेश गरिएको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा कृषि उत्पादन बढाउन विभिन्न नीति समावेश गरिएको छ । गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाले पेस गरेको नीति तथा कार्यक्रममा एक पटक एक हजारभन्दा बढी फलफूलका विरुवा रोप्ने किसानलाई अनुदान दिने नीति अघि सारिएको छ ।

‘किसानलाई अनुदान दिने, कृषक पाठशालालाई निरन्तरता दिने नीति लिइनेछ’, अध्यक्ष गडसिलाले भने, ‘सामूहिक खेती प्रणालीलाई प्राथमिकता दिइनेछ ।’

नीति तथा कार्यक्रममा किसानको तथ्याङ्क अद्यावधिक गर्ने, किसानलाई प्रोत्साहन तथा पुरस्कार दिने, रैथाने बालीको प्रवर्द्धन गर्ने नीति पनि उल्लेख छ ।

त्यस्तै सेती र कर्णाली नदीमा जल पर्यटनलाई प्रवर्द्धन गर्ने र एकल, बेरोजगार तथा अति पिछडिएका महिलालाई रोजगारमूलक तालिम दिने, बसाइसराइ नियन्त्रण गर्न ठोस कार्यक्रम ल्याउने, गाउँपालिकाभित्र आँखा उपचार केन्द्र स्थापना गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।

विद्यालयलाई सूचना प्रविधियुक्त बनाउने, शैक्षिक गुणस्तर बढाउन विभिन्न कार्य गर्ने, एक खेल एक प्रशिक्षक नियुक्त गर्ने, हुड्केली, पञ्चेबाजा, मारुनी नाच, फागु आदिको प्रवर्द्धन गर्ने नीति पनि गाउँपालिकाले अघि सारेको छ ।

सडक निर्माण र विस्तार गर्ने कार्यलाई निरन्तरता दिने, सार्वजनिक यातायातको भाडादर नियमन गर्ने, सामुदायिक वनलाई गाउँपालिकाको राजस्वको दायरामा ल्याउने, विपद् व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याउने, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताका लागि इमानदार भएर काम गर्नेछु’ भन्ने प्रतिज्ञासहितको कार्य सुरु गर्नेलगायत नीति समावेश गरिएका छन् ।

स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार स्थानीय तहले बैशाख ७ गतेभित्र आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्नुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *