रित्तिँदै बाबुराम- एकपछि अर्को विश्वासपात्र गुमाउँदा राजनीति किनारामा – Nepal Press

रित्तिँदै बाबुराम- एकपछि अर्को विश्वासपात्र गुमाउँदा राजनीति किनारामा

काठमाडौं । ‘माओवादी छोडेर कहीँ गएर बाबुरामजीको पनि भलो हुँदैन । बाबुरामजीमा केही विशेषता छन् तर म असाध्यै नजिक बसेको हुनाले धेरै जटिल मान्छेको नाम पनि हो बाबुरामजी । जसलाई मैले तीस वर्षदेखि झेलेको छु । अर्को कोही मेरो जति नजिक भएर बाबुरामजीसँग एक वर्ष बसेको हेर्न मन छ मलाई ।’

यो भनाइ बाबुरामसँगै रहेर जनयुद्धको नेतृत्व गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हो । दश वर्षे जनयुद्धसँगै हाँकेर तीन दशक सँगै यात्रा गरेको प्रचण्ड र बाबुरामको अहिले बाटो अगल छ । बाबुरामबारे प्रचण्डको यो टिप्पणी अहिले उनको राजनीतिक जीवनसँग मिल्दोजुल्दो नै छ ।

सहयात्री प्रचण्ड अहिले पनि सरकारको नेतृत्व गरिरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम अहिले राजनीतिको किनारामा हुत्तिएका छन् । कम्युनिष्ट विचारधारादेखि माओवादीलाई भत्केको घरको संज्ञा दिँदै नफर्किने वाचा गरेर हिँडेका बाबुराम गत निर्वाचनताका फेरि प्रचण्डलाई नेता मानेर हिँड्न तयार थिए । आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा प्रचण्डलाई जिताउन साक्षी बसेका बाबुराम अहिले उनैको खरो विरोध गरिरहेका छन् ।

राजनीतिक सहयात्रामा सत्ता स्वादसँगै कारणले उनीहरुबीचको मिलन अहिले सम्भव हुन सकेको छैन । परम्परागत राज्यसत्ताका विरुद्ध बन्दुक उठाएका नेताहरु अहिले एक–अर्कोलाई माथ गर्न फरक पार्टीमा फरक रणनीति बनाइरहेका छन् ।

उपेन्द्रसँग अलग हुँदा महिन्द्रराय यादवसहित नेताहरुले साथ दिएका थिए । तर, त्यो शक्ति अहिले टिकाउन सकेनन् । माओवादीसँग एकता गर्ने सहमतिबाट ब्याक हुँदा अहिले एकपछि अर्को विश्वासपात्र गुमाउँदैछन् ।

जनयुद्धमा सँगै यात्रा गरेका प्रचण्ड र बाबुरामको सम्बन्ध कहिले नजिक हुन्छ, कहिले टाढा भन्ने टुंगो हुँदैन । तर, कहिले एमाले त कहिले कांग्रेससँग चुनावी गठबन्धन गरेरै भएपनि पार्टीलाई तेस्रो तर, निर्णायक शक्ति बनाएर सत्ताकै वरिपरि प्रचण्ड रमेपनि पछिल्लो समय बाबुराम भने एक्लिँदै गएका छन् ।

माओवादी छाडेपछि गठन गरेका नयाँ शक्तिलाई लयमा ल्याउन नसकेपछि मधेश केन्द्रित दल जनता समाजवादी पार्टीसँग मिल्न मिगेका थिए । तर, जसपामा एकछत्र राज गरिरहेका उपेन्द्र यादवसँग सहकार्य पनि बाबुरामको लामो टिक्न सकेन । त्यहाँबाट अगल भएर नेसपा गठन गरेका थिए ।

विश्वास पात्रले छाडे

उपेन्द्रसँग अलग हुँदा भट्टराईलाई महिन्द्रराय यादवसहित नेताहरुले साथ दिएका थिए । तर, त्यो शक्ति अहिले टिकाउन सकेनन् । माओवादीसँग एकता गर्ने सहमतिबाट ब्याक हुँदा अहिले एकपछि अर्को विश्वासपात्र गुमाउँदैछन् ।

प्रचण्डसँग काँध मिलाउन बाबुराम फेरि तयार नहुँदा चैत ३ गते नेसपाका अर्का अध्यक्ष यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवले पार्टी फुटाएर माओवादीसँग एकता गर्ने निर्णय गर्न पुगे । एकताको मोडालिटीबारे छलफल भइरहेको सहअध्यक्ष श्रेष्ठ बताउँछन् ।

यादव पक्षसँग केही नेताहरु मात्रै रहेको बाबुराम पक्षले दाबी गरेपनि पछिल्लो समय एकपछि अर्को गर्दै नेताहरुले साथ छाड्न थालेका छन् । सोमबार भूमिगत कालदेखि नै बाबुरामको स्वकीय सचिवको भूमिका निर्वाह गर्दै आइरहेका नेसपा राजनीतिक समितिका सदस्यसमेत रहेका विश्वदीप पाण्डेले पनि साथ छाडे ।

उनलाई प्रचण्डले माओवादीमा स्वागत गरिसकेका छन् । पार्टीको विवादका क्रममा बाबुरामकै पक्षमा रहेका नेता पाण्डेले विभाजनको एक महिनापछि माओवादी रोजे । नेसपा र माओवादी एक बनाउनको लागि प्रचण्ड र बाबुरामको भेटलाई पटक पटक भेटको वातावरण मिलाउँदा समेत सकारात्मक सन्देश नपाएपछि उनले माओवादी रोजेका हुन् ।

केही वर्षको उतारचढाव, आफ्नै प्रकारका भोगाई र अनुभूतिसँगै आफू माओवादीमै फर्किएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘माओवादी पार्टी र अध्यक्ष कमरेड प्रचण्डसँगको सहकार्य मेरा लागि कुनै नयाँ कुरा हैन । सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादको यात्रा टुटेर, फुटेर अथवा छुट्टाछुट्टै हिँडेर पूरा गर्न नसकिने रहेछ । आज देशलाई वामपन्थी शक्तिबीच नयाँ स्तरको एकता र सहकार्य चाहिएको छ ।’

अझ हिजोका क्रान्तिकारी शक्तिहरु सबै प्रकारका पूर्वाग्रहबाटमाथि उठेर एकताबद्व हुनु आवश्यक रहेको उनको बुझाइ छ ।

त्यसो त बाबुरामलाई पार्टीमा भित्र्याउन प्रचण्ड आफैंले पनि इच्छा नदेखाएको माओवादीका नेताहरु स्वीकार्छन् । माओवादीका एक नेताले भने, ‘उहाँसँग जनमत छैन । तर, उहाँलाई ल्याएपछि पार्टीभित्र नेताहरुको जिम्मेवारी व्यवस्थापनमै समस्या देखिन्थ्यो । त्यसैले अहिले तत्काललाई एकताको सम्भावना टर्यो ।’

प्रचण्डले बाबुरामबाहेकका नेताहरुलाई पार्टीमा भित्र्याउने रणनीतिअनुसार अहिले यादव पक्षसँगको एकताको कदम चालेको बताइन्छ । केही महिनाअघि पनि बाबुरामलाई बाइपास गरेर प्रचण्ड र माओवादीका महासचिव देव गुुरुङले एकताका लागि पत्र पठाएका थिए । त्यहीबाट प्रचण्ड बाबुराम मिलनमा धाँजा फाँटेको थियो ।

यसअघि प्रचण्डको साथ रोजेको सहअध्यक्ष श्रेष्ठ पनि जनयुद्धदेखि कै बाबुरामका सहयोद्धा हुन् । बाबुराम प्रधानमन्त्री हुँदाको बखत पनि श्रेष्ठले प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए । २०७२ मा बाबुरामले माओवादी छाड्दा श्रेष्ठले पोलिटब्यूरो सदस्य छाडेर नयाँ शक्ति हुँदै नेसपामा आइपुग्दा सहअध्यक्ष बने ।

प्रचण्ड र बाबुरामको सहमतिअनुसार गत निर्वाचनमा माओवादीको चुनाव चिन्ह लिएर सिन्धुलीबाट प्रदेशसभामा निर्वाचित श्रेष्ठ अहिले बागमतीको आन्तरिक मामिला तथा कानूनमन्त्री समेत छन् ।

बाबुराम निकट नेसपा नेता रोशन पोखरेल आफूहरुले वैकल्पिक शक्ति स्थापना गर्ने लक्ष्यसाथ पार्टी गठन गरेकाले नथाक्ने तर्क गर्छन् ।

‘राजनीतिक किनारामा पुग्नुभएको छैन’

तर, बाबुराम निकट नेसपा नेता रोशन पोखरेल आफूहरुले वैकल्पिक शक्ति स्थापना गर्ने लक्ष्यसाथ पार्टी गठन गरेकाले नथाक्ने तर्क गर्छन् । उनी भन्छन्, ‘हामीले वैकल्पिक शक्ति स्थापना गर्ने भनेर नेसपा गठन गरेका हौं । महेन्द्र र गंगाजीहरुको त परिचय पत्र नै माओवादीको थियो । त्यसैले माओवादीका साथीहरु हाम्रोमा प्राविधिक रुपमा हुनुुहुन्थ्यो । त्यसैले उहाँहरु बाहिरिसकेपछिको हाम्रो बैठकले पनि अहिले कुनै पार्टीसँग एकता नगर्ने, वैकल्पिक शक्ति निर्माणको अभियानमा कुनै समूह वा व्यक्ति समाहित हुन चाहन्छ भने मात्रै भित्र्याउने भन्ने निर्णय गरेको छौं ।’

आफूहरुको यात्रामा हिँड्न नसक्नेहरुले पार्टी छाडेको भन्दै केही व्यक्तिहरुको पार्टी परित्यागलाई स्वभाविक रुपमा लिनुपर्ने बताउँछन् ।

उनी थप्छन्, ‘विश्वदीपजी पनि पछिल्लो समय पार्टी कमिटीगत हिसाबले सक्रिय हुनुहुन्थ्यो । उहाँले पार्टी प्रचारको जिम्मा लिनुभएको थियो । उहाँमात्रै होइन, विगतमा डाक्टरसाबको स्वकिय सचिवको जिम्मेवारी सम्हाल्नुभएका देवेन्द्र पौडेल, गंगाजीहरुले पनि छाड्नुभएको छ । त्यो विचारको कुरा पनि हो ।’

लामो समयसम्म साथ दिएका नेताहरुले अहिले डाक्टरसाबको अभियानमामा सक्दिनँ भनेर छाडेको उनको तर्क छ ।

यादव, गंगानारयणलगायत नेताहरुले माओवादीमा बार्गेनिङ गरिरहेको आरोप लगाउँदै हालै पार्टी छाडेको नेता पाण्डले नैतिकता देखिएको जिकिर गरे । तर, अध्यक्ष भट्टराई राजनीतिमा एक्लिएको कुरा स्वीकार्न उनी तयार छैनन् ।

नेता पोखरेल थप्छन्, ‘उहाँले माओवादी छाडेर एक्लै आउनुभएको हो । कुनै समूह ल्याउनुभएको थिएन । उहाँको विचार मन पराएर हामी उहाँको साथमा जोडिएको हो नि । जसपा छाडेपछि नेसपा गठन गर्दाको एक वर्षमा हामी लर्बरिएका थियौं । तर, गत जेठमा बसेको पार्टीको बैठकपछि हाम्रो यात्रा स्पष्ट भएको छ । त्यो यात्रामा हिँड्न नसक्नेहरुले छाडेका हुन् । उहाँ एक्लिनुभएको छैन ।’

बाबुराम एक्लियो भन्ने कुरा वैचारिक र राजनीतिक व्यक्तिले भन्ने कुरा नभएको उनको तर्क छ ।

‘हिजो ठूलो पार्टीमा भएको मान्छे अहिले सानो पार्टीमा छ भन्ने ढंगले भनेको छन् भने त त्यो स्वभाविक हुनसक्छ । त्यसैले उहाँ अहिले एक्लिनुभएको छैन । उहाँले अघि सारेको एजेण्डा मुलुकको आवश्यकता बन्दै थप सबल बन्दै गइरहेको छ’, उनको दाबी छ ।

शक्तिविहीन भएपछि राष्ट्रिय राजनीतिमा मात्रै नभएर पुराना अन्तर्राष्ट्रिय सम्बन्धमा नेता भट्टराईलाई कसैले पनि महत्व दिन छाडिसकेको उनको बुझाइ छ ।

‘बाबुरामजी सिद्धिने बाटोमा जानुभयो’

तर, नेसपा नेता पोखरेलको तर्कमा राजनीतिक विश्लेषक रोशनराज जनकपूरी सहमत छैनन् । उनी भन्छन्, ‘उहाँको राजनीतिक इतिहास माओवादीबाटै भएपछि अहिले जहाँ हुनुहुन्छ मार्क्सवादी राजनीति भन्दा बाहिर हुनुहुन्छ । अहिले लोकतान्त्रिक समाजवादको कुरा गरिराख्नुभएको छ । उहाँ एक्लिँदै जाने विषयमा सांगठानिक कौशलतामा भर पर्ने कुरा हो ।’

संसदीय राजनीतिमा सत्ता स्वार्थभन्दा बाहिर राखेर बौद्धिकता देखाउन खोजेपनि सफल नभएको उनको ठम्याइ छ ।

विश्लेषक जनकपुरी भन्छन्, ‘देशको लागि पद छाडेँ भन्नुहुन्छ । तर, उहाँलाई जुन सर्वोच्च पद चाहिन्छ त्यो उहाँलाई केन्द्रमा राखेर हिँड्न अहिले कसैले चाहिरहेको छैन । उहाँको चारैतिर राजनीतिक अवसरवादीहरुको घेरा छ । उनीहरु जसरी भएपनि संसदीय राजनीतिमा पद पाउन चाहन्छन्, त्यो स्थितिमा उहाँलाई छाडिरहेका छन् ।’

शक्तिविहीन भएपछि राष्ट्रिय राजनीतिमा मात्रै नभएर पुराना अन्तर्राष्ट्रिय सम्बन्धमा नेता भट्टराईलाई कसैले पनि महत्व दिन छाडिसकेको उनको बुझाइ छ ।

उनले थपे, ‘उहाँ अहिले जुन बाटो हिडिराख्नुभएको छ, फेरि राजनीतिक शक्तिमा आउने सम्भावना न्यून छ । उहाँको राजनीति सकिनेतर्फ अघि बढेको छ । उहाँले माओवादी नछाडेको भए ठूलो दलमा पनि हुनुहुन्थ्यो दोस्रो वरियता पनि हुनुहुन्थ्यो त्यो छाडेपछि साना टीमहरु आफ्नै स्थितिमा बनाइरहेका छन् । उपेन्द्रको पार्टीमा पनि त्यही भएर नटिक्नुभएको हो । एक्लै गर्न सक्नुहुन्छ भन्ने अब देखिँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर